• २०८१ फागुन १ बिहीबार

ह्याप्पी बर्थ डेको केक

मञ्जु विमली

मञ्जु विमली

त्यो भाद्र १५, २०७१ अर्थात ३१, अगस्ट २०१४ को दिन थियो । तीन महिनाअघि मात्र अलाबामाबाट भर्जिनिया सरेर आइपुगेका थियौँ । पर्शुराम भण्डारीको अत्यन्त आत्मीय आतिथ्यमा उहाँले नै बन्दोबस्त गरिदिएको, उहाँकै घरसँग जोडिएको एक पाकिस्तानीको घरमा अमेरिकी दुःखको झोला बिसाइएको थियो । उहाँकै पहलमा पहिलोपल्ट भर्जिनियामा मैले काम पनि पाएकी थिएँ । रहँदै–बस्दैजाँदा थाहा हुँदैगयो, जताबाट आएका भए पनि पहिलोपल्ट भर्जिनिया आउने मानिसहरूलाई सधैँ सहयोग गर्नुहुँदो रहेछ परशु दाइ ।

हप्ताको पाँच दिन काम हुनाले हिजो शनिबार दिनभरि घरमै बिताइयो । फेसबुकमै अल्मलिएर आजको दिन पनि त्यत्तिकै बित्यो । धरावासीजी कोलोराडो जानुभएको थियो । सिलसिला थियो झोला फिल्म प्रदर्शनीको ।

पाकिस्तानीको घरमा कृष्ण पराजुली र हाम्रो दुई परिवार मिलेर बसेको थियो । पराजुलीजीहरूको आफ्नै व्यापार थियो । उहाँहरू बिहानै काममा निस्किएर साँझ मात्र आउने गर्नुहुन्थ्यो । त्यो दिन पनि सबै जना साँझमा भेला भइयो । मलाई भने बर्सेनि आइरहने जन्मदिनको उतिसारो चासो थिएन । नेपालमा हुँदा पनि खासै महŒवका साथ मनाउने गरिएको थिएन । बेलायतको दस वर्षे लामो प्रवासमा पनि दुःखसँग जुध्नै फुर्सद थिएन, खासै जन्मदिन मनाइएको सम्झना छैन ।

दिउँसो परशु दाइले फेसबुकबाट मेरो जन्मदिनको कुरा थाहापाएको भने पनि मैले उति महŒव दिइनँ । बेलुका सधैँकै झँै साधारण खाना बनाएँ । छोरो अप्पु (अपूर्व) पनि पराजुलीजीहरूसँगै काम सिक्ने निहुँमा केही हप्तादेखि आफ्नो विकेन्ड छुट्टीको सदुपयोग गर्दैथियो ।

‘स्कुल छुट्टी हुँदा घरमै दिक्क भएर बस्नुभन्दा त हिँड पसलमा । काम पनि सिकिन्छ ।’ भनेर कृष्ण पराजुलीजीले एकदिन भन्नुभएको थियो र त्यसको अर्को हप्तादेखि ऊ काम सिक्न जानथालेको थियो । उसलाई नयाँ ठाउँ र परिवेश देख्न र बझ्न रहर पनि थियो । करिब ४५ मिनेटको ड्राइभ थियो कामसम्म पुग्न । ऊ रमाएकै थियो । सुरुसुरुमा उत्साहित भए पनि काम सिकिसकेपछि भने अल्छी गर्नथालेको थियो । उसलाई धेरैबेरसम्म सुत्न मन लाग्ने, काममा जान बिहान ६ बजे उठ्नुपर्ने । त्यही पनि स्कुल छुट्टीको दिन ।

बेलाबेला भन्थ्यो– ‘शनिबार र आइतबार त सुत्ने दिन पो हो त !’

