• २०८१ कातिर्क २३ शुक्रबार

खै के हो के हो ?

नरनारायण ‘वत्स’

नरनारायण ‘वत्स’

महान् विभूतिहरूलाई
बाटोको कोल्टापट्टि
मूर्तिमा सीमित बनाइएको घडीमा
वर्षको एकदिन
त्यो पनि यसो सम्झिहाले मात्र
पुछिन्छन् करैले
वर्रर विष्टा झार्दै चरीको
श्रद्धाञ्जली पनि
परिवारका सदस्यबाहेकले
बाहिरी आवरणमा यसो देखावटी ।

विज्ञानले सापेक्षतावादको नाम जुराउनुभन्दा पहिले
हाम्रा ऋषिमुनिले सबै लेखेर छाडेका थिए
सूर्यग्रहण र चन्द्रग्रहणको यथार्थ परिभाषा
ती महर्षिहरूले उहिले लेखेर दिएछन्
तर हामी यस युगका स्वनामधन्य विद्वान्
संस्कृतलाई मातृभाषा भन्दै
आफ्नै अस्तित्व
पूर्वज र वंशजको उछित्रो काढ्दै छौँ अज्ञानी ।

समयले आफ्नो गतिशीलता
धानेकै छ
मान्छे मात्र पौँठेजोरी
खेल्न जान्दछ
बुझेर, नबुझेर, बुझ्ने प्रयासरहित भएर
खोक्रो आदर्शको गान गाउँछ र गुदी छुट्छ
अज्ञानको भकारी बोकेर
भित्रको चुरो बिर्सेर
झुटो मान्छे हामी
साँध लगाउन बिर्सेर ज्ञानलाई
आवरणमा देखिने असत्यको
पुच्छर बन्दैछौँ सधैँसधैँ ।

परिवर्तनशील के हो के होइन ?
थाहा छैन
सुगा रटाइमा
पोथी गद्यघोकेर बाँचेका हामी
संसारमा के परिवर्तन भयो
के भएन ?
थाहा छैन
उही १६औँ, १७औँ र १८औँ शताब्दीको
थाङ्ने जात्रेगफको भकारी बनेर
अर्काका लागि
ढाक्रेजीवन बाँचिरहेछौ
सुन्ने कान थुनेर
हेर्ने आँखा चिम्लेर
विवेकमा बिर्को लगाएर


(वत्स विगत पाँच दशकदेखि सिर्जनाका फाँट कलम चलाउँदै आएका स्रष्टा हुन् ।
[email protected]