• २०८१ चैत ६ बिहीबार

प्रणय दिवसबाट कवि बसन्तको एकल काव्ययात्रा आरम्भ

नेपाली साहित्यमा गीत, कथा र कविता रचना गरी साहित्यकाको मौलिक पहिचान बनाउन सफल वसन्त चौधरी आफ्नो काव्यिक प्रतिभाको निरन्तर प्रवाहमा अग्रसर रहिरहेका छन् । वसन्त चौधरीको कवितायात्रा आलेख उनको समग्र काव्यसिर्जना मात्र नभई विश्व काव्ययात्राका पृष्ठभूमिमा सहित प्रसिद्ध छ । करिब २० कृतिहरूका सर्जक चौधरीका गुणात्मक दृष्टिले उल्लेख्य तथा कविता साधना प्राप्तिपूर्ण रहेको उनका काव्यकृतिहरूले पुष्टि गरिसकेका छन् ।

‘एक भूतपूर्व विद्यार्थी’ नामक कविता लेखी वि. सं. २०२९ मा कवितायात्राको प्रारम्भ गरेका उनका हिन्दी र नेपालीका ८ वटा गीति एल्बमहरू प्रकाशित भैसकेका छन् । स्वच्छन्दतावादी काव्य प्रवृत्तिमा कविता लिएर आएका कवि वसन्त चौधरी नेपाली भाषा, साहित्य, कला र संस्कृति साधनाका जगत्मा सुपरिचित छन् । साहित्य कलालाई इष्ट आराधना मान्ने वसन्त व्यापारलाई कर्म र समाजसेवालाई धर्म मान्दै विभिन्न क्षेत्रमा संलग्न रहेर समाज र साहित्यसेवामा योगदान पुर्याइरहेका उनले नेपाली भाषासाहित्यलाई विश्वमा पुर्याउने उद्देश्यले १३ वर्ष अघि विश्वकाव्य यात्रा सुरु गरेका थिए । विश्वका बीस सहरहरूमा सम्पन्न भैसकेको बसन्तको काव्ययात्रा नेपालका विभिन्न ठाउँमा पनि सम्पन्न गरिएको थियो । चौधरीको काव्ययात्राको निरन्तरता क्रममा विभिन्न वैश्विक उथलपुथल र आफ्नै व्यक्तिगत समस्याका कारण रोकिएको थियो । अब भने विश्वले राहत महसुस गरेको र संसारमा यौटा नयाँ बिहानीको आगमनसंगै अवरोधहरू परास्त गर्दै पुनः जागरुक गराएको छ ।

१४ फेब्रुअरी प्रेम दिवसका अवसरमा उनका प्रेम कविताहरूको एकल प्रस्तुति आयोजना गरियो । बसन्त चौधरी मूलतः प्रणयका कवि हुन् । उनका धेरै कविताहरू प्रणययुक्त रहेका छन् । प्रेम नै त्यस्तो चीज हो जसले बलियो र सकारात्मक, भावनात्मक र मानसिक अवस्थाहरूको दायरालाई समेट्छ । प्रेम सबैभन्दा महत्वपूर्ण मानवीय भावनामध्ये एक हो । यही प्रेम दिवसको दिन पारेर प्रणयका कवि बसन्त चौधरीले फेरी आफ्नो काव्य यात्रा पुनः सुचारु गरेका छन् ‘कवितासँग बसन्त– लभ इज इन दि एअर’ हुँदै । प्रणय दिवस विशेष एकल कवितावाचनको यो कार्यक्रम मण्डला नाटकघरमा सम्पन्न गरिएको थियो ।
प्रणय दिवस अर्थात ‘भ्यालेन्टाइन डे’का अवसर पारेर गरिएको उक्त कार्यकममा मङ्गलबार अपराह्न आफ्ना एक दर्जन बढी प्रणय कविता दर्शक श्रोतासमक्ष प्रस्तुत गरेर कार्यक्रम नै प्रणयमय बनाएका थिए । कविता वाचनको प्रारम्भमा आफू प्रेममा विश्वास गर्ने व्यक्ति भएको बताउँदै उनले घृणा र युद्धबाट केही सिर्जना नहुने बताए ।

भावनका लहरहरूबाटै प्रेम कविता जन्मिने विचार व्यक्त गर्दै चौधरीले भने– ‘प्रेमकविता लेख्न सजिलो छैन । तथापि, म कविताका माध्यमबाट छुट्टै प्रेममय संसार बनाउन चाहन्छु ।’
पृष्ठभूमिमा बजेको सुमधुर गिटारको सांगीतिक धुनसँगै उनले पहिलो कविता प्रस्तुत गरे ‘अलिक लजाइदेऊ’ शीर्षकमा । यस कविताबाट उनले मन बहकिने र यौवन छचल्किने प्रसङ्ग अभिव्यक्त गरे । उनको दोस्रो कविता थियो ‘जब हामी टाढा हुन्छौँ’ । यस कविता भेट्टिनु र छुट्टिनुको विशेषताको वर्णन थियो ।

प्रेम शाश्वत भएकाले प्रेम अनुभूत गर्न मात्रै सकिने भन्दै कवि चौधरीले ‘अद्वितीय प्रेम’ शीर्षकको कविता सुनाए । यसरी उनले तिम्रो माया, पहिलो पे्रमपत्र, अनन्त आनन्द, मृगनयनी, पराजित युद्ध, एक्लोपन, कस्तो कस्तो लाग्छ, स्मृतिको पहरा, बादल र राग अनुराग शीर्षकका प्रेमपूर्ण कविताहरू वाचन गरे ।

‘लभ इज इन द एयर’ थिम दिइएको काव्यवाचनको अन्त्यमा उनले ‘गजल’ प्रणयको जग भएको उल्लेख गर्दै यो प्रेम संवादको शक्तिशाली विधा भएको बताए । एउटा गजल तरन्नुममा सुनाए ।

नरोक कोही अब प्रेमको धारा बग्न देऊ
चुपचाप किन नहोस् प्रेमको कुरा चल्न देऊ ।
कार्यक्रमको अन्त्यमा उपस्थित सम्पूर्ण पाहुनाहरूले बसन्त चौधरीका दुई कृति ‘मेरा गीत’ र ‘जीवनमन्त्र–२’ एकसाथ सार्वजनिक गरे । मेरा गीत उनको नेपाली हिन्दी गीतहरूको सँगालो हो भने जीवनमन्त्र उक्तिसङ्ग्रह हो । कार्यक्रम सञ्चालक कवि राजेन्द्र शलभले चौधरीले स्थगित रहेको विश्व काव्य यात्रा यही कार्यक्रमबाट सुरु भएको जानकारी गराए । उनले कोभिडका कारण स्थगित उक्त कवितात्मक कार्यक्रम अबका दिनमा निरन्तर जारी रहने जानकारी दिए ।