सायद त्यसैले होला सबै काम बुझिसकेपछि अल्छी मान्दै उठ्नथालेको थियो । कहिले त खाजा खानै भ्याउँदैन थियो र काममै खान्छु भन्दै बाटो लाग्थ्यो ।

त्यो दिन कामबाट आउँदै गर्दा छोराले हातमा निक्कै गह्रौँ लाग्ने ठूलो झोलामा केही लिएर आएको थियो । कामबाट आउँदा सधँै पनि उनीहरूका हातमा केही न केही हुने हुनाले वास्ता नगरी आफ्नो काम गरिरहँे ।

खाना खाइसक्यौँ सबैले । धन्दा सकेर म भान्सातिरैको कुर्सीमा बसिरहेकी थिएँ । बिर्सन खोजे पनि मनको एक कुनामा आफ्नो उमेरबारे छलफल चलिरहेको थियो–‘आजदेखि शरीर अर्काे एक वर्ष बुढियो । एक वर्ष थपियो उमेरमा ।’

यो दूर देशमा आएको वर्षदिन बितिसक्दा पनि अझैसम्म कुनै कुराको टुङ्गो लागेको थिएन । मनमा पीर परेपछि सबैभन्दा पहिले सम्झना आउने भनेको आमाकै अनुहार हुँदोरहेछ । नेपालमै छोडिएकी बूढी भएकी आमालाई सम्झिरहेकी थिएँ । दिवङ्गत बुबाको पनि उत्तिकै याद आइरहेको थियो । उहिले पहाडघरमा हुँदा सानोमा आमाबुबाले सबै छोराछोरीको जन्मदिनको दिन खीर पकाउनु हुन्थ्यो । बुबाले बिहान देउता पुज्दा हाम्रा नाममा केके फलाक्नु हुन्थ्यो ।

गाउँमा कसैको पनि जन्मदिन मनाउने चलन नै थिएन । केही दशाग्रह बिग्रिए भने जन्मदिन पारेर जाप लाउनुपर्छ, दशा मन्छाउनुपर्छ भनेर ठूलो दाजुको जन्मदिनमा चाहिँ एकपल्ट घरमा पूजा लगाएको याद छ । तर मेरा लागि त कहिल्यै पूजा लगाएर पानी समाउने र छाड्ने काम गरेको यादै छैन ।

बेलुका कामबाट फर्किसकेपछि कहिलेकाहीँ ओल्लोपल्लो घरका भेला भएर गफिने चलन थियो । त्यसैले परशुराम दाइ, भाउजू र अरू पनि फाट्टफुट्ट भित्र पसेर लिभिङ् रूममा सोफामा बसी गफिन थालेका थिए । मलाईचाहिँ ती गफमा पनि सामेल हुन मन लागिरहेको थिएन । अशिष्टता नदेखियोस् भनेर भान्सामै केही गरिरहेझैँ व्यस्त देखिन खोजिरहेकी थिएँ । सधैँ हुलाकबाट आएर थुप्रिने काम नलाग्ने चिट्ठीहरूमा आफूलाई अल्मलाउन थालेँ । धराबासीजीको फोन आयो तर उहाँले पनि सम्झनु भएन मेरो जन्मदिन ।

केही बेरपछि उठेर बाथरुम जान तयार भएँ । तर त्यसै बेला पराजुलीजीका साना छोराछोरीले आन्टीका आँखा छोपाँै । यता आउन नदिऔँ भन्दै बसेकै ठाउँमा आएर तिनका साना हत्केलाहरूले आँखा ढाकिदिए ।

अरू पनि मान्छेहरू फाट्टफुट्ट थपिन थाले खुरुखुरु । सधँै आइरहने नै हुन्, केही पनि अचम्म लागेन । म बाथरुम पस्दा बाहिर झलमल्ल थियो, भित्रबाट केहीबेर पछि बाहिर निस्किँदा बत्ति झ्यापझुप थियो । बाथरुमको उज्यालो निभाएर बाहिर निस्किएकी मैले केही नै देखिनँ । अमेरिकामा त कहिल्यै बिजुली जाँदैन भनेको सुनेकी थिएँ । यो एक वर्षको अमेरिकी बसाइमा एकदिन पनि बिजुली निभेको थाहा थिएन ।

मैले के भएको हो भनेर अनुमान लगाउनुभन्दा पहिल्यै उज्यालो भयो । बत्तीको चमकले एकछिन त आँखै तिरमिराए । यसो ठम्याएको, कोठा त अनेक रङ्गिबिरङ्गी बत्तीहरूले झिलिमिली पो देखियो । म अलमल्ल परेँ । एकछिन अघिसम्म केही चालचुल थिएन । एकै छिनमा यो सबै कसरी भयो । मैले सोचिनसक्दै एकैचोटि सबैजनाले ठूलो आवाज निकालेर कराए– ‘ह्याप्पी बर्थ डे ।’

