२०८औँ भानुजयन्ती विशेष

सुन द्रौपती !
शस्त्र उठाऊ
कलियुग हो
आउँदैनन् कृष्ण यहाँ
बचाउनु छ आफूले आफैँलाई
आफ्नासँग छ यहाँ द्वन्द्व तिम्रो
कतै खेर नजाओस् वाणी तिम्रो
गर तिमी त्यो
जुन कुरूक्षेत्रमा
अर्जुनले गरेथे आफन्तका साथ
आशा नराख दुनियाँसँग
जोगाउनु छ आफैँले आफ्नै साख
झुन्डिनुपर्छ हरेक हात
जुन हात उठेथे तिम्रो चरित्र नङ्ग्याउन
आफैँ चण्डी बनी संहार गर
तिमीलाई धमिल्याउने प्रत्येक रात
जसले गर्न सकेन
सम्मान तिम्रो मान अनि मर्यादाको
सहनुजति
सहि नै सक्यौ
अब भन्ने र गर्ने वेला भो
विलम्ब नगर राक्षसलाई
मार्नु जरूरी भो
गर्नैपर्छ
अब गर अत्याचार नसहने प्रण
पन्छाएर सब लाज डर
आफैँको गर भर
तिमी एक्लै काफी छ्यौ
किनभने
बिचरा हैन तिमी
संसारभरिकी नारी हौ तिमी ।
(अमरिकानिवासी ढुङ्गेल युवा साहित्यकार हुन् ।)
[email protected]