समाचार
काठमाडौँ ।
मातृभूमि साहित्य समाज मकवानपुरले साहित्य, संगीत र सामाजिक क्षेत्रका केही व्यक्तित्वलाई सम्मान गरेको छ । समाजका अध्यक्ष कृष्णप्रसाद दाहालको अध्यक्षता र प्रा. डा. लक्ष्मणप्रसाद गौतमको प्रमुख आतिथ्यमा कार्यक्रममा भएको हो । कार्यक्रममा सिटिइभिटी निर्देशक डा. शान्ति लामा, साहित्यप्रेमी मुक्ति गोविन्द वैद्य, वरिष्ठ संगीतकार शिलाबहादुर मोक्तान लगायतको उपस्थिति रहेको थियो।कार्यक्रममा चर्चित गायिका कुन्ती मोक्तानलाई नित्य गोविन्द स्मृति–मातृभूमि संगीत पुरस्कार २०८१ प्रदान गरिएको छ । उनलाई २५ हजार रुपैयाँसहित सम्मान गरिएको हो ।
त्यस्तै नियात्राकार भवानी खतिवडालाई मायादेवी मातृभूमि पुरस्कार २०८१ अन्तर्गत २१ हजार रुपैयाँ प्रदान गरिएको छ । साहित्यकार प्रा. डा. लक्ष्मणप्रसाद गौतमलाई मातृभूमि साहित्य पुरस्कार २०८१ वरिष्ठ २५ हजार रुपैयाँसहित प्रदान गरिएको थियो । रोशन परियारलाई श्याम श्रेष्ठ स्मृति मातृभूमि पुरस्कार प्रदान गरिएको छ । १५ हजार रुपैयाँसहित प्रदान गरिएको छ । जीवन केसीलाई शारदा उप्रेती स्मृति मातृभूमि सम्मान कलासाधक १० हजार रुपैयाँसहित प्रदान गरिएको छ । सामाजिक अभियन्ता विश्वकान्ति कलावती सुमार्गी पराजुलीलाई मकवानपुर श्री सम्मान प्रदान गरिएको छ ।
त्यस्तै कार्यक्रममा बागमती प्रदेशकी मुख्य न्यायाधिवक्ता अप्सरा बस्नेत, डा. श्याम सुवेदी र लायन्स क्लब एस–३२५ की सेकेन्ड भाइस डिस्ट्रिक्ट गभर्नर अंकिता सुमार्गीलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा मकवानपुरसहित विभिन्न जिल्लाका साहित्यकारहरूले रचना वाचेका थिए। गायिका कुन्ती मोक्तानले कालजयी आफ्ना गीत प्रस्तुत गरेकी थिइन् । महिला साहित्यकारहरूको साहित्यिक यात्राबारे परिसंवाद पनि गरिएको थियो। परिसंवादमा भवानी खतिवडा, मुना अर्याल, आँचल साहित्य कलापुञ्जकी अध्यक्ष भावना सापकोटा र झरना साहित्यिक परिवारकी अध्यक्ष गायत्री रुपाखेती सहभागी थिए । महिलाहरूलाई घरायसी जिम्मेवारीले साहित्य सिर्जनामा कठिनाइ भए पनि पछिल्लो समय साहित्य सिर्जनामा सफलता हासिल गरेको खुसी परिसंवादमा प्रस्तुत गरिएको थियो ।
