• २०८० असोज ६ शनिवार

खबरदार सरकार !

रञ्जना निरौला

रञ्जना निरौला

अनुभवी आँखाका खोँचभरि
विकृति र विसङ्गतिको
विद्रोही ज्योति बालेर
जीवनलाई दाउमा राखेको
तिम्रो निर्णयको पीडाले
किन होला देश दुख्दैन
दुखेपनि बोल्दैन

संवेदनाले छुन छोडेर
मान्छे ढुङ्गाको बनिसक्यो कि
मान्छे रोबर्ट बनिसक्यो कि

सजीव हो माटो
निर्जीव हुँदै होइन
करोडौँको स्पन्दन हो देश
सुन्नैपर्छ ढुकढुकी
सङ्कल्पको संवेदना
बेक्नुपर्छ सत्ताले

विसङ्गतिको विद्रोह
बुझ्नुपर्छ राज्यले

चार किल्लाको नक्साले मात्र
बन्ने भए देश
ढुङ्गा- माटोमा चल्ने थिएन प्राण
उध्रिएको सिमानाको पर्खाल
बन्ने थिएन साहस
सर्वसुलभता लागि
सत्यको आग्रहको यस खबरदारीमा
किन होला सत्ता ब्यूँझँदैन
ब्यूँझिए पनि
आँखा खोल्दैन

बृद्ध विद्रोहको जवान आग्रह कुल्चने
मुठीभरिका मात्रको होइन देश

खबरदार सरकार !
बैह्रो भएर
देश निरोगी पार्ने औषधीको सङ्कल्प
हक, न्याय र सम्प्रभुताको आह्वान
सजिलो आयु बाच्ने अभियानका
दबेका आवाजको हकहितमा
मलम लगाउने सत्याग्रहलाई
कुठाराघात नगरेस् !
यही घात भित्रै जन्मनेछन्
धेरैधेरै सत्याग्रहीहरू र
धावा बोलिरहने छन् डा. केसीहरू
तिम्रो विरुद्धमा !!


(निरौला चर्चित साहित्यकर्मी हुन्)
[email protected]


इक रात खुशहाल सी

बानी