• २०८१ फागुन १ बिहीबार

दसैं ! ठोसे-म्याग्जिनमा

कणाद महर्षि

कणाद महर्षि

यसपालि हामी ठोसे म्याग्जिनमा दसैं मनाउने
पुरानै पद्धति, एउटै संस्कार र परम्पराभन्दा बेग्लै
नयाँ, रमाइलो, र मजासँग
रामेछाप र दोलखाको सिमाना खिम्तीको किनार
ठोसे म्याग्जिनमा दसैं मनाउने

यसै पनि महँगीले आकाश छोयो भन्छन्
आकाश निलिसकेको अझ देखेका छैनन्
त्यसैले हामी महँगीलाई हाँक दिने
यसपालि
बोको, खसी, मासुहरूको मोलै नगर्ने
चिचीनानाको नामै नलिने

एकादेशमा प्रतिदिन पड्कने नौ नाल बन्दुकको ध्वनि
अझै यतै , कतै पहरामा प्रतिध्वनित भइरहेको छ कि
त्यो सुनेर
सगरमाथाको शिरमा पहिलो खेप ध्वजा गाड्ने
तेन्जिङ हिलारी हिँडेको यो बाटोको
टीका लगाएर,
गुचुमुच्च घरहरूको सानो नेवारे बस्ती
ठोसे म्याग्जिनमा आलु प्रशस्त पाइन्छ
पोलेर, उसिनेर,
साँधेर
यसपालि आलुपरिकार खाएर,
मकै पाइन्छ
खोले, च्याँख्ला खाएर
हरिया सिस्नुको झ्याङ
मनोरम देखिएका छन्
भ्यातल पकाएर
सल्ला र गुराँसले ढाकेका डाँडाहरूको सौन्दर्य पान गरेर
हाँडीखोला र खिम्ती नदीको पानीले तृप्त भएर
लाँकुरीको फेद चौतारीमा सुस्ताएर
यसरी हामी यसपालि
ठोसे म्याग्जिनमा दसैं मनाउने..
अभिषेक टीका अरूलाई
जमरा दक्षिणा अरूलाई
सन्तोषको सुकिलो मुस्कान
र न्यानो घाम हामीलाई ।


(महर्षी स्थापित साहित्यकार हुन)
[email protected]