• २०८१ असार ११ सोमबार

पाँच कविका कविताले कवितात्मक बन्यो इटहरी

डियर कल्याण साहित्य प्रतिष्ठानले सुनसरीको इटहरीस्थित आयोजना गरेको साहित्यिक कार्यक्रममा ५ जना कविले कविता प्रस्तुत गरेका थिए । उनीहरुले ३/३ वटाका दरले १५ वटा कविता प्रस्तुत गरे ।

शनिबार इटहरीमा आयोजित कार्यक्रममा कविहरु भरत गुरागाईं ‘बर्बरिक’, टीका आत्रेय, रेखा सुवेदी, मीनकुमार नवोदित र केशव रिमाल प्रस्तुत भएका हुन् । कार्यक्रममा बर्बरिकले ‘मानवताको कविता’, ‘आमा र कैलीगाई’, ‘दसैं कहिले आउँछ ?’ शीर्षकको कवितावाचन गर्दा आत्रेयले ‘देशको कविता’, ‘कविता कवितामात्र होइन’ र ‘बोक्सी संकल्प’ शीर्षकको कविता सुनाउनु भयो । त्यस्तै सुवेदीले ‘म र तस्बिर’, ‘उज्यालो कुल्चिँदा’, ‘हराएको यलम्बर खोजिरहेछु’ शीर्षकका कविता सुनाउँदा नवोदितले ‘रिटायर्ड जिन्दगी’, ‘बाको झोला’ र ‘बाको कफिन छेऊ अबोध बालकको बिलौना’ शीर्षकको कवितावाचन गरे ।

त्यस्तै अर्का युवाकवि केशव रिमालले ‘रातो र जीवन’, ‘पहिचान’ र ‘दुई किनारमै‘.’ शीर्षकको कविता सुनाए । वाचन गरिएका कविता माथि कवि एवं समालोचक हरि कट्टेलले समीक्षात्मक टिप्पणी प्रस्तुत गरे । उनले वाचन गरिएका सबै कविताले अहिलेको देशको अवस्था बोकेको विचार राखे । त्यसैगरी सोही अवसरमा प्रतिष्ठानले साहित्यकार ईरान राई र सरला चापागाईंसहित पाँचै जना कविलाई सम्मान गरेको थियो । उनीहरुलाई अग्रज साहित्यकार प्राज्ञ खेम नेपाली, आयोजक संस्थाका अध्यक्ष विनोद विवश, उपाध्यक्ष लक्ष्मी श्रेष्ठलगायतले दोसल्ला ओढाएर सम्मान गरे । कार्यक्रमलाई सम्बोधनगर्दै प्राज्ञ नेपालीले साहित्य लेखनले समाजका शोषित, पीडित र सिमान्तवर्गका समस्यालाई उठान गर्नुपर्नेमा जोड दिए ।