अक्षरङ्ग–वार्ता
पल्लाघरे आन्टी
बिहानै कौसीदेखि बाटोसम्म
झाडु लगाउँथिन्,
सँगसँगै बर्बराउँथिन्-
“यो टोलमा
कसैले कुचो छुँदैन,
म एउटी छु,
अरू बिहानभरि सुत्छन् !”
एक दिन
पल्लाघरे आन्टीको घरमा
कुचोको आवाज सुनिएन ।
त्यो दिन मेरो निद्रा पनि
खलबलिन पाएन ।
भोलिपल्ट बिहानै
कौसीमा आएर सुनाउन थालिन्-
“मेरा बूढा विदेशबाट आएका छन्,
छ–सात वर्षपछि !
अब बिहान कसैले बोलायो भने पनि
रिस उठ्छ,
हल्ला र आवाज केही मन पर्दैन !”
पाँच-छ वर्षपछि
छोराको बिहे गरिन् ।
घरमा नयाँ मान्छे देखिएन ।
मेरो जिज्ञासा बुझेर
आफैँ भन्न थालिन्-
“केटाकेटी दिनभरि
अफिस र घरको कामले थाक्छन्,
बिचरा !
जे भन्नु छ, मलाई भन्नुस्,
उनीहरूसँग समय छैन ।
बिहान त निदाउन दिनुपर्छ नि !”
म छक्क परेँ ।
आफ्नो घरमा पैसा भित्र्याउने भएपछि
अर्काकी छोरी भए पनि
कति माया लाग्ने रहेछ !
छिमेकीले कमाएको पैसा
न आफ्नो हुने,
न निदाउन दिएर केही पाइने !
२. सानो बेलाकी संस्कारी आन्टी
एक दिन आन्टीले
मेरी आमासँग सोधिन्-
“दिदी, छोरीहरू खै ?”
आमाले भनिन्-
“जाँच छ रे,
रातभरि पढेका थिए क्यारे,
अहिले बिहान सुतेका छन् ।
सुतून् बिचरा !”
आन्टीले मुख बिगार्दै भनिन्-
“छ्या, त्यसरी मत्याएर हुन्छ ?
यसो कुचो लगाउन,
लिपपोत गर्न,
गाई पाल्न सिकाउनुपर्छ ।
बरु दूध त खान पाइन्छ,
त्यो किताबले खान दिन्छ ?”
आमाले शान्त स्वरमा भनिन्
“नपढेर मैले कति दुःख पाएँ !
म सबै काम गर्छु,
छोरीहरू पढून् ।”
समय बित्यो,
पच्चीस वर्षपछि-
त्यही संस्कारी आन्टी
मेरी आमासँग गुनासो गर्दै थिइन्-
“दिदी, तिम्रा छोराछोरी
कति ठूला भइसके !
तर मसँग भेटघाटै गर्दैनन् ।”
आमाले सोधिन्
“अनि तिम्रा छोराछोरी खै त ?”
आन्टीले लामो सुस्केरा हालिन्-
“मेरी छोरीको बिहे भइसक्यो,
साना बच्चा छन्,
घर सम्हाल्दैमा भ्याउँदिन ।
छोरा–बुहारी विदेशमा छन्,
दस वर्षपछि आउँछु भनेका छन् ।
आइफोन पठाउँछु पनि भनेका छन् ।”
यति भन्दै फोन निकालिन्
“यी हेर न,
युरोपको सडकमा
कस्तो गाडीमा हिँड्दैछ !
मेरा छोराछोरी असाध्यै ज्ञानी छन्,
तिम्रा जस्ता कहाँ हुन् र !
मैले सानैदेखि संस्कार सिकाएकी,
त्यसैको फल हो नि !”
केही बेरपछि फेरि भनिन्-
“फोन पनि गरेका छैनन् होला नि
तिमीलाई ?
लौ, यो हेर त
मेरी छोरीको टिकटक !
कति राम्री देखिएकी छे !”
आमा चुपचाप सुनिरहिन् ।
म भने सोचिरहेँ-
अरूका छोराछोरीलाई
किताबभन्दा कुचो ठूलो देख्ने आन्टी,
आफ्ना छोराछोरीको तस्बिरमा
संस्कार खोजिरहेकी थिइन् ।
समयले आन्टीलाई बदल्यो कि
आफ्ना सन्तानप्रतिको मोहले
उनको संस्कारको परिभाषा ?
सायद,
आफ्ना सन्तानका कमजोरी
मायाले छोपिन्छन्,
अरूका सन्तानका सम्भावना
पूर्वाग्रहले देखिँदैनन् !
सुशिला शर्मा ‘शिलु’