• २०८१ श्रावाण ११ शुक्रबार

बद्लँदो मारुनी नृत्य

इन्द्रबहादुर राई

तस्बिर : कुमार आले

‘बद्लँदो ’ शब्द शीर्षकमा देख्तै विरोध गर्ने होलान् कतिले, जिज्ञासा देखाउने छन् कतिले । कुरा केही केलाउन मन लाग्यो आज नेपाली गीत र नाँचको पुस्तक एउटा हेर्दा ।

नेपाली लोकगीतसम्बन्धी अधिकसङ्ख्यक लेखहरू, पुस्तकहरू आजसम्म साहित्यिक अध्ययनहरू नै छन्, धेर साहित्यिक लेखकहरूले नै लेखेका । लोकजीवनका कति पक्षहरू देखाइदिँदै नेपाली लोकगीततिर ध्यान प्रथम आकर्षित गरिदिए उनीहरूले नै । लोकपक्षहरूमा नेपाली जातीय तथा राष्ट्रिय पक्षहरू पनि चिनाउन पुगे कैले ता– लोकजीवन र जातीय जीवन एकै हुन्, चिनाउन खोजेझैँ । यस्तो चिनाइदिनु कतिसम्म सही होला, यो विचारणीय हो । लोकगीतहरूको साहित्यिक अध्ययनले अझै कति थोक देखाइदिन सक्ला, अब तर साहित्यिक अध्ययनमा थप्नुपर्छ नेपाली लोकगीतहरूको व्याकरणिक अध्ययन । लोकगायन र नर्तनका छन्द, ताल, लय, मात्रा, बोल, भाका राग, सुर, विधि आदि केलाउने अध्ययन निकै गरिएको लेख सु.वि. शाहज्यूको पढ्नपाएको थिएँ । त्यस लेखका कति कुरा सम्झँदै यहाँ एक–दुई कुरा जोड्छु ।

भदौदेखि मङ्सिरसम्म चार महिना हो÷थियो मारुनी नाच्ने समय । यै बेला पाङ्दुर (कोदो) पाक्ने र मारुनी नाँचलाई पाङ्दुरे नाच पनि भने कतिले । तर मेलापात, पूजा–आजा, बिहाबटुल जहीँ र जैले पनि यो नचाइँदै आएको पनि छ, र यसले बद्लन मानेको छ । कुरा के भने, अघि मारुनी नृत्य थियो विधि–विधानसहितको धार्मिक, सामाजिक अनुष्ठान (जीवित संस्कृति) । केही पछि बन्छ सामाजिक–सांस्कृतिक आयोजन (संरक्षित संस्कृति) । अझ पछि बनेको छ सांस्कृतिक कला । धार्मिक–सामाजिक अनुष्ठानको लोकनृत्य छ घाटुनाच आज पनि । गीति–नृत्यकथामा जब अन्त्यमा राजापतिको शवसँगै रानी घाटमा चितामा जल्छिन् सारा गाउँवासी शोकित घाटमा पुग्छन् । मारुनी नृत्य नै पनि नेपालतिर अझै सरस्वती र नाट्येश्वरीको थानमा पूजा गरेर थालिन्छ, मादल ठोक्न लाइन्छ (मादल तीनपल्ट ठोकेर थानमा राखिन्छ), राषी त्यहीँ गाइन्छ । भारतपट्टि चाडपर्वहरूमा र मञ्चहरूमा सांस्कृतिक कलाको रूप लिएको छ मारुनी नृत्यले ।

