क्रान्ति अवश्यंभावी थियो
युगीन क्रान्तिका
स्वरूपहरू
मञ्चमा प्रदर्शन हुनथाले ।
मैले फूलको क्रान्ति सुरू गरेँ
कलमबाट नयाँविचार र चिन्तनको
मुसलधारे वर्षा सुरू भयो
इलियड र ओडिसी
रामायण र महाभारतका
अपूर्व अद्भुत;
युद्ध-प्रेम, सौर्य-सौन्दर्य
घात-प्रतिघात, हिंसा र अहिंसाका
सार्थक र निरर्थक
विस्मयकारी कथा सुनाएँ ।
उसको कप्टीमनले धैर्य गुमायो
तरबारबाट निष्कर्ष खोज्यो
सहकार्यको डोरी छिनायो
बन्दुकमा बारूद भर्न सुरू गर्यो
तरबारमा धार लगाउन थाल्यो ।
नाजुक र लाचार ठानेर
आन्दोलित फूलहरूलाई
कारागारमा बन्दी बनायो
सहयात्रीको
रक्तकुण्डमा नुहाउने सोख पाल्यो ।
तर फूलको मोहक सुवासलाई
कारागारको बाक्लो दिवारले
रोक्न सकेन
तरबारको धारिलो धारले काट्न सकेन ।
बन्दुकको अहङ्कार
र
तरबारको हुङ्कारले
अन्ततः फूलहरूको सामुन्ने
विनासर्त
आत्मसमर्पणको प्रस्ताव राखे
सन्धिपत्रमा हस्ताक्षर भयो ।
वेद, बाइबल, कुरान, त्रिपिटकका पानाहरूमा
थपघटको किचलो टुङ्गियो
धर्मगुरू र राजनीतिज्ञले
साक्षी किनारामा हस्ताक्षर गरे
नयाँ दर्शनको ठेलीमा
सन्धिपत्रका केही पाना हेरफेरपछि
पृथ्वीमा
रङ्गिचङ्गी सुन्दर फूलहरूको
अविनाशीसत्ता स्वीकार भयो ।
(दमक, झापानिवासी ‘उत्स’ चर्चित साहित्यकार हुन् ।)
[email protected]