वसन्तवेला

काठमाडौँ
रगतको क्यान्सरबाट पीडित कवि नवराज न्यौपानेको कविता संग्रह ‘सपनाका लहरहरू भाग ३’ सार्वजनिक भएको छ। शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमबीच पुस्तक विमोचन गरिएको हो । न्यौपानेले क्यान्सरसँग लड्दै अस्पतालको बेडमै उक्त पुस्तक लेखेको जनाएका छन् ।
पत्रकार तथा लेखक विमल नेपालले सहजकीरण गरेको कार्यक्रमको शुरूआतमा कवि नवराजका काका हरिकृष्ण न्यौपानेले उनका कविता संग्रह ‘सपनाका लहरहरू भाग १, २ र ३ बारे जानकारी गराएका थिए। वैदेशिक रोजगारीको सिलसिलामा कुवेतमा बोनम्यारो (रक्त) क्यान्सर भएका नवराजको हालको अवस्थाबारे जानकारी दिए ।
सो अवसरमा कवि नवराजले आफ्ना कविता तथा गीत लेखनका अनुभव र भोगाइहरू सुनाएका थिए। उनले आफ्ना दुई वटा कविता सुनाउँदै सबैलाई भावुक बनाएका थिए। कुवेतबाट डाक्टरले आठ महिना मात्र बाँच्छ भनेर पठाए पनि आफ्नो मनोबल कडा भएकाले २ वर्षसम्म केही नभएको र उपचारमा सहयोग गर्ने अनुस्प्रध ब्यान्डसहित सहयोगीलाई जीवनभर नबिर्सिने बताए । अर्को पुस्तकको तयारीमा लागेको र क्यान्सरले नै आफूलाई कवि बनाएको नवराजको भनाइ छ।
कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका पूर्व पर्यटनमन्त्री अरुण नेपालले कवि नवराजजस्ता गम्भीर रोग लागेका नागरिकका लागी सरकारले नै विशेष योजना ल्याउनुपर्ने बताए। नवराजलाई स्थानीय सरकारले गर्न सक्ने सहयोगका लागी आफू तयार रहेको सुनकोशी गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमल्सिना बताए ।
लेखक तथा पत्रकार दामोदर न्यौपानेले साहित्यमार्फत सामाजिक योगदान गरेका कविलाई सबैले सहयोग गर्नु पर्ने धारण राखे । अग्रज साहित्यकार चन्द्रप्रसाद न्यौपानेले कवि नवराजको मनोबल उच्च भएकाले उनको जीवन रक्षाका लागी सबैले सहयोग गर्नुपर्ने बताए ।