• २०७९ असोज १६ आइतबार

जेठा बा

बाबुराम श्रेष्ठ ‘यात्री’ सिन्धुली

बाबुराम श्रेष्ठ ‘यात्री’ सिन्धुली

अनुहार धूमिल पारेर
पिँढीमा बसिरहनु हुन्छ रे
सोचमग्न विचारशील
एक्लो
मनमा कुराहरूको जुलुस बोकेर
लाग्छ सिङ्गो पहाड उभिएको हो
जेठा बा !

पहाडको हरियाली मरेर फुस्रो फुङ्ग उडेझैँ
रूखरहरू विनापात खडेरीले झरेझैँ
सुकेका हाँगाहरू मात्र गलेर हात फैलाएझैँ
वर्षौंदेखि कोहीकोही कुरिरहेझैँ
उदास, हतासको उत्तरार्धमा छ रे
जेठ बा !

पहिलेपहिले यस्तो हुनुहुन्न थियो रे
गाउको इमानदार कर्तब्यनिस्ट सिपाही
एउटा सिङ्गो खम्बा
कसैको दुःखमा दुःख बाँड्ने
कसैको सुखमा सुख साट्ने
गाउँको मियो
उहाँको चाल
उहाँको मान
उहाँको सान
उहाँको हँसाइ
उहाँको बोलाइ
उहाँको हिँडाइ
बिछट्टको हँसिलो, रसिलो, भरिलो अनुहार बोकेर
सबैको प्यारो हुनुहुन्थ्यो
आज बाका थाकेका आँखाहरूले
सोध्न खोजेको प्रश्न
मौन लामो आख्यान हो
बाका मुजामुजा परेको अनुहार
कुप्रिएको सिङ्गो जीवनी- किताब हो
यस किताबमा धेरै अटाए
तमाम स्वस्नी, छोराछोरी, आफन्तजन
जो घुमिरहेछ
देश- विदेश आफ्नै बा बिर्सेर लगातार
उहिले मलाइ पिठ्युँमा बोकेर हिँड्नु भो
हट घोडा हट भन्दै
आफ्नै इच्छाहरू मारेर
मेरा हर इच्छाहरू पूरा गरेर
लक्का जवान बनाउनु भो
बदलामा दिने केही छैन मसँग
विदेशिनु सिवाय
एउटा सियो बन्दै मेरो देशमा
संस्कार यति विकृत भो
जहाँतहीँ
हरेक घर, आगन, चोक, बजार, गाउँ, सहर
मलाई असम्भवझैँ लाग्छ
सभ्यताको वीजारोपण गर्न
जसै फेरि तिम्रो फेरिएको अनुहार हेर्न
जेठा बा !

मन छ तिम्रो फेरिएको अनुहार पढ्न
तिम्रो आँखाको डिलमा राज गर्न
तिम्रो भागेका खुसीहरू सँगाल्न
र हामीले हिँड्ने तारेखेत
हामीले पौडने बुधरीखोला
हामीले टिप्ने ऐसेलुका स्वादहरू
हाम्रो वनपाखामा गम्कने आवाजहरू
घनिभूत पार्न स्वर्गझैँ लाग्ने टाकुरीमा
परदेशबाट फिर्ती हुन्छ छोरो
समयलाई जितेर
पर्ख जेठा बा !


(लामो समयदेखि सिर्जना क्षेत्रमा सक्रिय ‘यात्री’ को ‘देश स्वप्न’ नामक कविता–सङ्ग्रह प्रकाशित छ)
[email protected]