• २०८२ फाल्गुन ७, बिहीबार

महेन्द्र चालिसेको लघुकथासङ्ग्रह ‘रङगभेद’ लोकार्पण

काठमाडौँ ।

‘कपन–बानेश्वर राष्ट्रिय साहित्यिक साप्ताहिक’ ले साहित्यकार महेन्द्र चालिसेको लघुकथासङ्ग्रह ‘रङगभेद’ को लोकार्पण गरेको छ । वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरेको प्रमुख आतिथ्य तथा पत्रिकाका प्रबन्धक एवं साहित्यकार गङ्गा कर्माचार्य पौडेलको सभाध्यक्षतामा कार्यक्रम भएको हो ।

नेपालको पहिलो र एक मात्र साहित्यिक साप्ताहिक पत्रिका ‘कपन बानेश्वर राष्ट्रिय साहित्यिक साप्ताहिक ’ ले ६ सय अङ्क प्रकाशन गरेको अवसरमा पत्रिकाका संरक्षक सदस्य साहित्यकार चालिसेको लघुकथासङ्ग्रह लोकार्पण गरेको हो । गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसाल, बुनपा ९ का वडाध्यक्ष राजिव थापा, लेखक महेन्द्र चालिसे, लेखकपत्नी इन्दिरा चालिसे, समीक्षकद्वय ठाकुर शर्मा, गोपी मैनाली र कपन बानेश्वरका प्रकाशक सम्पादक निबन्ध आचार्यले कृतिको लोकार्पण गरेका हुन् ।

लेखक महेन्द्र चालिसेले लेखकीयसहित स्वागत मन्तव्य दिएपछि लघुकथा गान बजाएर कार्यक्रम उद्घाटन गरिएको थियो। परम्परागत विमोचनभन्दा पृथक् रूपमा समीक्षकहरू ठाकुर शर्मा र गोपी मैनालीले समीक्षात्मक टिप्पणी गरेपछि मात्र पुस्तक लोकार्पण गरिएको थियो । कार्यक्रमका सभाध्यक्ष गङ्गा पौडेलले कति लोकार्पणपछि लेखककी जीवनसँगिनी इन्दिरा र प्रमुख अतिथि रोचक घिमिरेले कथाकार महेन्द्र चालिसेलाई रुद्राक्षको माला लगाइदिएर सम्मान अर्पिएका थिए ।

कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसाल र गोनपा ९ का वडा अध्यक्ष राजिव थापाले साहित्य र साहित्यकारका लागि नगरपालिकाले काम गरिरहेको र गरिरहने बताए । युवराज मैनाली, रमेश खनाल र शङ्कर भारतीले शुभकामना दिएको सो कार्यक्रममा एन बी जनकपुरेले महेन्द्र चालिसेको गीत गाएर सुनाएका थिए । प्रमुख अतिथि रोचक घिमिरेले साहित्यिक, त्यसमाथि पनि समाचारमूलक साप्ताहिक रुपमा निकालेर ६ सय अंकसम्म पुर्याउनु हिमाल चढ्नु बराबर हो भन्दै प्रशंसा गरे । साथै महेन्द्र चालिसेको पहिलो कथासङ्ग्रहभन्दा यो कृति परिमार्जन भएर आएको बताए ।

सभापति गङ्गा कर्माचार्य पौडेलले पत्रिका प्रकाशन सामुहिक काम भएको र कबा समुहले मिलेर काम गरेको कारण नै ६ सय अङ्कसम्म पुग्न सफल भएको बताइन् । आलोक चालिसेले संचालन गरेको कार्यक्रममा प्रकाशकरसम्पादक निबन्ध आचार्यले धन्यवाद ज्ञापन् गरे । कपन बानेश्वर राष्ट्रिय साहित्यिक साप्ताहिकको प्रकाशन रहेको रङ्गभेद चालिसेको तेह्रौं प्रकाशित कृति हो । यसभित्र ६५ लघुकथा सङ्ग्रहित छन् ।