• २०७९ असोज १६ आइतबार

मुक्ति

राधिका कल्पित

राधिका कल्पित

जब मेरा यी दुई आँखाहरू सद्दे थिए
मैले देख्ने संसार तिमी मात्र थियौ
खै किन हो तिमीलाई मेरो दृश्यमा शङ्का भयो
र फोरिदियौ दुवै नयन
तबदेखि म अन्धकारमा निराकार भएँ
धन्यवाद छ तिमीलाई !
आँखाको साँघुरो परिधिबाट मुक्त गर्यौ ।

जब मेरा कानहरू सद्दे थिए
म केवल तिम्रा आवाज मात्र सुन्थेँ
खै किन हो तिमीलाई मैले सुन्ने ध्वनिमा धरमर भयो
र रोपिदियौ झीरले दुवै चर्म-कर्णहरू
तबदेखि म शून्यतामा सन्नाटा सुन्नसक्ने भएँ
धन्यवाद छ तिमीलाई !
मलाई मिथ्या मानव कोलाहलबाट मुक्त गर्यौ ।

जब मेरा यी दुई पाउहरू सद्दे थिए
म केवल तिम्रो प्रदक्षिणा गरिरहन्थेँ
खै किन हो तिमीलाई मेरा पदचापमाथि सन्देह भयो
र भाँचिदियौ दुवै गोडाहरू
तबदेखि म वायुसँग बहन सक्ने भएँ
धन्यवाद छ तिमीलाई !
मलाई लक्ष्मणरेखाबाट मुक्त गर्यौ ।

जब मेरा दुवै हातहरू सद्दे थिए
हरदम तिम्रो सत्कारमा खटिइरहन्थे
खै किन हो तिमीलाई मेरो सेवामाथि आशङ्का भयो
र बाँधिदियौ दुवै वाहुहरू
तबदेखि बल्ल आफैँलाई सुमसुमाउन भ्याउने भएँ
धन्यवाद छ तिमीलाई !
मलाई अन्धसत्ता र शास्त्रको साङ्लोबाट मुक्त गर्यौ ।

जब मसँग सद्दे जिब्रो थियो
हरबखत तिम्रो स्तुतिगान र चिरायुको आरती गरिरहन्थेँ
खै किन हो तिमीलाई मेरो साधनामाथि संशय भयो
र डामिदियौ मेरो जिब्रो
तबदेखि म मौन बोधी बनेँ
धन्यवाद छ तिमीलाई !
दासत्वको जयजयकारको झमेलाबाट मुक्त गर्यौ ।

जब बाँकी थियो मसँग केवल प्राण
र त्यही सास पनि सायद सुनामी भयो तिमीलाई
मेरो खप्पर भित्र चलिरहेको मगजमा शङ्का भयो
तब त घिसार्दै लगेर होमिदियौ बल्दो चितामा
जब ऐय्या–आत्था र चित्कारको सट्टा
सुन्यौ मेरो हाँसोको खित्का
तब झस्कियौ
त्यही पलदेखि नै
तिमीले ढुङ्गा हानिरहेछौ
निभेको चितामा
निरन्तर निरन्तर
म हाँसिरहेछु
तिम्रो मुर्खतामा
कालान्तर
कालान्तर !


(कल्पित विगत दुई दशकदेखि साहित्यसिर्जनामा सक्रिय स्रष्टा हुन्)
[email protected]