खेल्नुहुन्थ्यो बाबा आमा आफ्नो बेलामा,
गाईबस्तु चराउँदा, हिँड्दा मेलामा…
“गोठेलौरी गोठ जा !
नुनलिन भोट जा !
नुन लग्यो पहिरोले,
छेक्न जा लौरोले !!”
साच्चैँ सानो लौरोले
पहिरो छेक्यो–छेकेन,
पहिरो छेक्यो–छेकेन ?
कसैले नि देखेन !
आज फेरि हाम्रोमा,
जताततै पहिरो छ,
कुरा सुन्दा ठिकै हो,
मर्का भने गहिरो छ !
समस्याको पहिरो यो,
साथी ! वारपार छ,
मेहनती मान्छेलाई
महङ्गीको मार छ,
सत्य कुरा बोल्नेलाई,
खुकुरीको धार छ,
असत्यले जित्छ यहाँ,
सत्य किन हार्छ ?
राजनीति जस्तो लाग्ने
नाङ्लोको बेपार छ,
नेपालीको जीउमा,
सेवा गर्ने निहुँमा,
जुकै जुका सल्केको
पसिनाले मुछेको,
रगत खान पल्केको !
रगतपच्छे देशको,
जताततै घाउ छ,
अझै केही बाँकी होला,
सिध्याउने दाउ छ,
लौ न अब के गर्ने हो ?
चौतर्फी चित्कार छ,
कहाँ गयो लौरो त्यो ?
नुन बोकी आएन ?
दुर्गति यो देशको,
थाहा पायो–पाएन ?
अहिले यस्तो छ, ।
खेल्छन् हाम्रा केटाकेटी आफ्नो बेलामा,
लौरो टेकी, लौरो बोकी हिँड्छन् झोलामा !
भन्छन् उता शहरमा,
लौरो फर्की आयो रे,
बलिया ती काँध माथि,
नुनबोकी ल्यायो रे !
अब हेर जीउ भरि,
नुनैनुन पार्ने रे !
मोटाएका जुकालाई,
घोची–घोची झार्ने रे !
युवाहरू उठाउन्,
लौरोलाई काँधमा,
सुरक्षामा खटियोस्,
लौरो हाम्रो साँधमा,
बुढाबुढी निर्धालाई,
ढुक्कसित टेक्न होस्,
भ्रष्टाचारी पापीलाई,
पुर्पुरोमै सेक्न होस् !
हाम्रै भोट गन्दैछन्,
लौराहरू भन्दैछन्,
“छोड् छोड् बूढा, म अघि जान्छु !”
“छोड् छोड् बूढा, म अघि जान्छु !”
प्राचीन लोकगीत (गोठाले गीत)
“गोठे लौरी गोठ जा ! नुनलिन भोट जा ! नुनलग्यो पहिरोले, छेक्न जा लौरोले !!”मा आधारित समसामयिक गीत
प्रभा भट्टराई आचार्य, काठमाडौँ
[email protected]