• २०८१ श्रावाण ११ शुक्रबार

हिमाल स्वपन संवाद

दीपा राई पुन

दीपा राई पुन

सृष्टिकै उज्यालो ज्योति
औँसीमा पनि टिलपिलाइरहेको
संसारकै शिखरचुलीमा
शिरमा सेतो फेटा बाँधेर
आ- आफ्नो थलोमा गर्वले
अस्तित्वबोधले ध्यान मग्न
बुद्धत्व प्राप्त
शान्त र स्निग्ध
मेरा हिमालहरू
पुर्खाले जोगाइराखेको
आदिम सम्झनाको तस्बिर
म साँझ- बिहान आँखा मिच्दै हेर्छु
कुनै वेला
म सानो छँदा
कोप्पा भन्नु हुन्थ्यो-
बिहानै झुल्केको घाममा
टल्केको हिमाल देखाएर
जीवन त्यसरी बाँच्नु्पर्छ
अन्तस्करण प्रज्ज्वलित भएर
आदिमपुर्खाको बस्ती हो त्यो
जहाँबाट हामी फैलियौँ
हेर त नानी
हाम्रो मन हिमालजस्तै निश्चल छ
समयको चोट खपेर
कैयौँ चोट सहनलाई
हिमाल हाँसेकै छ हरपल
कसैको ऊ जीवनभरिको सपना

छातीमा कुल्चिएर आउँछन्
र जान्छन त्यसरी नै
संसार झ्याली पिट्दै
हाम्रो आँगनमा टेकेर
हाम्रो माटोलाई छोएर
हाम्रै भूमिमा खुसी भेट्टाएर
जान्छन् अनेकन- अनेकन यात्रु
विपनाका परिदृश्यहरू
दुखेर हृदयभरि
निष्ठुर समयको चुटाइले
हिमाल मौन रोएर
आधामा धेर ग्रहण लाग्दा
उज्यालो खोज्न केटाकेटीहरू
अज्ञात प्रदेश लागेको देख्दा
आफ्नै माटोमा खुसी उमार्ने
कोप्पाको आस्था र विश्वाश टुट्दा
उहाँको कर्मठ हात, पाखुरा, पसिना
चाउरिएको अनुहारबाट शोकले
बलिन्द्र झरेको वर्षाको भेल
सपनाभरि देख्छु
सम्झिरहेछु कोप्पालाई
कोप्पाको आँसुको संवादलाई
विस्मृतिमा टल्किरहने सम्झनाको शीत
धूमिल एउटा पाटामा
कोप्पाको तन बिसाउने ओत
मनको आँगन झलल भएर
उतरमा हाँसेका कञ्चन हिमालहरू
त्यही हेरेर हामी हुक्र्यौं
कोप्पाको सेवापूजा गर्ने ‘बेछुक’
उतै फर्केर मौलाउँथ्यो
घैया र पाङ्दुरे कोदो पाक्थ्यो
हिमालको चिसो हावाले
अन्नबाली मीठो हुन्छ
मन पनि स्वच्छ सफा
पिँढीमा फतफताउनुहुन्थ्यो कोप्पा
समय बिब्ल्याँटो हिँडेर
कोप्पाको तीतेपातीले पनि
शुद्धीकरण गर्न सकेन
प्रदूषणको कालो बादल
हिमाल छाती पिटिपिटी रोएर
आँसुको ढुङ्गा पल्टँदा
कतिको सपना कुल्चिएर
जीवनबाट किनार लाग्दा
कोप्पालाई जागै भेट्छु म सपनामा
प्रकृति रिसाउँदा अनर्थ हुन्छ
बिटुलो के गर्यौ तिमीहरूले
बित्यास आइलाग्यो यहाँ
वर्षौं भयो मेरो कोप्पा
धर्तीमा जुनी काटेर बाटो लागेको
आज पनि उत्तिकै माया छ
कोप्पालाई हिमालको
छिमेकी चारधाम जाँदा
ढोल, झ्याम्टा र भारदार बटुलेर
हिमालतीर्थ जानुहुन्थ्यो
द्यौता त खोला, नाला, पहाड
जङ्गल र हिमालमा बस्छन्
कित् मनमा हुन्छ भन्नु हुन्थ्यो
हिमाललाई माया गर्ने कोप्पा
चट्टानको पहाड सुँकसुँकाएर
उहिले जसरी हिमाल नहाँस्दा
मलाई लाग्छ कोप्पाले
मृत्युको सिकुवाबाट हेरिरहनु
बाटो नपाएर पो हो कि ?


(शब्दार्थ : कोप्पा- बाजे, बेछुक- अदुवा । बाटो नपाउनु- किरात संस्कृतिअनुसार मरेको १३ दिनमा मृतकलाई बाटो लगाएर बाँचेकासँग सम्बन्ध छुटाएको विश्वाश गरिन्छ तर आत्मा अशान्त भए मृतकले बाटो नपाएर यही लोकमा भड्किएको पनि भनिन्छ र फेरि बाटो लगाएर मृतकलाई मुक्ति दिइन्छ ।)
[email protected]
हाल: बोस्टन, अमेरिका