• २०८२ पुष २६, शनिबार

मानव आकृति हराएको सूचना !

चेतन काफ्ले

चेतन काफ्ले

अग्लो गहुँगोरो
खबटे अनुहारमा
बल्लेङग्रा जस्तै लाग्ने आँखाका गेडीहरू
मासु सबै बेचेर खाए जस्तै
जिङरिङ नकोरेको कपाल
गौथलीले गुँड लगाउने तरखरको दाह्री
घरी घरी दाह्रीबाट र्याल चुहाउँदै
क्षयरोगले सिध्याउनै खोजेकोे
बाँसको लौरोमा
सेतो कपडाले बेरेझै लाग्ने शरीर
च्यातिएको पुरानो झोला कांधमा झुण्याएर

कपन भंगालबाट आसार पन्ध्रमा
एउटा मानव आकृति हराएको छ
देख्नुहुनेले हुलियाकै भरमा
नाम नसोधी
प्रज्ञा भवनमा बुझाईदिए हुन्छ ।

झण्डै पागल जस्तै जस्तै लाग्ने
अक्षरले झण्डा बोक्दैन
बादको चस्माको घेराबाट
समाजको यथार्थ चित्रण कोरिदैन–भन्थ्यो
इमान जमानको कथा लेख्छु
निर्वन्ध,
समानताको कविता कोर्छु
‘सर्वे भवन्तु सुखिन” को
विधान ल्याउछु भन्थ्यो
कता हरायो, हरायो ।

सुन्दैछु शब्दका कृषकहरू
खेत बारीमा डुङ्गडुङ्गति धुलो उडाई रहेछन्
बिउ र मलको जोहो गर्न नसकेर
सिमा सिमामा पागल झै भौतारी रहेछन्
कतै मल बिउको लाइनमा पो छ की रु
कि कतै प्रहरीको लाठी चार्जमा घायल छ ?

घरी बेथितिको कुरा
घरी बिसंगतिको कुरा
घरी कालापानी– सुस्ताका कुरा ।
घरी कृष्णलाल – योगमायाका कुरा
घरी सिफल, टेकु अनि शोभागवती
लखन, भिमसेन र बलभद्रका कुरा
घरी कोशी, गण्डक र काली भन्दै,
बरबरायो भने
कसैलाई सोध्नै परेन
ठान्नुस
तपाईले खोजेको आकृति
सोह्रै आना त्यही हुनुपर्छ ।

भेट्नसक्ने सम्भाब्य स्थानहरू
हनुमाढोका, नयां सडक पिपलबोट,
धरहरा हुदै
भद्रकाली डिल्लीबजारसम्म
कतै झुक्किएर
आशापुरी या शिवपुरी
तपाईले भेटिहाल्नु भो भने
कृपया पुलिसलाई खबर नगरिदिनुहोला
उस्लाई पुलिस फोविया भएको छ !!


चेतन काफ्ले