• २०८१ भाद्र २४ सोमबार

एकान्तको चाह

बसन्त चौधरी

बसन्त चौधरी

मलाई एकान्त मन पर्छ
तर
कहिल्यै एकान्तलाई म मन परिनँ

बजाइरहन्छ सय थरी धुन
बिथोलेर मेरो चाहनाको शून्यता

दिइरहन्छ कोलाहलको साइरन
गाइरहन्छ भीडहरूको गीत
अप्राप्तिको साङ्गीतिक रागहरूमा
एकान्तको अस्तित्वले
म निस्तेज भएको छु
मलाई एकान्त मन पर्छ
तर
कहिल्यै एकान्तलाई म मन परिनँ

किन होला
शून्यकै भविष्य लिएर बाँचेको जीवनले
शून्यता भोग्न नपाएको
शून्यता खोस्न नपाएको
शून्यता गाउन नपाएको
के शून्यतासँग
जीवन सौन्दर्य मृत छ र !
कि कुरूप छ या
एकान्त अजय छ
मलाई एकान्त मन पर्छ
तर
कहिल्यै एकान्तलाई म मन परिनँ !!

साभार: तिमीविनाको म (कवितासङ्ग्रह)


[email protected]
(चौधरी विशिष्ट साहित्यकार हुन् ।)