यो आँखाको आँसु उदरको जलन हो
गगनको हो पानी धराको अनल हो
दशाको उपद्रव दिशाहरूको आँधो
युगौंको विषमताको टुट्यो समाधि
यो पीडाको तडपन व्यथाको प्रकम्पन
विवशताको उद्वेग लीकन प्रभञ्जन
उडाई रहेको छ उत्तापको कण
बनाई रहेको छ अणुबम यो जन- मन !
रवानी न यो मेट्न सक्छ कसैले
जवानी, न यो रोक्न सक्छ कसैले
जवानी हो धूलोको उड्नेछ यसले
‘विभवु’-को विभवता र ‘जगती’- को जडता
पुराना को सत्ता ‘महा’ को महत्ता !
यो कण हो, यो अणु हो, यसैले प्रकम्पित
के सुन्दैनौ तिमी- यो जन- मन छ झंकृत ?
तिमी देख्तैनौ- सबै छन् चमत्कृत ?
जति जो जहाँ छन् त्यहीं छन् विकम्पित
यो विभुता छ विस्मित यो प्रभुता छ शंकित
डराएर हेर्छन् ‘छ धूलो तरंगित’
जगत-यातना के भयो आन्दोलित ?
के खस्नेछ अट्टालिएका, दुर्ग रक्षित ?
जवाहिर र हीरा, रजत, स्वर्ण सञ्चित
के यी छरिनेछन् भई धूलि- लुण्ठित ?
के अब लत्रिने हो सधैंको सुहावन ?
के हो बिग्रने अब विलासोद्दीपन ?
के हो उज्रिने अब मजा- मोज- उपवन ?
के रज- कणले छोप्छ यो सौन्दर्य- नन्दन ?
अवश्य यही हो यही होला निश्चय
नगरि छोड्दैन यो धूलोले अब जय !
के हल्लाएर हल्लिने हो हिमालय ?
चलाएर के बिग्रने हो यो जन- जय ?
यो जनको हो जय, यो हो अवरोधको क्षय
प्रगतिभित्र अब छैन शंका र विस्मय !
यो हेर, यी बादलका जयमाल करमा
लिई यी खडा छन् हिमालय अधरमा
यी जन- जनका पीडा जनोत्तापलाई
सँगाली हृदयमा यी जन- भावनालाई
उभेका थिए स् अब उगेलिरहेछन्
गह्नाएका सारा धकेलिरहेछन् !
यी नगराज हेर्छन्- सुनौला धरित्री
भई बन्दिनी भइरहिछ हत- श्री
रसाका रसिक छन् रसाकै प्रताडक
सुकी तर रहेछन् धरित्रीका बालक
धरित्रीको बालक भोकाई रहेछ
धरित्रीको सेवक कराई रहेछ
धरित्री सिंगार्ने नै उज्री रहेछ
धरित्री सँगाल्ने नै लत्री रहेछ ।
यो दाना बटुल्ने स्वयं छरिएका र
दर- दरका दरबान भई उब्भिएका
यी बर्मामा कोही गोठाला भएका
यी आसाममा आँसुको ज्याला लिएका
यी पल्टनमा टाउकाको माला उनेका
यी भेडा र बाख्राका पाला भएका !
यी नगराज हेर्छन्- ‘‘क्षुधा छ तरंगित
व्यथा- ज्वाला- लप्का छ अम्बर- विचुम्बित
यो हो प्राण- पीडा अवनिमा छ केन्द्रित
यो रौं रौंका उत्ताप हावामा केन्द्रित !’’
जो यस्तरी प्रवाहित छ ‘आँखाको जल’ हो
जो यस्तरी छ उद्विग्न ‘प्रभुताको छल’ हो ।
यो मानबको ‘खल’ हो जो ‘माथि’ र तल हो
जो यस्तरी छ चञ्चल ‘दरिद्रीको दल’ हो
जो यस्तो छ बेकल ‘त्यो माटोको बल’ हो
सबै हेर यो। प्रस्ट ‘माटैको बल’ हो !!
भवानी भिक्षु