• २०८१ चैत ३ सोमबार

कथाकार रत्न प्रजापतिको‘रित्तो रथ’कथासङ्ग्रह बजारमा

कथाकार रत्न प्रजापतिको नवीनतम कथासङ्ग्रह ‘रित्तो रथ’बजारमा आएको छ । शिखाबुक्सद्वारा प्रकाशित यस सङ्ग्रहमा ३२ वटा मझौला आकारका कथा सङ्गृहीत छन् । चालीसको दशकदेखि लेखनमा सक्रिय प्रजापति कथा सँगसँगै गीत, गजल र अर्थ–सामाजिक विषयका लेख–निबन्ध लेखनमा पनि उत्तिकै सक्रिय छन् ।

कथाकार प्रजापतिको नवीनतम कथासङ्ग्रह ‘रित्तो रथ’मा सामाजिक, सांस्कृतिक र राजनीतिक विषयवस्तुलाई केन्द्रमा राखेर लेखिएका रुचिकर कथाहरू छन् । प्रजापतिका कथाहरू सामाजिक यथार्थको प्रतिबिम्बको रूपमा आएका छन् । यौन चेतना र सूक्ष्म मनोविज्ञानदेखि राजनीतिक र सामाजिक बेथिति/विसङ्गतिलाई कथामा सुरुचिपूर्ण ढङ्गले केलाइएका छन् । मूलतः मानवीय सम्बन्ध र संवेदना कथाको प्रबलपक्षको रूपमा आएका छन् ।

सङ्ग्रहका धेरै कथामा उपत्यकाको नेवारी संस्कृतिका विविध आयामलाई उतारिएका छन् । उपत्यकाको संस्कृतिको विविध आयामलाई कथामा जोड्नु कथाकार प्रजापतिको निजी विशेषता नै हो । यस्तै विशेषता बोकेका कथा हुन् रित्तो रथ, रङ्गीन बाफ, तेबाचाको फेसबुक स्टाटस, खर्पन, भुलाँ, तलमाथि, अर्कै घरबाट आदिकथाहरू । प्रजापतिका कथा सरल तथा शालीन हुनुका साथै कथामा रहज प्रवाहभएको पुस्तकको प्रकाशकीयमा उल्लेख छ । उनका यसअघि बिसन्चो (२०६१), सेतो बादल (२०६६), बदाम बेच्ने केटी (२०७४) र स्वच्छन्द साँझ (२०७४) कथासङ्ग्रह प्रकाशित छन् ।२८२ पृष्ठको यो कथासङ्ग्रह ‘रित्तो रथ’ को मूल्य रु. ४७५/– रहेको छ ।