• २०८१ श्रावाण ११ शुक्रबार

देश बाहिरको देश !

मुक्ति गौतम

मुक्ति गौतम

उसले बोकेर आएको छ सिङ्गै देश ऊसँग
उसलाई बोलाइरहने पहाडहरू
ऊ हिँडेका गोरेटाहरू
गाउँमाथिको वन
चिप्लेटी खेलेका ढुङ्गाहरू
र घरिघरि याद आइरहने
कहिल्यै नसकिने
गाउँका सम्झनाहरू छन् ऊसँग

उसका रहरहरू जस्ता
उचा नदीका भेलहरू
उसका सपनाहरू जस्ता
रोमाञ्चक बादलका अन्त्यहीन उडानहरू
उसको मनजस्तै चञ्चल भागिरहने
सिमलका भुवाहरू
ऊ समाउन खोजिरहन्छ

गाउँ छ उस्तै उसको मस्तिष्कमा
माटोले पोतेका घरहरू छन्
अँगालोमा साथीहरू छन्
बिहान-बेलुकै बाँसको झ्याङबाट आइरहने
कल्याङमल्याङ आवाज छ
आँगन छ- उसका सम्झनाहरू भन्दा लामो
पिँढी छ- उसका जीवनका खुट्किलाहरूझैँ
जाँतो छ- घुमिरहने उसको मनजस्तै
ढिकी छ- चलिरहने उसको मुटुको धड्कनजस्तै
उसलाई एक टकले हेरिरहेकी उसकी आमाका एकजोर मधुरा आँखाहरू छन्
उसैलाई पर्खिरहेको घरको ढोका छ
उसले यतै बोकेर आएको छ सिङ्गो देश

अस्ति दसैँ आयो- उसले आफैँले निधारमा टीका लायो
तिहार आयो- उसले आफैँले देउसी गायो
ऊसँगै छन् पिङका रोमाञ्चक झड्काहरू
पुग्न नपाउँदै माथि
झट्कार्छन् भुइँमा
ऊ विदेशिएको महसुस गर्छ,
काख थापेर पर्खिरहेका बरपीपलका चौतारी छन्
कुरा गरेर नथाक्ने दौतरी छन्
ऊ बोल्छ उसै गरी
ऊ सोच्छ उतैको
घरिघरि बाढी जान्छ उता- वर्षा लाग्छ यता
घरिघरि भइँचालो जान्छ उता- जमिन हल्लिन्छ यता
उसले बोकेर आएको छ सिङ्गै देश

उसको बोलीमा छ अलिकति देश
उसको खानामा छ अलिकति देश
उसको हिँडाइमा अलिकति
उसको सोचाइमा अलिकति
उसका सपनामा अलिकति
अलिअलि गरेर सिङ्गै देश ल्याएको छ,
नक्सामा नसमेटिने
सीमाविहीन
देश बाहिरको देश !


मुक्ति गौतम (टिमिन्स, क्यानडा)
[email protected]