नेपालमा गाउँहरूको आफ्नो–आफ्नो मारुनी नाँचको ‘गर्रा’ हुन्थ्यो– गीत र नाचमा भाग लिनेहरूको समूह– प्रत्येक घरले त्यसमा भाग लिनैपथ्र्याे । गर्रामा हुन्थे गुरु (गुरुबाबु र गुरुभाइहरू), पुरुसुङ्गे एकजना, मारुनी ६ जनासम्म (एक नाचमा पुरुसुङ्गेको दायाँ–बायाँ वा अघि–पछि ४ जना मात्र नाच्ने), ढँटुवारे एक, मादलेहरू ४–५ जनासम्म र गर्राको पछिल्लो भागमा बसेका गिताङ्गेहरू । मारुनी नर्तन गायन दललाई ‘गर्रा’ भन्न सक्छौं अब पनि, तर यता गुरु नभई निर्देशक भएका; उताको मारुनी नाचको एक मूल चरित्र पुरुसुङ्गे पनि नभएका । पुरुसुङ्गे ढँटुवारे होइनन्, मारुनीहरू राधा वा गोपिनीहरू हुन् भने पुरुसुङ्गे उनीहरूका ‘पुरुष’ वा कृष्ण थिए । मारुनी नाचमा गुरुपछि स्थान पुरुसुङ्गेको थियो । हामीले मारुनी नाच भारतपट्टि ल्याउँदा पुरुसुङ्गेलाई ल्याएनछौँ, आएनन् । यता अब ढँटुवारे पनि छाडिँदै गएको छ, बद्लँदो मारुनी नृत्यमा । केटा नै सिँगारिएर मारुनी नाच्थ्यो अघि, केटीहरू नै अब सुन्दरी मारुनी देखिन्छन्, सुन्दर नाच्छन् । मादल बजाउन जान्ने मादले हो तर पूरा मादले त्यो हो जसले मादल बजाउँदै नाच्न पनि जान्दछ । गीत गाउनसक्ने गिताङ्गे हो तर लोकगीत गाइमा खास गिताङ्गे त्यो हो जसले गीतहरू कथ्दै गाउँदै गर्नसक्छ ।

मादलमा मारुनी नाचेकोलाई नै भन्नुपर्ला मारुनी नृत्य ? यस परिको सजिलो चिनाइभित्र ढुकेर बसेको छ एक–दुई अप्ठ्यारो । मारुनीबिना मादलेहरू वा अरूहरू मात्र नाचेको ‘ठाडो नाच’ लाई अचेल ‘मादले नाच’ भन्दैछन् । मादलमा गाएकोलाई ‘मादले गीत’ भनेझैँ । मादल वाद्यको वादनले मात्र मादल नामकरण नभई मादलमा सामान्यतः बजाइने ताल नै वा गाइने राग नै, गीत नै पनि हुँदा भएको होला यस्तो नामकरण । तर मादलमा नयाँ तालहरू बजाउन नसकिने, नयाँ रागहरू गाउन नसकिने होइन । र पुराना ताल र रागहरूलाई नै मात्र मादले भन्न पनि मिल्दैन । फेरि मादलका बोलहरू अन्य वाद्यहरूमा पनि निकाल्न सकिन्छ नै । अरू वाद्यमा झिकिएका ती बोललाई पनि मादले भन्नु ? हो, मादले भनेर चिन्न र चिनाउनै मन लाग्छ । परम्परागततासित यसरी पनि युक्त हुँदो रहेछ लोकसङ्गीत । मादल र मारुनी नै रहे मारुनी नृत्यका आखिरकार दुई तत्व भन्नलाग्दा परम्परागत गीत, राग, ताल, गायन, नर्तनको तात्विक आधारिकता पनि उत्तिकै देख्छौँ । मादल बज्ने र मारुनी नाच्ने सबै नाचलाई मारुनी नाचअन्तर्गत पार्दा स्वतन्त्र रहेका कति नेपाली नृत्यहरू थिचिइने पनि छन् । मादलमा मारुनी नाच्दै ‘मारुनी नृत्य’ को पृथक विशेष परम्परा छ । मारुनी नृत्य छुट्टिन्छ त्यो परम्परा । अरू कति बुँदाको गहनतर सैद्घान्तिक केलाई हुनु छ ।

