विश्व कविता दिवस
काठमाडौँ ।
एपेक नेपालले भारतका चर्चित गजलकार दिलदार देहल्वीको सम्मानमा दिलदार देहल्वी साँझ,नेपाली गजलकारमाझ कार्यक्रम गरेको छ । कवि, गजलकार एवं गीतकार वसन्त चौधरीको प्रमुख आतिथ्यमा आइतबार साँझ राजधानीमा उक्त कार्यक्रम आयोजित भएको हो । उक्त कार्यक्रममा देहल्वीले’किसी तौर कोइ बहाने तो आ मोहम्बत नही दिल दुखाने तो आ’ लगायत आधा दर्जन गजल पेश गरेका थिए ।
कार्यक्रममा वसन्त चौधरीले ’रोज अन्दाज नयाँ हुस्न ने दिखलाया हे’ लगायत केही थान गजल सुनाए । साँझ ढल्दै जाँदा गजलको महफिल पनि झन जम्दै थियो । यसैक्रममा घनेन्द्र ओझा भन्दैथे, ’यस्तो जुलुम नगर्नु दोषी म बन्न सक्छु ।’ इम्तिहाज बफा के कम,’बस यहि सोच के हम और भी घबराने लगे’ लगायतका अन्य गजल पस्के । जय पौडेलले ’मन थियो एउटा मसंग बाँकी त्यो पनि उनलाई दिएर आएँ’ भन्ने गुनासो गर्दै थिए । साँझ धमिलिंदै थियो अध्याँरो भएर । गजलकारहरु निरन्तर गजल पस्केर माहौल जमाउँदै थिए । यसै क्रममा विन्टु केसीको पालो आयो । गजल सुन्दा यस्तो लाग्थ्यो गुनासा नै गुनासाले मन भरिएको छ । तर पनि उनी भन्दै थिइन,’गुनासोलाई थाती राखी बात गरौं।’ शान्ति शर्माको गजल उस्तै बेजोड थियो । रवि प्राञ्जल गुनासो गर्दै थिए,’कागज भए मजबुद हुन्थें फलाम भएर गल्ती गरें’ ।
सानो तर उल्लेख्य गजलकारहरुको जमघट । माहोल उल्लासमय थियो । धिरेन्द्र महर्षी पनि के कम उनले हामी सबैको दैनिकी बनेको मोबाइलमाथि गजल प्रहार गरे, ’मेरो साथी मोवाइलले जे कुरा नि जान्दोरैछ ।’ सामयिक थियो उनको गजल । रुपक बनवासी, प्रेम प्रमोद ढकाल लगायतले पनि गजल पेश गरेका थिए । कार्यक्रममै जीवनमा सधैं दुःख आएको भन्दै सुख पाउने कहिले भन्दै गजल वाचन गरे,’दुःख मात्रै साथ आयो यो खुशी चाहिँ कहिले आउँछ’ भन्दै थिए करुण थापा ।
प्रमुख अतिथि चौधरीले दिलदारसंगको मञ्च साझा गरेको एक दशकभएको स्मरण गर्दै भने,“दिलदार जस्ता छन्,लेखनीमा उस्तै राम्रा लेख्छन् र त्यतिनै राम्रो बोल्छन् ।“ जिन्दगी माग्दैमा सकिने भन्दै उनले भने,“कहिले आफन्तसंग प्रेम माग्छौं,कहिले उपरवालासंग दुवा माग्छौं । राम्रो काममा मेरो तर्फबाट साथ,समर्थन र सहयोग रहनेछ ।“ यसअघि एपेकका कार्यकारी निर्देशक,कवि राजेन्द्र शलभले समेत मन्तव्य राखेका थिए । सोही कार्यक्रममा देहल्वीलाई दोसल्ला र सम्मानपत्र सहित अभिनन्दन गरिएको थियो । कार्यक्रममा गजल बाचन गर्नेहरुलाई सम्मानपत्र प्रदान गरिएको थियो ।
सभाध्यक्ष, आयोजक संस्थाका अध्यक्ष विश्वविमोहन श्रेष्ठले एपेक नेपाल विगत २७ वर्षदेखि समकालीन साहित्यका क्षेत्रमा विभिन्न विचारबिमर्श सहितका कार्यक्रमहरुमा अविरल लागिरहेको जानकारी दिए । उनले चैतमा वार्षिक उत्सवमा गजलको एक कृति पुरस्कृत हुने पनि बताए । कार्यक्रमको सहजीकरण धिरेन्द्र महर्षीले गरेका थिए ।
