• २०८१ फागुन ६ मङ्गलबार

निबन्धकार ज्ञानेन्द्र विवशको नयाँ निबन्धसङ्ग्रह ‘अर्धकदको अवसान’ प्रकाशित

निबन्ध, नियात्रा, कला र सांस्कृतिक लेखनमा स्पष्ट चिनारी बनाइसक्नुभएका ज्ञानेन्द्र विवशको नयाँ निबन्धसङ्ग्रह ‘अर्धकदको अवसान’ प्रकाशित भएको छ । ‘अर्धकदको अवसान’ निबन्धसङ्ग्रह निबन्धकार विवशको पन्ध्रौँ कृति हो ।

यसमा तीन दर्जन निबन्धहरू छन् । भुँडीपुराण प्रकाशनबाट प्रकाशित ४५० मूल्य रहेको छ । अर्धकदको अवसानले समेटेका विचार–भावनाहरू निकै गम्भीर छन् । ती निबन्धात्मक विम्बमा अवतरित भएका सम्पूर्ण वर्णन–विवरणहरू नेपाली समाजका दस्तावेज हुन् । देश र जनतामा आएका दैवी घटना तथा राज्यसत्ताले जनतालाई दिनुपर्ने तत्कालीन र दीर्घकालीन सेवाप्रति भनाइ र गराइमा भएको विभेद आदि हाम्रै मनलाई स्पर्श गर्न आउँछन् । यिनमा तथ्यपूर्ण शब्द–तथ्याड्ढहरू छन् ।

वरिष्ठ संस्कृतिविद तथा निबन्धकार तेजेश्वरबाबु ग्वंगले भनाइ यस्तो छ- ‘ज्ञानेन्द्र विवशका निबन्धले वरण गरेका र गर्न खोजेका भाव कलामय संरचनामा सम्प्रेषित हुनु र तिनले पाठकका मनलाई पाठकीय आनन्द प्रदान गर्न सक्नु ठूलो उपलब्धि हो भन्ने मलाई लाग्छ । अर्धकदको अवसान निबन्ध सङ्ग्रहभित्रका निबन्धहरू पढिरहँदा म आफैले पनि यस्तो महसुस गरेको  छु ।’ नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठले व्यक्त गर्नु भएअनुसार – ‘निबन्धको उत्साहहीन तथ्याङ्कमा पनि निबन्धकार ज्ञानेन्द्र विवश निरन्तर अभियानमा लागिरहनुभएको छ । जुनैै विषय र सन्दर्भका निबन्धमा पनि उहाँको अध्ययन र अनुभवका विविध प्रसङ्गहरूले निबन्धहरू हार्दिक, बौद्धिक, कलात्मक र तर्कपूर्ण बनेका छन् । प्रकृति, जीवन भोगाइ र समाजका सूक्ष्म यथार्थलाई निबन्धहरूले जागृत गराउने प्रयास गरेका छन् । ‘सुन्दर प्रकृतिका सौन्दर्यमा लेखकीय संवेदना तीव्र छ । प्रत्येक निबन्धले पाठकीय आकर्षण बटुल्ने र माया पाउने छ भन्ने विश्वाससहित यो पुस्तक यहाँहरूको हातमा सुम्पेका छौं ।’ प्रकाशकीयमा भनिएको छ ।

ज्ञानेन्द्र विवशका प्रकाशित कृतिहरू ‘पीडाका अनुभूतिहरू’ (२०५८), ‘क्यानभासका तरङ्गहरू’ (वि.सं. २०५५), ‘राराकी अप्सरा’ (वि.सं. २०५८), ‘मृत्यु उत्सव’ (वि.सं. २०६०), ‘आकृतिको आवाज’ (वि.सं २०६१), ‘प्रणय र पाइला’ (वि.सं. २०६१), ‘अन्नपूर्णाका विम्बहरू’ (वि.सं. २०७०), ‘प्रसिद्ध अग्रज नेपाली चित्रकार’ (वि.सं. २०७०), ‘प्रसिद्ध नेपाली पौभा कलाकार’ (वि.सं. २०७०), ‘सुन्दरीचोक’ (वि.सं. २०७५), ‘साँखुका सम्पदा र वास्तुकला’ (वि.सं. २०७५), ‘प्रसिद्ध अग्रज कलाकार चन्द्रमानसिंह मास्के’ (वि.सं. २०७६), ‘प्रतिनिधि नेपाली कलाकार’ (वि.सं. २०७८), ‘कलाकार सिद्धिमुनि शाक्य: जीवन र कला’ (वि.सं. २०७८) छन् । यसबाहेक कला, निबन्ध, नियात्रा तथा जात्रासंस्कृति विषयक उहाँका केही पुस्तकहरू प्रकाशोन्मुख रहेका छन् ।