मारुनी नृत्य अभिनयात्मक वा अभिव्यञ्जनात्मक नृत्य छैन । चरित्रानुरूप वेशभूषा हुँदैन मारुनीको, न गाउँछ नै आफ्नो भाव उसले । वादनको तालहरू मात्र ऊ आफ्नो चालहरूले नाच्दै जान्छ । कथात्मक भावप्रकाशी गायन र अभिनयसँग आबद्घ नर्तनको सौन्दर्यपरकता छ मारुनी नृत्य । भावप्रकाशन होइन भावोत्पत्तिलाई, विवरण होइन अनुभवनलाई र गेय विषयसित होइन गायन कलात्मकतासँगसँगै नाच्छ मारुनी नृत्य । मादलको बोल र गीतको भाकाको सामञ्जस्यमा नाच्छ मारुनी नृत्य । एकान्तरणले पनि मार्मिक नाच्छ । ‘फत् धीं तां’ छ मात्रामा मादलको उठान बज्दा मात्र श्रोताहरूमा उत्सुकताको उद्भवन भएकोमा नेपाली वैशिष्ट्यको अलाप ‘ह ह ह…हो’ गिताङ्गेबाट सुनाइन्छ । ‘हो…’ मा मारुनी छपक्क बसेर फेरि हात–चालसित विस्तार उठ्छ । झ्याउरे–मा टुक्का गीत गाइसकेपछि मात्र बोल्छ मादल र सँग–सँगै थालिन्छ मारुनीको चाल ।

मादलमा गायनको आफ्नै मार्मिकता छ । सोरठीे–मा घर फर्केका योगी राजाले आँगनमा बल्ल वास पाई धुनी लगाई गाउँछन् ः
हाँसी लाउँला हो पिरती
रोई छुट्यो माया ।।

मादले गिताङ्गेले र गिताङ्गेहरूले यो एउटै चरण कति दोहो¥याउँदै भित्र स्वरान्तरहरूमा भित्र शब्दहरू किटी, गायनकै आनन्द पनि, घरिघरि गाउँछन् । बारम्बारको दोहो¥याइ लोकगायनको आनन्दित सौन्दर्य हो ।

लोकगायन र लोकनर्तनको सौन्दर्यबोधन (इस्थेटिक्स्) अर्कै हुन्छ । लोकगीतहरूमा पनि पात्रहरूका भाव र भाषा चरित्रअनुरूप वा सामाजिक श्रेणी आनुसारिक हुँदैनन्, सधैँ लौकिक हुन्छन् । वास माग्न आएका योगीवेश राजालाई नचिनी महारानीसँग राजकुमारीले होइन, भाउजूसित नन्दले भन्छिन् राजवर्गीय भाषामा होइन, लोकवर्गी बोलीमा, राजकीय मन्त्रण होइन, जनसाधरणीय शङ्का ः
हातै र पाउ हेरूँ धुसरो र फुसरो
आङैमा हेरूँ बगम्बरु छालो
सिनर जोगी पन्छीलाई भाउजे नदिउँ गृहे बास ।।

पन्ध्र वर्षजति अघि १९८२ मा होला, केरलाको त्रिचुरमा एक रातभरि कथकली हेरेपछि, कथकली मणिपुरी ओडिसी सबपछि शास्त्रीयकृत गरिएका अघि लोकनृत्य नै थिए जानेपछि, दार्जिलिङमा आएर सभा गरी, ‘हाम्रो भाषा’ पत्रिकामा छापेर पनि, मारुनी नृत्यको पनि त्यसरी शास्त्रीयकरण हामीले गर्नसक्नुपर्ने बताएको थिएँ । सैद्घान्तिक विश्लेषण, व्याकरणिक अध्ययन र अभ्यास नबढेकोले त्यो अझ हुनसकेको छैन । आशा नमारौँ ः नेपाली शास्त्रीय मारुनी नृत्य, विभिन्न शैली समेटिएको, कहिल्यै नहुने रहेछ भनेर ।

मारुनी नृत्यको कार्यक्रमहरू, तीन दिने, दुई दिने वा एकै दिने पनि जब राख्छौँ आरम्भमा सधैँ शषी गाइयोस्, अन्त्यमा सधैँ कार्यक्रम सेलाउन शेष गाइयोस् । शषीमा मारुनीले (र अरू नटले) पहिरन गहना टीका लाउँदै जाऊन्, शेषमा त्यसरी उतार्दै जाऊन् । मारुनी नृत्यको मञ्चमा यसभन्दा सुन्दर आरम्भ र अन्त्य के हुनसक्छ ? –पूर्वपुरुषहरूले सिर्जिराखिदिएको सांस्कृतिक यस योजनाभन्दा ।
इन्द्रबहादुर राईको ‘समयाङ्कन दैनिकी’– (सन् १९९७ मा प्रकाशित) पुस्तकबाट साभार