समाचार
मोरङ्ग ।
नेपाली साहित्य समाज उर्लाबारीको आयोजनामा साहित्यकार गोपाल दहालको कवितासंग्रह “जीवन यात्रा“ सार्वजनिक गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि समालोचक तथा साहित्यकार प्रा. डा. गोविन्दराज भट्टराई, उर्लाबारी साहित्य समाजका अध्यक्ष यज्ञ परिश्रमी, पुस्तकका समीक्षक केशव प्रसाद रेग्मी, साहित्य कला संस्कृति प्रतिष्ठानकी अध्यक्ष भगवती ढुङ्गेल, कविको आँगन साहित्य समुहकी सदस्य एवं कृतिकार गोपाल दहालको हातबाट संयुक्त रुपमा विमोचन गरिएको थियो ।
कार्यक्रमका अतिथिहरू प्रतिभा निकेदनका अध्यक्ष कमलराज भट्टराई, पूर्व अध्यक्ष खेमलाल पोख्रेल, साहित्यकला सङ्गम दमक झापाका अध्यक्ष बिन्दु दहाल मुकदर्शक, इलाम साहित्य कला प्रतिष्ठानका अध्यक्ष जयनारायण भट्टराई, मिक्लाजुङ्ग साहित्य समाज मोरङ्गका अध्यक्ष इन्द्र प्रसाद घिमिरे आदि हुनुहुन्थ्यो भने सभाको अध्यक्षता यज्ञ परिश्रमी, स्वागत भाषण रिता रिमाल र उद्घोषण युवराज काफ्लेले गर्नु भएको थियो ।
राधिका मा. बि . को हलमा भएको उक्त कार्यक्रममा भगवती ढुङेल , लक्ष्मी अचुत ढुंगाना , जयनारायण भट्टराई, मेघनाथ बन्धु, लगायतले कृतिबाट एक एक वटा कवितावाचन गर्नुभएको थियो भने युग योगी राई, नयन श्रेष्ठ, विवेक दुलाल क्षेत्री दमक आदिले आ-आफ्नो रचना प्रस्तुत गर्नु भएको थियो । कवि गोपाल दहालले आफ्नो कविता सङ्ग्रहबाट आफू अष्ट्रेलिया रहँदा, भारत रहँदा र नेपाल हुँदा लेखिएका सङ्ग्रहमा सङ्ग्रहित तीन कविता वाचन गर्नु भएको थियो ।