रङ्गीन बत्तीहरूको उज्यालोले आँखै टिप्लाजस्तो भयो । भित्ताभरि रङ्गविरङ्गका कागजका टुक्राले अघि कतिबेला लेखिसकेको रहेछ– ‘ह्याप्पी बर्थडे मञ्जु ।’ सबैले एकै स्वरमा भने– ‘यता आउनूस् यता !’ अनि तानेर लगे भुराहरूले । अप्पु छेउमै थियो । भुराहरूले भन्न थाले–‘ह्याप्पी बर्थडे टु यु । ह्याप्पी बर्थडे टु यु, ह्याप्पी बर्थडे टु यु डियर आमा ।’ गडडड ताली पड्किए । झिरझिरेमा आगो सल्काए ।

अघिदेखि दिमागमा सररर कुदिरहेको मनको अतीत भताभुङ्ग भएको थियो । त्यसरी नै जसरी त्यो झिर्झिरे एकैछिनमा सकिएको थियो । छोराले हातमा गह्रौसँग बोकेर ल्याएको त केक पो रहेछ । त्यो ठूलो केक सजाइएको थियो टेबुलमा । हातमा केक काट्ने छुरी थमायो अप्पुले । एउटा ठूलो छालाको ब्याग पनि हातमा दियो र भन्यो– ‘ह्याप्पी बर्थडे आमा ।’

मेरा गोडामा टाउको राख्यो । मेरा आँखा आँसुले भरिए । त्यति सानो सम्झिएको केटो, ठूलो मान्छेझैँ मेरावरिपरि नाचिरहेको थियो मलाई सरप्राइज दिलाएर ।

कृष्ण र मीनाले एकै स्वरमा भने– ‘भाउजू छोरो त ठूलो भइसक्यो । कत्ति ज्ञानी भएको छ । ठूला मानिसहरूको जस्तो कुरा गर्छ । कत्ति राम्रो व्यावहार गर्छ कस्टमरसँग । हामीलाई भन्दा उसैलाई खोजिरहन्छन् उनीहरू पनि । यो आजको आयोजना सबै उसैको योजनाअनुसार भएको हो । हामी त उसका सहयोगी मात्र हौँ ।

ती कुरा सुन्दै मैले केकमा लेखिएको आफ्नै नाम काटिरहेँ । ओहो ! मैले आफैलाई काटँे वा मेरो दुःखको एउटा वर्ष काटँे वा के काटँे ? तर काटिरहँे ।

हाम्रो चलन होइन बलेको बत्ती निभाएर उत्सव मनाउने । घरमा त आमाले हाम्रो नाममा बालिएको दियोमा तेल थप्नु हुन्थ्यो । मलाई धेरै वर्षअघि बेलायतमा डाफ्नी र जर्ज ह्यारिसले त्यसरी नै झुक्याएको अनि, भरे बडा प्रेमका साथ ठूलो खाममा विद्युतजडित जन्मदिनको शुभकामना गीतसँगै पैसा पनि राखेर दिँदै अचम्म तरिकाले केक काट्न लगाएको याद आयो । अर्काको देशमा बस्न आएपछि उनीहरूको संस्कृतिमै भिज्नुपर्ने ।

०००
एउटा पञ्जावी परिवारको दुई वर्षको बच्चो हेर्ने काम थियो मेरो ।

बच्चो सानो छ । रणवीर हो उसको नाम । फूलको थुङ्गोझँै राम्रो छ ऊ । त्यसको सुकसुकाँउदोपन देख्दा मलाई आफ्नो बाल्यकाल याद आउँछ । ओल्ला घर, पल्ला घरका भुराका ओठदेखि पनि उँधै चुहिँदैगरेको पहेलो सिँगानको लत्को याद आउँछ । स्याँक्क पारेर माथि नै तानेर तालुसम्म पुर्यायो, एकछिन अड्कन्थ्यो । फेरि झथ्र्याे कुलेसो बनाउँदै त्यही बाटो । त्यही सम्झना आउँछ । आफ्नै पनि सिँगानको पाप्रा टाँस्सिएर गालामा घाउ नै हुन्थ्यो । नुनिलो सिँगान जिब्राले चाट्दा आउने मिठास छुट्टै थियो । हेर्छु, त्यसका नाकमा कहिल्यै आउँदैन सिँगान ।

