• २०८१ श्रावाण ११ शुक्रबार

पाँचभूल !

धनराज गिरी

धनराज गिरी

“धेरैले खराब भनेको मानिस आखिर खराब नै हुनेरहेछ । धेरैले गर्न हुन्न भनेको कामगर्न नहुने नै रहेछ ।” आफ्नो अतिमिल्ने साथी, अनुज, अजेयनाथ विवेकीलाई प्रोफेसर जगमोहन आजादले मनको कुरा भन्यो । बृसबेनबाट विवेकी र फिन्लीबाट आजाद फर्किएपछि जोडीको मिलन सौराहा रापतीको किनारमा भयो । यतिखेर बेलुकीको छ बज्दैछ । बियरको चुस्कीको साथमा जीवन अनुभूति विनिमय गर्दै, दुई रामानुज, हातमा सम्प्रेषण छ । “हो दाजी, अलि अलि फरक पर्ला, धेरैले नालायक भनेको पात्र नालायक नै हुन्छ, नेपाली नेताहरूजस्तै । बियर थप्ने ?” “अब एक एक, लगभग एक बर्षपछि मिलन भएको छ, अष्ट्रेलियामा पनि अनुकूल भएन ।” बियर थपे ।

“अनुज, मैले जीवनमा, यो फेसबुकसहित, पाँचभूलहरू गरेछु ।” आजाद कन्फेसन तिर लाग्यो । “दाजीलाई, फेरि सुधारसहितको पन्चायती व्यवस्था हुन मन लाग्यो कि क्या हो ? दाजी, समाज विभाजित छ, हामीले जे गरे पनि तारीफ मात्र हुन्न, आलोचना पनि हुन्छ । सबैलाई खुशीपार्ने ठेक्का त कसले लिन्छ र ? सक्दैन ! अग्नि खुशी, अरू त उही हो । के भयो र त्यस्तो ? जनता जान्न चाहन्छन् !” एक ग्लास बियर तानेर, स्न्याक पनि मुखमा राख्दै बोल्यो आजाद, “एक, मुखले तारीफ गर्नेलाई आफ्नो मान्नु, दुई अति पोस्ट गर्नु, तीन ट्यागगर्नु, चार म्यासेन्जरमा पनि पेल्नु, पाँच भिडिओ अपलोड ! महाभूलहरू ! सुपुत्र आलोकले मात्र होइन, धेरैले रोके, तर अटेरी बनियो । अब होश आयो ।”
“दाजी, जब जागा तब सवेरा, सुबह का भुला हुवा अगर साम को लौट आये तो उसे भुला नही कहेते, भूल स्वीकारेर सच्चिनु हरेक विवेकी र सज्जनको गुण हो । जघन्य अपराध त होइन् । धेरैले झ्याउ मानेको मलाई पनि थाहा छ । उकास्ने खतरा । वाह वाह वाह, खतरा ! हिज्जे न जान्नेलाई उकासेर साहित्यकार बनाउनेहरू कति कति, पैसा खर्च गरेर उल्लू बनाउने ! दाजीको होश आयो । आजैबाट, बियरको होइन कुनै भूतपूर्व डियरको कसम खाएर यी पाँच भूलहरूलाई गुरु मानेर अर्को बाटो समाउने ! मेरो विचारमा खास गल्ती त होइनन् । दाजीलाई फुर्छ, हिमनदी ! कापीमा लेख्ने, खास लेख्ने । सय अनुज कौरव होइन, एक कर्ण जन्माउने ! “त्यसपछि धरा जन्माउने, अनि आगो भएर विश्वकर्मा बनी, अग्निपूजा गर्ने र स्वस्थानीको कथा सुन्ने, मदन नगर जाने, नौरथामा, हुन्न ?” “पक्का, पक्का ! दाजी योग्य हुनुहुन्छ ।” “हैट,नौ बज्यो । अब जानुपर्छ ।” उठे जोडी । आजादले आफूलाई सच्यायो । पुत्र आलोकले एउटा ब्ल्यू लेबल पठायो । लेख्यो, “बा, मोग्याम्बो खुश हुवा !”


धनराज गिरी
[email protected]