• २०८१ माघ ११ शुक्रबार

लमजुङमा पाँचौं खुल्ला मुक्तक प्रतियोगिता हुने

लमजुङमा पाँचौं खुल्ला मुक्तक प्रतियोगिताको तयारी गरिएको छ प्रतियोगितामा विश्वभर छरिएर रहेका नेपाली भाषीहरूले भाग लिन सक्ने छन् । उक्त प्रतियोगिताको पुरस्कार वितरण कार्य अन्तरङ्गको ३० औं वार्षिकोत्सवको अवसरमा एक विशेष कार्यक्रमका साथ आउँदो भदौ २५ गते गरिने भएको छ ।

उक्त प्रतियोगिताका लागि पाँचवटा मुक्तक साउन ५ गते भित्र आयोजक समितिलाई पठाइसक्नु पर्ने छ । प्रतियोगितामा पठाउने पाँच मुक्तक मध्ये राष्ट्रप्रेम, विकृति विसंगति विरुद्ध र शृंङ्गारिक गरी तीन वटा शीर्षक तोकिएको छ भने दुईवटा खुल्ला लेख्न सकिने छ ।

यस्तो नीति प्रतियोगिताको पहिलो शृंखलादेखि नै हो । प्रतियोगिताका अन्य शर्तमा मुक्तक चतुष्पदीय ढाँचामा लेखिएको हुनुपर्दछ भनिएको छ । त्यस्तै मिति नाघेर प्राप्त हुन आएका मुक्तकहरू प्रतियोगितामा समावेश नगराइने सो प्रतियोगिताबारेमा जारी सूचनामा उल्लेख गरिएको छ ।

प्रतियोगितामा पठाइने मुक्तकहरू प्रिति फण्टमा टाईप गरी तोकिएको ढाँचामा इमेल मार्फत [email protected] मा पठाउनु पर्ने पनि शर्तमा उल्लेख गरिएको छ । त्यस्तै, प्रतियोगितामा प्राप्तहुने मुक्तकहरूको सङ्ग्रह ‘‘अनुपम-३’ प्रकाशन गरिने हुँदा सहभागीहरूले आफ्नो जीवन वृत्त अर्थात बायोडाटा, ठेगाना, इमेल, फोन नं नछुटाई, फोटो समेत कोड नम्बर राख्न मिल्ने गरी प्रतियोगी–मुक्तकहरू पठाउनु पर्ने शर्त उल्लेख छ ।

उक्त संयुक्त मुक्तक सङ्ग्रह अर्थात ‘‘अनुपम- ३’ को पुरस्कार वितरण समारोहमा विमोचन गरिने आयोजकको भनाई छ । पुरस्कारको हकमा भने यो वर्ष वृद्धि गरिएको छ । पहिलो, दोस्रो, तेश्रो र सान्त्वना स्थान हासिल गर्ने २ जनालाई क्रमशः २० हजार १५ हजार, १० हजार र ५ र ५ हजार नगदका साथमा विशेष उपहार र प्रमाणपत्र प्रदान गरिने छ । बाँकी ७ जनालाई पनि विशेष उपहारका साथमा प्रमाणपत्र प्रदान गरिने छ ।

यो वर्षको मूल्यांकनमा विगत भन्दा फरक तरिका अपनाइने भएको छ ।विगतका प्रतियोगिताको अनुभवका आधारमा नतिजालाई थप चुस्त, निष्पक्ष र प्रभावकारी बनाउने उद्देश्यले मूल्यांकन पद्धति परिमार्जन गरिएको प्रतियोगिताका संयोजक एवम् अन्तरङ्गका सम्पादक नवराज पहाडीले बताउनु भएको छ । उहाँका अनुसार प्राप्त मुक्तकहरूको मूल्यांकन दुई चरणमा गरिने छ । पहिलो चरणमा प्राप्त मुक्तक मध्येबाट उत्कृष्ठ २५ को छनौट गरिने छ । दोस्रो चरणमा सर्वोत्कृष्ट १२ को छनौट गरिने छ र ती मुक्तकका रचनाकारहरूलाई पुरस्कार वितरण समारोहमा निम्त्याई वाचनका लागि मौका दिइने छ ।

उत्कृष्ट १२ मा छनौट हुनु हुने मुक्तककारहरूलाई पुरस्कार वितरण कार्यक्रमका अवसरमा लमजुङमा एक रात बास र २ छाक खानाको प्रवन्ध आयोजक समितिका तर्फबाट गरिनेछ । हरेक २ र २ वर्षमा आयोजना गरिने भएको उक्त खुल्ला मुक्तक प्रतियोगिता विगतका वर्षमा कोरोनाका कारणले सञ्चालन गर्न नसकिएको बताइएको छ ।