• २०८३ श्रावण ६, बुधबार

लालबन्दीमा साहित्य, सिर्जना र स्रष्टा सम्मान कार्यक्रम सम्पन्न

लालबन्दी ।

लालबन्दी नगर वाङ्मय परिषद्को आयोजनामा लालबन्दीमा साहित्य, सिर्जना र स्रष्टा सम्मान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेपाली साहित्यका विभिन्न विधाका स्रष्टालाई पुरस्कार प्रदान गरिनुका साथै नयाँ कृतिको विमोचन गरिएको छ । परिषद्का सचिव सुमन घिमिरे ‘अग्रिम’का अनुसार नेपाली भाषा–साहित्यमा दीर्घकालीन तथा उल्लेखनीय योगदान पु¥याएबापत कवि तथा गीतकार दिनेश अधिकारीलाई ५० हजार रुपैयाँ राशिको ‘साहित्यिक शहीद कृष्णलाल अधिकारी स्मृति पुरस्कार–२०८२’प्रदान गरिएको हो । यस्तै कवि तथा आख्यानकार रमेश क्षितिजलाई उहाँको कृति ‘एउटा मायी नगरमा’का लागि ५० हजार रुपैयाँ राशिको ‘लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार–२०८२’ (राष्ट्रिय) प्रदान गरिएको छ । लेखक तथा पत्रकार कृष्ण समर्पणलाई भाषा–साहित्यमा पु¥याएको योगदानको कदरस्वरूप २५ हजार रुपैयाँ राशिको ‘लालबन्दी नगर वाङ्मय परिषद् स्थानीय प्रतिभा पुरस्कार–२०८२’बाट सम्मान गरिएको छ ।

कार्यक्रममा कथाकार देवराज पौडेलद्वारा लिखित तथा मीना शर्मा न्यौपानेद्वारा प्रकाशित लघुकथासङ्ग्रह ‘मेरो पाठशाला’को सामूहिक विमोचनसमेत गरिएको थियो । वक्ताहरूले उक्त कृतिले नेपाली लघुकथा साहित्यलाई थप समृद्ध बनाउने विश्वास व्यक्त गर्नुभएको थियो । परिषद्का अध्यक्ष अच्युत अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा लालबन्दी नगरपालिकाका नगरप्रमुख बासुदेव अधिकारी प्रमुख अतिथि तथा जनज्योति बहुमुखी क्याम्पस, लालबन्दीका अध्यक्ष दीपक अधिकारी विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो । कार्यक्रमको शुरूमा परिषद्का सदस्य मीनबहादुर पूर्वछानेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने सञ्चालन विवश पौडेलले गर्नुभएको थियो ।

स्थानीय स्रष्टा, साहित्यकार, पत्रकार, बुद्धिजीवी तथा साहित्यप्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको उक्त समारोहले लालबन्दीको साहित्यिक गतिविधिलाई थप ऊर्जा प्रदान गरेको सहभागीहरूले बताएका छन् ।