कहानी-हिन्दी

लघुकथाकार निशा केसीको लघुकथा सङ्ग्रह ‘ओजन’ को विमोचन गरिएको छ । स्रष्टा समाज नेपालले आयोजना गरेको कार्यक्रमका प्रमुखअतिथि प्रा. डा. लक्ष्मणप्रसाद गौतमलगायतले सो कृतिको लोकार्पण गर्नुभयो । ओजनबारे बोल्दै प्रमुखअतिथि गौतमले केसीका लघुकथा सिद्धान्तभित्र रहेर सिर्जना गरिएको बताए । केसीको सो कृतिभित्र रहेका हरेक लघुकथाको अन्त्यले पाठकको मनमा एक किसिमको झङ्कार दिने उनले बताए । यसैगरी लघुकथा समाजका अध्यक्ष गोपाल अश्कले केसी पछिल्लो समय मुक्तक विधामा चर्चित भएपनि उनको पहिलो परिचय कथाकारको नै भएका बताए । कार्यक्रममा मन्दिरा मधुश्री र रीता खत्रीले सङ्ग्रहका लघुकथा वाचन गरेर सुनाएका थिए ।
उक्त कृतिको समीक्षा गर्दै साहित्यकार डा. ज्ञानु पाण्डेले सङ्कलित लघुकथाले प्रेम, चेतनाको आगो, समाजको वर्तमान अवस्थालाई समेटेको बताइन् ।साहित्यकार विवश पोखरेलले ‘ओजन’का लघुकथाहरू निक्कै गहन र मनन योग्य रहेको बताए । लघुकथाकार निशा केसीले सङ्ग्रहित लघुकथाको रचना गर्भबारे खोतलेका थिए । कार्यक्रमको समापन गर्दै सभाध्यक्ष श्रीओम श्रेष्ठ रोदनले स्रष्टा समाजले प्रकाशन गरेको यो कृति ३४औँ भएको जानकारी दिए ।