• २०८१ बैशाख १४ शुक्रबार

लोकेन्द्र बञ्जाराको गजलसङ्ग्रह ‘पलक’ लोकार्पण

लोकेन्द्र बञ्जाराको गजलसङ्ग्रह ‘पलक’ २०८० जेठ २७ गते शनिबार लोकार्पण भएको छ । सिटिम्याक्स हलमा भएको उक्त कार्यक्रममा प्रा. डा. कृष्णहरि बराल, गजलकार ललिजन रावल, गजलकारहरू क्रमशः बाबु त्रिपाठी, भरत पौडेल र लोकेन्द्र बञ्जाराले कृति लोकार्पण गरेका थिए । कार्यक्रमको सहजकर्ताका भूमिकामा रहेका गजलकार बाबु त्रिपाठीले वक्ताहरू क्रमशः प्रा. डा. कृष्णहरि बराल र गजलकार ललिजन रावललाई गजललेखनको विगतदेखि वर्तमानसम्मको अवस्था र पलकभित्रका गजलका शक्ति र सीमाका सम्बन्धमा प्रश्न गरेका थिए ।

प्रा. डा. कृष्णहरि बरालले गजलको सिद्घान्तका बारेमा धारणा राख्दै पलकभित्रका गजलहरू मार्मिक र ध्वन्यात्मक रहेको विचार प्रस्तुत गरे । नेपाली जनजीवनलाई नजिकबाट नियालेर लेखिएका बञ्जाराका गजलमा विषयको विविधता रहनु उनका गजलको शक्ति हो भन्ने विचार व्यक्त गरे ।समालोचकका आँखाबाट हेर्दा पलकभित्रका गजलहरू स्तरीय रहेका र केही गजल लयगत रूपमा अझै मिलाउन सकिने धारणा बरालको रहेको थियो ।

अर्का वक्ता गजलकार ललिजन रावलले बहुलवादी समाजमा हरेक लेखकले आआफ्ना शैलीमा गजल प्रस्तुत गर्न सक्छन् भन्ने धारणा राखेका थिए । ‘गजलमा बाढी आएको’ भन्ने उक्तिलाई सम्बोधन गर्दै रावलले भने, ‘बाढीले माछा र भ्यागुता दुवै ल्याउन सक्छ, हामी गजल लेख्नेले माछा चिन्न सक्नुपर्छ भन्ने विचार प्रस्तुत गरे । लयको व्यवस्थापन नै गजलको बहर हो भन्दै नेपाली गजल साहित्यमा आएको नयाँ गजलसङ्ग्र ‘पलक’ पठन योग्य कृति रहेको विचार व्यक्त गरे । लेखक लोकेन्द्र बञ्जाराले केही गजल वाचन गरी कार्यक्रमको समापन गरेका थिए । गजलसङ्ग्रह ‘पलक’ लाई पेज टर्नर प्रा.लिले बजारमा ल्याएको हो ।