• २०८१ असोज २८ सोमबार

तिमी हरायौ

बसन्त चौधरी

बसन्त चौधरी

तिमी हरायौ
स्वप्नको एक पात्रझैँ
म तिमीलाई
खोज्दैछु
शताब्दियौँ देखि ।

म मान्दछु
नियति छन्, प्रारब्ध छन्,
मानिसलाई
दुःख सबै उपलब्ध छन्,
तैपनि
मान्छे यीसँग युद्धगर्छ
युद्धभूमिबाट
तिमी एक्कासि किन अल्पियौ ?

तिमी सित कति सपना थिए
कल्पना थिए,
जुन तिमी साकार पार्न चाहन्थ्यौ
निर्जीव वस्तुहरूमा समेत
प्राण भर्न चाहन्थ्यौ ।

अब हेर,
त्यो स्वप्न पूरा हुने दिन
आउने भयो रे
हाम्रो हरेक कल्पनाले
आकार पाउने भयो रे
यही सपना बाँच्नलाई
तिमी यहा हुनु पथ्र्यो
नयाँ यथार्थलाई तिमी
आफैँले छुनु पथ्र्यो ।

यसैलाई हामीले पर्खेका थियौँ,
लडेका थियौँ
यही आउन लाग्दा तिमी भएनौ
म तिमीलाई खोज्दैछु,
र सोच्दैछु,
के तिम्रो हाँसो पनि
मैले नै हाँस्नु पर्छ ?
के तिम्रो जीवन पनि
मैले नै बाँच्नु पर्छ ?

तर मलाई विश्वास छ,
एकदिन म
तिमीलाई भेट्ने छु,
आफ्नो मनको रिक्ततालाई
सधैँका लागि मेट्ने छु ।

साभार: मेघा (कवितासङ्ग्रह)


[email protected]
(चौधरी विशिष्ट साहित्यकार हुन् ।)