म त हजार हातहरूले लुटिएको छु
चिम्टिचिम्टी गरेर
पालैपालो वा हारालुछ गरेर
कोही आफ्नै जस्ता हातहरू
कोहि पराई जस्ता हातहरू
कोही अपरिचित हातहरू
आखिर हातहरू त हातहरू नै हुन्
फरक स्वादका खानाहरू जस्तै
यी जन्मेदेखिका चिमोट्याइँहरू !
म एक झिल्को
अन्धकारमा म एक झिल्को !
अन्धकारमै उदाएको
अन्धकारमै हराउने म एक झिल्को !
मेरो उत्पत्ति नै विलयको सुरूवात हो
तर म त
पानी- वाफझैँ उडेर होइन
प्रकाश- टुकीझैँ निभेर होइन
म त हजार हातहरूले लुटिएर
चिम्टिचिम्टी गरेर
पालैपालो वा हारालुछ गरेर
सकिँदैछु !
अन्धकारमा सुषुप्त
निराकार, निर्लिप्त त्यो
उसैको
विभाजित आकार म
एकाकारमा हराउँछु
वा आकारमा भौँतारिन्छु
जसरी भनेपनि
जिन्दगी त्यही हो
तर आकारमा आउनु के छ
नअस्ताउनुसम्म
म त हजार हातहरूले लुटिएर
चिम्टिचिम्टी गरेर
पालैपालो वा हारालुछ गरेर
सकिँदैछु !
त्यसैले त यो संसार सागर हो
हात जस्ता चिम्टाहरूको सागर
चिम्टिचिम्टीमा चिमोटेर सक्छन्,
म भने
सुमसुम्याउने हातहरूको तिर्सनामा
पौडिरहन्छु !
(ढुङ्गाना विगत तीन दशकदेखि काव्यसिर्जनामा कलम चलाउँदै आएका स्रष्टा हुन्)
[email protected]