• २०८१ मंसिर १७ सोमबार

जिन्दगीको लम्बाइ

बलराम तिमल्सिना

बलराम तिमल्सिना

जो हरेक वर्ष तला थप्छ घरको
थप्दैथप्दै तला
मा…..थिसम्म लगेर
घरको छतबाट जून टिप्ने विचार
जसले बनाएको होला
उसलाई छोटो लाग्छ जिन्दगी
छोटो जिन्दगीले घर पुग्दैन जूनसम्म !

हरेक वर्ष घडेरी जोडेर
जोड्दैजोड्दै घडेरी
हरेक देशका राजधानीमा
जसलाई घडेरी बनाउन मन छ
उसलाई पनि छोटै लाग्छ एकबारको जुनी
यति छोटो जिन्दगीले
कसरी जोड्छ धरतीभरि घडेरी  !

हरेक देशका हरेक बैङ्कमा
आफ्नै नाममा खाता खोलेर
जसलाई नम्बर एक वित्तपति बन्नुछ
जति नै लुँड्याए पनि
एकबारको जुनीमा निकै गाह्रो छ त्यो
उसलाई पनि खाँचो छ
हजार वर्षको आयु
यो सय वर्षको नाथे चोलाले
कसरी बनिन्छ एक नम्वर वित्तपति  !

आँखाले देखेजति सुन्दर नारीहरू
जसले छुनु छ मनखुसीले
भोगचलन गर्नुछ आफैँले
उछिन्नु छ महाभारतका कृष्णलाई
उमेरको कुरा पनि रहेछ
नाथे दुई चार सय भ्याएर
कहाँ तोडिन्छ कीर्तिमान
मनमनै सोचिल्याउँदा
उसलाई पनि छोटै भएको छ जिन्दगी  !

समाजमा अरू पनि मान्छे छन्
ऋणले लखेटिएका
भोकले दपेटिएका
अपमानले कुल्चिएका
अभावले चाउरिएका
भेदभावले निचोरिएका
ती मान्छेहरूलाई
यही जिन्दगी ला….मो भएको छ
पट्यारलाग्दो जिन्दगी फटाउन
हम्मेहम्मे परेको छ तिनलाई

एउटै जिन्दगी
कसैलाई छोटो भएको छ
कसैलाई लामो भएको छ
जिन्दगीको लम्बाइ
फित्ताले ननाप्ने रहेछ सायद
जिन्दगीको लम्बाई नाप्ने
आ- आफ्नै फित्ता छन् अनुभूतिका


(भक्तपुर, सल्लाघारी निवासी तिमल्सिना विगत डेढ दशकभन्दा अघिदेखि सिर्जनामा सक्रिय स्रष्टा हुन्)
[email protected]