कविता–हिन्दी
काठमाडौँ ।
साहित्यकार एवम् पत्रकार वसन्त पराजुलीको तेस्रो कृति ‘बखान’ माथि हेटौँडामा परिचर्चा भएको छ। नेपाल पत्रकार महासंघ मकवानपुरको आयोजनामा र ऐतिहासिक उपन्यास ‘बखान’ को परिचर्चा गरिएको हो । पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीको अध्यक्षता र मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । अग्रज साहित्यकार एवम् पत्रकार डा. निमेष निखिलले पुस्तकका विविध पक्षमा समीक्षा गरेका थिए । पुस्तकमाथि चर्चा गर्दै निखिलले सरल र वर्णनात्मक तथा विवरणात्मक भाषाको प्रयोग गरी ऐतिहासिक पात्र बखानसिं गुरुङको जीवनी र त्यससँग सम्बन्धित ऐतिहासिक उपन्यास लेखिएको बताए ।
कुनै विषय र सन्दर्भको भित्री तहसम्म पुग्न गहिरोसँग व्यक्ति तथा सन्दर्भहरूको प्रयोग गर्ने विशेषता लेखकमा रहेको उनले बताए । बखानसिंह चितवनमा बस्ती बसाउन अगुवाइ गर्ने तथा चितवनमा नेपालकै पहिलो सहकारी बखान ऋण सहकारी संस्था स्थापना गर्ने व्यक्ति हुन् । उनी २००७ सालको जनक्रान्तिका एक योद्धा पनि हुन् । उनी शाही सेनाको क्याप्टेन थिए । जागिर छाडेर राणाविरोधी क्रान्तिमा होमिएका उनले क्रान्तिकै क्रममा दुई छोरासमेत गुमाएका थिए ।
गुरुङको जीवनका विविध सङ्घर्षमय क्षणहरूको रोचक चित्रणले उपन्यास जीवन्त बनेको समीक्षक निखिलको भनाइ थियो । चित्रसेन बाबाको मन्दिरको कथा, सोमेश्वर गढी तथा त्यहाँको मन्दिरको कथा, उपरदाङ गढीको सन्दर्भ, देवघाटको प्राचीनताको कथा, चितवन राष्ट्रिय निकुञ्जको स्थापना र यहाँ राजपरिवार तथा विदेशीहरूले शिकारका नाममा गरेको जङ्गली जनावरहरूको सिकारको नृशंस कथा उपन्यासमा अनुसन्धानमूलक ढङ्गले समेटिएको निखिलको विश्लेषण थियो ।
त्यस्तै २००७ सालको राणाविरोधी जनक्रान्ति, २०१७ सालमा राजा महेन्द्रले गरेको कु, त्यसपछि नेपाली काङ्ग्रेसको नेतृत्वमा भएको विद्रोह, पुलिमराङदेखि बन्दीपुरसम्मका तत्कालीन सन्दर्भ, चितवनमा बस्ती विकासका प्रारम्भिक दिनको कथा कलात्मक रूपमा बुनिएको भन्दै उपन्यास रुचिकर रहेको उनको भनाइ थियो । उपन्यासमा वर्णनात्मकता र विवरणात्मकता बढी भएकाले साहित्यिक मिठास भने केही कम भएको महसुस हुने समीक्षक निखिलले बताए ।
कार्यक्रमका प्रमुख अतिथि मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले उपन्यासकार पराजुलीले उपन्यास मार्फत आफ्नो जिल्ला चितवन र यहाँका विशिष्ट स्थान तथा ऐतिहासिक सन्दर्भ चिनाउने प्रयास गरेको भन्दै आभार व्यक्त गरेका थिए। सहकारीकर्मी, राजनीतिकर्मीदेखि सबैका लागि उपन्यास पढनीय र सङ्ग्रहणीय बनेको उनको तर्क थियो । कार्यक्रममा पत्रकार महासंघ बागमती प्रदेश उपाध्यक्ष हरि हुमागाईले लेखकको कृतिगत सफलताको शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सुवासचन्द्र बोहरा, महासंघ केन्द्रीय सदस्य नारायण अधिकारी, महासंघ बागमती प्रदेश संस्थापक अध्यक्ष प्रताप विष्ट, महासंघ मकवानपुरका पूर्व अध्यक्ष राममणि दाहाल लगायतको आतिथ्य रहेको थियो । उपन्यासकार पराजुलीका यसअघि ‘कुमाता’ र ‘मोम्चो’ दुई कथासंग्रह प्रकाशित छन् ।