एउटा सानो नानीसँग दुई जना युवा पतिपत्नीको परिवार बस्छ, त्यो एउटा विशाल सिङ्गल हाउसमा । बस्तीको पल्लो छेउमा गन्न सकिने चारपाँच घरमध्येको ठूलो घर छ उनीहरूको । परशुराम भण्डारी दाइले नै पहिलोपल्ट यो काममा आफैँ पुर्याइदिनुभएको थियो ।

३५ मिनेटको ड्राइभमा तीनचारवटा लेन चेन्ज गर्दै गाडी चलाएर आठ बजे भित्रिइसक्नु पर्दथ्यो त्यस घरमा । उनीहरूले पनि फेसबुकबाटै थाहा पाएछन् मेरो जन्मदिन । बिहान आठ बजे काममा गएका उनीहरू बेलुका पाँच बजे फर्किआएपछि मात्र मेरो छुट्टी हुन्थ्यो । शुक्रबार बिदा भएर हिँड्न लाग्दा, एकछिन् पर्खिनु भन्दै फलफूलको टपिङ्ग हालेको ठूलो केक ल्याई एउटा खामसमेत रणवीरको हातबाट मलाई दिन लगाउँदै– ‘ह्याप्पी बर्थ डे आन्टी ।’ भनेर अँगालोमा बाँधे र छोरालाई फेरि भन्न लगाए– ‘आन्टीको बोलो– ह्याप्पी बर्थडे टु यु आन्टी ।’

भरखरै बोली फुटेको बच्चाले जानीनजानी भनेका ती कुरा सुन्दा आँखा भरिएर आए । मेरो अँगालोमा आई लुपुक्क टाँस्सियो । त्यो स्पर्श, मायालु बोली र उसले त्यो खाम मेरो हातमा दिँदै गर्दाको अवस्था अत्यन्त भावनामय थियो ।

सबैथोक छोडेर पर्देशिएपछि मात्र थाहा हुन्छ देश के हो ? आफू को हो ? हिजो देशमा हुँदाका निराशा, उदासीनता, विद्रोह सबै परदेश पुगेपछि मायालाग्दा स्मृति बन्दा रहेछन् । सबै रहरहरू सकिएको जिन्दगी सुरु भएपछि विदेशमा जन्मदिन नै सबैभन्दा विशेष बनेर आउँदा रहेछन् । त्यो एउटा दिन पनि बिस्र्यो भने वर्षैभरि एकछिन भेला भएर रमाउने कुरा अरू केही त हुँदैन रहेछ । एउटा जन्म दिनको शुभकामना पर्खिएर नै बित्दोरहेछ वर्ष दिन । आफ्नो जन्मदिन सम्झनु भनेको पनि आफू छु भनेर सम्झनु रहेछ । आफूले बिर्से पनि अरूले सम्झाएर पनि तँ जीवित छस् भनेको होलाजस्तो लाग्छ मलाई यो जन्मदिनको केक ।

बिस्तारै बानी पर्दै जान्छ– विदेशमा ह्याप्पी बर्थ डेको केक । कताकता खुसी पर्खिने दिन पनि त्यही हुँदै जानथाल्छ । अब त बानी परेछु म पनि । लाग्छ जीवन त उपहारको सानो खुसीमा रमाउने चीज मात्र रहेछ । प्लास्टिकको फूलजस्तो हाँस्न सिकेपछि मात्र सुरु हुने रहेछ विदेशको दिनचर्या । त्यस्तै दिनचर्याको बीचमा वर्षमा एकपल्ट साँझमा आउँछ आफ्नो जन्मदिनको केक, बलेका मैनबत्तीहरू निभाउँदै ।

हरेक वर्ष जन्मदिन आएपछि आफ्ना ममतामयी मातापिता, डाफ्नी, जर्ज ह्यारिस्, रणवीर र मैले सधँै सानो बच्चा सम्झिएको छोरा अप्पुलाई सम्झिरहन्छु, सम्झिरहन्छु । उहाँहरू हुनुहुन्छ र त म छु । म छु र त संसार छ ।