म न्याय माग्छु,
ऊ भिख सम्झेर हात हल्लाउँछ
म कठघरामा उभ्याउँछु,
ऊ जस्केलाबाट स्वतन्त्र
पखेटा हाल्दै उडाउँछ
म स्वयम् न्यायबाट पीडित हुँ
उसले उल्टै दोषी मलाई ठहराउँछ
म चिन्तन गर्छु,
मेरो कमजोर न्यायको
पक्षलाई केलाउँछु
ऊ ममाथि मजाक सम्झिँदै
विधि र विधानको धज्जी उडाउँछ
ऊ शक्तिको प्रदर्शन गरी
कानुन कठपुतलीझैँ नचाउँछ
म समयको पावन्दीमा छु
ऊ समयलाई अँठ्याई बन्धनमा राख्छ
म अग्निपथमा हिँड्न विवश छु,
ऊ अग्निको समागममा लिप्त छ
म वेदनाले व्यथित भै छट्पटिन्छु,
ऊ मदहोसले परितृप्त हुन्छ
म अचानो भैदिन्छु,
ऊ पटकपटक मार हानिरहन्छ
म लौहपिण्ड भएकोछु,
ऊ द्रावित भइरहेछ
म जलमग्न छु,
ऊ समुद्र सुकाउदै सुख्खा बनाउँछ
मलाई आगोमा हाल्दै
ऊ घनले पटक पटक ठोक्छ ।
म निर्वाक भै बाँचेको छु,
ऊ तर्कशील भैदिन्छ
म निःशब्द छु,
ऊ शब्दकोशै बनिदिन्छ
मलाई अफसोस छ जिन्दगीदेखि
ऊ निस्फिक्री
अराजकतामा रमाउँदैछ
म न्याय माग्न हात फिजाउँछु,
ऊ विधान हातमा नचाउँछ
लाग्छ ऊ स्वयम् कानुन हो,
युगौँयुगदेखि कुकर्म र अधर्म
उसका मित्र र खेलौना हुन्
म गङ्गाजल, तुलसीजलजस्तो पवित्र
घिनलाग्दो नीतिबाट टाढा बस्न खोज्छु
ऊ बारम्बार फोहारी शासन लाद्दै जान्छ
म भन्छु- ‘समयले निरन्तर पुरस्कार त पक्कै नदेला’
ऊ समयलाई नै रोकाउँछ ।
उसका शक्तिशाली कृत्य देखेर,
म अवाक्क हुँदै मौनव्रत बस्न खोज्छु
ऊ बेजोडले निर्लज्ज हाँसो छोड्दै
मौन भङ्ग गराउँछ
थाहा छैन,
जित उसको हुन्छ या
मेरो !
सबै समयका हातमा जिम्मा लगाएकोछु
न्याय पाउने आशमा
सास सकिएर लास पनि सडेर शवगृहमा
प्रतीक्षा गरिरहेछ ।
(दहाल सक्रिय साहित्यकार हुन्)
[email protected]