पोखरामा सिटि वन टेलिभिजनमा कार्यरत अनिषा श्रेष्ठलाई रामा यादव पत्रकारिता पुरस्कार दिने घोषणा गरिएको छ ।
गत वर्ष वैशाख २८ दिन कोरोना संक्रमणले मृत्यु भएकी रामादेवी यादवको स्मृतिमा रामा यादव पत्रकारिता पुरस्कारको स्थापना गरिएको हो । मृतक यादव रौतहटको गौरबाट सञ्चालित रेड टेलिभिजनको संस्थापक थिइन् ।
जयरामा मिडिया प्रालिद्वारा गौरमा यादवको पहिलो वार्षिक पुण्यतिथिको अवसरमा आयोजित पुरस्कार घोषणा कार्यक्रममा प्रालिका अध्यक्ष जयप्रकाश यादवले उक्त पुरस्कारको घोषणा गरेका हुन् । पुरस्कारको राशी २६००१ रुपैया रहेको जनाइएको छ ।
टेलिभिजनमा कार्यरत अनिषा श्रेष्ठ स्वास्थ्य लगायत विभिन्न क्षेत्रको रिपोर्टिङ कार्यमा निरन्तर क्रियाशील रहेको आयोजकले जनाएको छ । हरेक प्रदेशबाट महिला पत्रकारको नाम सिफारिश भएर आएको र निर्णायक समितिले श्रेष्ठलाई पहिलो पुरस्कार दिने निर्णय गरेको जनाइएको छ ।
स्थानीय तहको चुनावको परेकोले केही समयपछि काठमाडौँमा कार्यक्रमको आयोजन गरी पुरस्कार हस्तान्तरण गरिने पुरस्कार संस्थापक जयप्रकाश यादवले जानकारी गराएका छन् ।