• २०८२ पुष ३, बिहीबार

सकियो किताब जात्राको सातौं संस्करण

काठमाडौं ।

किताब जात्राको सातौं संस्करण भाषा, साहित्य, कला, संस्कृति र अभिनयसँगै विविध क्षेत्रबारे गहन छलफलका साथ सकिएको छ ।
पठन संस्कार कम हुँदै गएको भनिए पनि जात्रामा पाठकको उत्साहजनक उपस्थिति थियो ।

ओपन माइकमा कविता सुनाउनेदेखि छलफलका सहजकर्ता र वक्तासम्ममा यो संस्करणमा नयाँ पुस्तालाई उल्लेख्य स्थान दिइएको थियो ।
‘शब्दको शक्ति, शब्दको यात्रा, किताव जात्रा’ मूल नारासहित नेपाल पुलिस क्लबमा सम्पन्न दुईदिने जात्राको उद्घाटन सूचना तथा सञ्चार मन्त्री जगदीश खरेलले गरेका थिए। छैटौं संस्करणमा मिडियाबारे छलफल कार्यक्रममा सहभागी भएका उनी यस पटक प्रमुख अतिथि बनेका थिए ।

पहिलो दिनको किताब जात्रामा अधिकांश सेसनमा जेनजी आन्दोलन र यसले नेपालको राजनीतिमा पारेको प्रभावबारे छलफल गरिएको थियो। कार्यक्रममा समेत नयाँ पुस्ताका सर्जकको बाहुल्यता थियो । कृत्रिम बुद्धिमता अर्थात् एआईले लेखकको कलम खोस्ला कि भन्ने चिन्तासँगै कसरी यसलाई लेखकको कलम बनाउने भन्नेसम्मका बहस पहिलो दिनको जात्रामा भएका थिए ।

साथमा पुस्तक विमोचन, गीत विमोचन, विभिन्न सांस्कृतिक कार्यक्रम पनि समावेश गरिएको थियो। जात्राको दोस्रो दिनमा भने इतिहासभित्रका कथा, जीवनमा हास्य–व्यंग्यको शक्ति, सिनेमाका लाइट क्यामेरा याक्सन, विज्ञापनका कुरा, नेपाली क्रिकेटको कथासँगै परिवर्तित मिडिया र स्वादका संस्कृति र स्मृतिका कुरासम्म भएका थिए। जेनजी आन्दोलनले अलपत्र परेको माहोल यो जात्राले केही हदसम्म कभर गरेको किताब जात्रामा अवलोकन गर्न आएकाहरूले बताएका छन् ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री खरेलले चुनाव गर्दै सरकार सुशासनको अनुभूति गराउन प्रतिवद्ध रहेको बताएका थिए । ‘संवेदनशील समयमा सरकारमा सहभागी छौं। मुलुकलाई परिवर्तनको बाटोमा अगाडि बढाउने दायित्व सबैको काँधमा छ। यसतर्फ हामी सबैको ध्यान जाओस् । सरकार पनि चुनाव गर्दै सुशासनको अनुभूति गराउन प्रतिवद्ध छ,’ उनले भने । उनले किताब जात्राले पठन संस्कृतिको विकासमा ठूलो योगदान पुरयाएको भन्दै प्रशंसा गरका थिए। उनले शिक्षाभन्दा ठूलो संसारमा केही नभएकाले कोही पनि शिक्षाबाट बञ्चित हुन नहुने बताएका थिए ।

‘किताबको अक्षर वा शब्द थाक्दैनन्। तर, मानिस थाक्छ। कथा भने हिँडिरहन्छ। यस्तै कथाको प्रतिनिधित्व हो किताब जात्रा,’ किताब जात्रा फेष्टबलका निर्देशक ऋषिराम अधिकारीले बताए । समाजमा शिक्षा र चेतनाको स्तर उकास्नका लागि पनि किताब जात्रालाई निरन्तरता दिइएको उनले बताए । उनले पठन संस्कृतिको विकासका लागि नेपाल मात्र नभएर देश बाहिर पनि यस्तै खाले कार्यक्रम गर्दै आएको बताए। उनले देशभित्र र बाहिर गरेर १५ वटा कार्यक्रम गरिसकेको जानकारी दिएका थिए ।

महोत्सवमा किताब प्रदर्शनी, मिथिला आर्टको लाइभ पेन्टिङ, फुड स्टल, जदौ हजुरको सांगीतिक प्रस्तुती, सुदूरपश्चिमेली छलिया नाच, तराइ मधेशको झिझिया नाच, पूर्वेली मारुनी नाच पनि देखाइएको थियो । स्वस्ती बाचनबाट सुरु गरिएको किताब जात्राको उद्घाटनका क्रममा लाखे नाचसहितको झाँकी, अभिनेता नाजिर हुसेनको कविता बाचन, एआई साहित्यलगायतको प्रदर्शनसमेत गरिएको थियो ।

साहित्यकार नीलम कार्की निहारिका, लेखक तथा पत्रकार मोहन मैनाली, लेखक सुबिन भट्टराई, पत्रकार टीकाराम यात्री, बैंकर अनिल केशरी शाह, पत्रकार राजेन्द्र बानिया, रुपेश श्रेष्ठ, विराट अनुपम, संजय सिलवाल गुप्ता, सम्पदा लिम्बु, विश्व लिम्बू, उत्सव रसाइली, दीपक राज जोशी, राजेश हमाल, वसन्त चौधरी, अमर न्यौपाने, विप्लब प्रतीक, मिलन बुढाथोकी, सन्दीप क्षेत्री, नरेश भट्टराईलगायत व्यक्तिहरू विभिन्न सेसनका बक्ता रहेका थिए ।