• २०८१ श्रावाण ११ शुक्रबार

म टपरे !

केशव दुङ्गेल

केशव दुङ्गेल

उसले बोलायो
गएँ
विदा गर्यो
फर्कें
अनि टपरे भन्यो

मैले अङ्ग्रेजी पढिनँ
संस्कृत पढेँ
म विज्ञापनममा भन्दा
ज्ञानमा रमाएँ

ऊ भन्छ
तैँले इलियट र ओडिसी पढिनस्
अनि अल्वर्ट स्वेचरको दर्शन पनि पढिनस्
मात्र तैँले संस्कृत पढिस्
संस्कृत भन्नु रुद्री, चण्डी अनि
कर्मकाण्ड हो
त्यो टपरे भाषा हो
तँ परिवर्तन हुनै नसकेको
सभ्य बन्नै नसकेको
मनुवा

हो,
मैले संस्कृत पढेँ
त्यो भाषा हो
गीता पढेँ
त्यो दर्शन हो
मैले स्वको अर्थ बुझ्न चाहेँ
भाषा ज्ञानको प्रतीक ठान्छौ भने
त्यो भ्रम हो
भाषा
तिम्रो
अनि मेरो
ज्ञानभन्दा बढी माध्यम हो
मैले वसुधैव कुटुम्बकम् भनेँ
ग्लोबल भिलेज भन्यौ तिमीले
सार एउटै हो
मात्र
मेरो स्रोत पाँच हजार वर्ष पुरानो
तिम्रो आधा शताब्दी वयको

उसले अङ्ग्रेजी भट्यायो
सबैलाई लठ्यायो
मैले संस्कृत बोलेँ
ज्ञानका कुरा खोलेँ
ऊ सुसभ्य भयो
म टपरे भएँ ।
…………………………………………………………………………………………………………
(‘नेपाली साहित्यमा सडककविता–क्रान्ति’ मा शोध गरेका ढुङ्गेल २०६२–०६३ को सडककविता–आन्दोलनमा सक्रिय थिए)
[email protected]