• २०८२ फाल्गुन १३, बुधबार

नेपाल प्रज्ञाप्रतिष्ठानद्वारा ‘मातृभाषा राष्ट्रिय कविता महोत्सव-२०८२’ सम्पन्न

काठमाडौँ ।

नेपाल प्रज्ञाप्रतिष्ठानले अन्तर्राष्ट्रिय मातृभाषा दिवस- २०२६ को आयोजना गरेको छ । कार्यक्रमको सुरुमा काठमाडौँको कमलादी, घण्टाघर, रत्नपार्क र दरबारमार्ग लगायतका स्थानको परिक्रमा विभिन्न जनजाति र मातृभाषाका समूहका बाजागाजा र वेशभूषा तथा सांस्कृतिक विशेषता झल्किने झाकीसहित प्रभातफेरी तथा शोभायात्रा गरिएको थियो ।

कार्यक्रममा थारु, नेवाः मगर, लिम्बू,थामी, धिमाल, शेर्पा, गुरुङ, छन्त्याल, सुनुवार, राई, तामाङ लगायतका आदिवासी जनजातिले आआफ्ना सांस्कृतिक झाकी प्रस्तुत गरेका थिए । नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति भूपाल राईले पानसमा बत्ती बालेर महोत्सवको उद्घाटन गरेका थिए। उनले कार्यक्रमलाई सम्बोधन गर्दै नेपालको मातृभाषा विभेदमा परेको थियो । मातृभाषाको संरक्षण र संवर्धानका नाममा ओैपचारिकता मात्रै नभई सरकारले विशेष योगदान गर्नुपर्ने बताउँदै भाषिक र सांस्कृतिक हिंसाको अन्त्यका लागि सबै जागरूक हुनुपर्ने विषयमा जोड दिएका थिए ।

कुलपति राईले मातृभाषाका कविताले आआफ्नो भाषालाई समृद्ध बनाउने र भाषा बचाउने बताए । प्रज्ञाप्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले सबै जातजातिका मातृभाषाको जर्गेना गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय मातृभाषा दिवसका अवसरमा विचारविमर्श र मातृभाषा राष्ट्रिय कविता महोत्सवको आयोजना प्रज्ञाप्रतिष्ठानले गर्दै आएको बताए । यसले समग्रमा मातृभाषाको उत्थान र विकासमा भूमिका खेल्ने बताए ।

प्रज्ञा- प्रतिष्ठानका प्रज्ञासभा सदस्य कृष्णराज सर्वहारीले सञ्चालन गरेको कार्यक्रममा मातृभाषा राष्ट्रिय कविता महोत्सव- २०८२ का संयोजक, प्रज्ञाप्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य एवम् साहित्य मातृभाषा कोश तथा व्याकरण विभाग प्रमुख त्रैलोक्यमान बनेपाली ’अगिब’ ले नेपालमा मातृभाषाको संरक्षण र सम्बद्र्धन गर्न आआफ्ना ठाउँबाट सबैले लामो त्याग र सङ्घर्ष गर्नुपरेको बताए । उनले २०७२ सालको संविधानले सबै मातृभाषालाई राष्ट्रभाषा र काठमाडौँ महानगरले नेपालभाषामा पठनपाठनको व्यवस्था मिलाएको चर्चा गर्दै मैथिली लगायतका दर्जन बढी मातृभाषामा समेत विद्यालयमा पढाइ भइरहेको चर्चा गर्दै यसले मातृभाषा बचाउन महत्त्वपूर्ण कार्य गरेको बताउँदै स्वागत मन्तव्य प्रस्तुत गरेका थिए ।

हाइकुविद् तथा प्राज्ञ चेतनाथ धमलाका अनुसार ’मातृभाषा राष्ट्रिय कविता महोत्सव-२०८२’ मा ४२ भाषाका प्रतिनिधिमूलक कविता वाचन गरिएको थियो । जसमा दिवस राई -लोहोरुङ, प्रकाश याख्खा याक्खा, चम्मर राई- बाहिङ, शान्ता नाछिरिङ- नाछिरिङ, अर्जुन राई- दुङ्माली, जिडी राई- वान्तवा, रविन खालिङ राई- खालिङ, सहस्रा राई- चाम्लिङ, हिरामाया घिसिङ- तामाङ, विद्यानन्द यादव- मैथिली, नेपोलियन चेपाङ- चेपाङ, युवराज गुप्ता बैरागी- अवधि, उपेन्द्रदास उपबिण- मगही, प्रकाश कट्टारी- भोजपुरी, पवित्रा थापा मगर- मगर ढुट, दिलिप बुडा मगर- मगर खाम, सन्तोषी चौधरी- थारु, भीम कुरुम्बाङ खाम्बोङ्सा लिम्बू- लिम्बू , विवेक भट्टराई- संस्कृत, सविना महर्जन- नेपाल भाषा, रेनुका कुमाल- कुमाल, देवीराम घोडासैनी देवर्षि- अछामी, सन्जाकुमारी दनुवार- दनुवार, तारादेवी सुनुवार- सुनुवार, सुरेन्द्र शाही ’गुलाब कान्छो’- बाजुरेली, डम्बर थामी ’अनुपम’- थामी, कर्णदयाल सोडारी- बैतडेली, वर्षा धिमाल- धिमाल, विपीन शेरचन- थकाली, मीना पन्त- डोटेली, सेर्कु शेर्पा- शेर्पा, ममता उराँव- उराँव, जयप्रकाश ताजपुरिया- ताजपुरिया, दीपक घिमिरे- नेपाली, रञ्जितकुमार राजवंशी- राजवंशी, भोगेन्द्र विश्वकर्मा हरविश- अछामी, तेजबहादुर च्हकाली तमु- गुरुङ, शिवचन्द्र प्रसाद साह- बज्जिका, विष्णु पुख्ग्याल भनभनेली- भुजेल, रविन रेग्मी- खस र सुनिलकुमार मुडियारी- मुण्डाले आआफ्नो मातृभाषामा कविता वाचेका थिए ।

मातृभाषा राष्ट्रिय कविता महोत्सव- २०८२ का सहभागी कवि तथा झाँकी प्रस्तोताहरूलाई प्रज्ञाप्रतिष्ठानका कुलपति भूपाल राईले प्रमाणपत्र समर्पण गरेका थिए ।