हिन्दी–कविता

काठमाडौं ।
नेपाली साहित्यका विराट् प्रतिभा भैरव अर्यालको स्मृतिमा स्थापित विभिन्न तीन प्रतिष्ठित पुरस्कार भैरव पुरस्कार गुठीले पूर्वघोषित तीन स्रष्टालाई प्रदान गरेको छ । गुठीले राजधानीमा एक कार्यक्रम आयोजना गरी स्रष्टाहरूलाई नगद पुरस्कार सहित सम्मान गरेको हो ।
२०८१ सालको भैरव पुरस्कार हास्यव्यङ्ग्यकार लक्ष्मण गाम्नागेलाई प्रदान गरिएको छ । यो पुरस्कारको राशि १ लाख ११ हजार १ सय ११ रुपैँया रहेको छ । त्यस्तै, १ लाख १ हजार १ सय ११ रुपैँया राशीको भैरव वाङ्मय पुरस्कार भाषासेवी एवं वरिष्ठ कोशकार चूडामणि गौतमलाई प्रदान गरियो भने ५१ हजार १ सय ११ रुपैया राशीको भैरव प्रतिभा पुरस्कार वरिष्ठ अभिनय शिल्पी लक्ष्मी गिरीले प्राप्त गरिन् ।
पुरस्कार प्राप्तकर्ताहरूको नाम छनौट गर्न गुठीले साहित्यकार गोपाल बरालको संयोजकत्वमा साहित्यकारद्वय नरनाथ लुइँटेल र हरिकला उप्रेती सदस्य रहनुभएको चयन समिति गठन गरेको थियो ।
पुरस्कृत स्रष्टाहरू मध्ये हास्यव्यङ्ग्य साहित्यमा गाम्नागेको योगदान बारे प्राध्यापक डाक्टर रामप्रसाद ज्ञवालीले प्रकाश पार्नुभएको थियो । त्यस्तै, भाषिक क्षेत्रमा गौतमको योगदान बारे साहित्यकार ज्ञाननिष्ठ ज्ञवालीले चर्चा गर्नुभएको थियो भने कलाकार लक्ष्मी गिरीको योगदानका बारेमा साहित्यकार मेनका पोखरेलले प्रकाश पार्नुभयो ।
सोही अवसरमा वरिष्ठ साहित्यकार एवं पत्रकार विजय चालिसेले भैरव अर्याल नेपाली साहित्यको हास्यव्यङ्ग्य साहित्यको ‘महारथी’ नै भएको धारणा राख्नुभयो । भैरव पुरस्कार गुठीका अध्यक्ष समेत रहनु भएका वरिष्ठ साहित्यकार एवं पत्रकार रोचक घिमिरेले गुठीले हास्यव्यङ्ग्य क्षेत्रमा योगदान गर्ने स्रष्टा बाहेक समग्र नेपाली साहित्य र कलाको उत्थानमा क्रियाशील स्रष्टालाई पनि पुरस्कृत गर्दै आएको जानकारी दिनुभयो ।
सोही अवसरमा साहित्यकार स्वर्गिय रमेश विकलको व्यङ्ग्य रचनामा आधारित कृति ‘अब अगाडि बढ्नु छ, अझ अगाडि’ को दोस्रो संस्करण सार्वजनिक गरिएको थियो ।