कविता

काठमाडौँ/फागुन ४, २०७८
२०७८ माघ २९ गते अस्ट्रेलियाको सिड्नीमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको कार्यक्रम शब्दसारथिमा अस्ट्रेलियाका कविहरूद्वारा प्रेमदिवसका अवसरमा कवितावाचन कार्यक्रम सम्पन्न भएको छ । अस्ट्रेलियामा रहेका अनेसासका चारवटा च्याप्टरका पदाधिकारीहरूसहित त्यहाँ रहेका र भएका कविहरूले कविता सुनाएका हुन् ।
अनेसास शब्दसारथिको ११औँ शृङ्खलामा शनिबार मध्यरातसम्म आयोजना गरिएको उक्त कार्यक्रममा अनेसास क्विन्सल्यान्ड च्याप्टरका अध्यक्ष डा. केशव शर्मा, अनेसास पर्थ च्याप्टर अध्यक्ष हरिप्रसाद अधिकारी, अनेसास न्युसाउथ वेल्स च्याप्टर अध्यक्ष ममता तिवारी र अनेसास क्यानबेरा च्याप्टर अध्यक्ष चन्द्र तिवारीले कवितावाचनसँगै च्याप्टरका गतिविधिहरूबारे जानकारी गराए ।
अनेसास च्याप्टर र केन्द्रबीचको सम्बन्धलाई अझ घनिष्ट बनाउने अवधारणाअनुरूप‘नमस्ते च्याप्टर’ को शुभारम्म गर्दै उक्त कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा अनेसासका केन्द्रीय अध्यक्ष प्रकाश पौडेल ‘माइला’ले यस किसिमको कार्यक्रमले केन्द्र र च्याप्टरलाई एउटै मञ्चमा उभिन सहयोग पुग्ने बताए । अनेसासका सद्भावनादूत आचार्य राजन शर्माले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताए ।
कार्यक्रममा महता घिमिरे चापागाईं, राजेश्वरी रेग्मी आचार्य, ईशा शर्मा कोइराला, प्रकाश तिवारी ‘विवश’, रमेश अधिकारी, डा.प्रकाश पौडेल, गायत्री कोइराला, गोविन्द बराल, नेत्र पौडेल, रोमन मानव, ईश्वर पौडेल, गोमा उप्रेती, सन्तोष लम्साल, मुक्तिराम पोखरेल, आशिष भट्टराईलगायतले रचना वाचन गरेका थिए ।
अस्ट्रेलिया भ्रमणमा रहेका गजलकार धनराज गिरीको पनि सहभागिता रहेको उक्त कार्यक्रममा अस्ट्रेलिया निवासी अनेसासका उपाध्यक्ष राजेश बुढाथोकी र केन्द्रीय सदस्य महेश्वर शर्माले कार्यक्रम आयोजनाको उपादेयतामाथि प्रकाश पार्दै कविहरूलाई स्वागत र धन्यवाद ज्ञापन गरेका थिए ।
अनेसासका वरिष्ठ उपाध्यक्ष गोवद्र्धन पूजाको संयोजनमा भएको उक्त कार्यक्रममा केन्द्रीय उपाध्यक्ष राजेन्द्र श्रेष्ठ, महासचिव सर्वज्ञ वाग्ले र कोषाध्यक्ष कृष्णकुमार गिरीले केन्द्रका विभिन्न कार्यक्रम र गतिविधिमाथि प्रकाश पारेका थिए । कार्यक्रम भर्चुअल माध्यमबाट सञ्चालन भएको थियो ।