कहिले काँडा भएर घोच्छौ
कहिले फूल भएर फुल्छौ
तिमीलाई के भनौँ मायालु
मेरो मनको आकाशमा
सधैँ जून भएर झुल्छौ
अनुहार चन्द्रमा केश रात छ
एकातिर गीतको सुर तिमी
अर्कोतिर विरहको आघात छ
आँधीहुरी धेरै छन् तर सन्तोष यौटै छ
जीवनमा कहिल्यै नछुट्टिने
हाम्रो न्यानो साथ छ ।
तृष्णा हौ कि तृप्ति हौ तिमी ?
चाहना हौ कि प्रीति हौ तिमी ?
मेरो जीवनको उदास गोरेटोमा
मलाई हिँड्न सिकाउने दीप्ति हौ तिमी
चाहना छ, तिर्खा छ, तिमीलाई भेटने रहर छ
वसन्त छ, फूल छ, तिम्रो रूपको लहर छ
आँखा छन्, दृश्य छन्, रातको अन्तिम प्रहर छ
शरीर छ, अँगालो छ तर पर्खाल बन्ने
यौटा सिँगो सहर छ ।
साभार: तिमीविनाको म (कवितासङ्ग्रह)
[email protected]
(चौधरी विशिष्ट साहित्यकार हुन् ।)