समाचार

सूर्योदयको प्रथम रश्मि
के नाम दिऊँ तिमीलाई ?
तिमी क्षणिक हौ
भावनाको शब्दकोशमा
तिम्रो नाम खोज्नु सट्टा
तिमीलाई राम्ररी नियालेर
आत्मसात् गर्नदेऊ,
तिमी क्षणिक हौ ।
हे ! चञ्चल सूर्यकान्त मणि
एकछिन केवल एकछिन
स्थिर भइदेऊ
किन भने राम्ररी नियालेर
तिमीलाई आत्मसात् गर्नुछ
भावनाको शब्दकोशमा
तिम्रो नाम खोज्नुछ
अर्थ रहित निष्प्रयोजन रङ्गले
तिमीलाई सिँगार्नु छ ।
तिमी नै भन
वासन्ति बिहानीको मिर्मिरे रश्मि
के नाम दिऊँ तिमीलाई ?
कुन रङले सिँगारौँ तिमीलाई ?
तिमी क्षणिक हौ ।
साभार: मेघा(कवितासङ्ग्रह)
[email protected]
(चौधरी विशिष्ट साहित्यकार हुन् ।)