२०७८ साल फागुन २१ गते शनिबार, साँझको ६ बजेदेखि कर्ण सकारात्मक कोषको आयोजनामा पर्यटन व्यवसायी र सामाजिक अभियन्ता अम्बिका श्रेष्ठसँग भएको वेबिनार अन्तरक्रियामा सहभागी भएकी थिएँ । यो देशमा नाम नै लिँदा पनि सम्मानले सिर झुक्ने व्यक्तित्व । सामाजिक अभियन्ताका रूपमा महिला सशक्तीकरण र पर्यटन उद्यमलाई समानान्तर रूपमा लिएर जीवनयात्रालाई अगाडि बढाएका उनले त्यसलाई शिखरमा नै पुर्याईरहेको देखिन्छ । आफ्नो जीवनको उत्तराद्र्धको समयलाई कत्ति पनि नहड्बडाईकन सम्यकरूपमा भोग्दै त्यसबाट प्राप्त भएको असफलता र सफलताका अनुभूति, अनुभव र सीपलाई आफूपछिका पुस्तामा हस्तान्तरण गरेको कुरा सुन्ने मौका पाएँ । कोषबाट निरन्तर आयोजना हुने गरेका विभिन्न कार्यक्रममा सहभागिता जनाइरहन्छु । कर्ण दाइले समाजमा प्रवाह गरिरहनु भएको सकारात्मक सोचको धेरै फ्यानहरू मध्येका म एउटा फ्यान । कोषले उठाइरहेको सकारात्मक सोचको गहकिलो विषय । हो नि, जीवन भोगाइमा एकले अर्कालाई गरिने सकारात्मक सोच अनि त्यसबाट उत्प्ररित व्यवहारले परिवार र समाजमा शान्ति ल्याउँछ: कलह र द्वन्द्व ल्याउँदैन । कस्तो राम्रो कुरा !
व्यवहारको तहमा अधिकांश रूपमा यसको ठीक विपरीत भइदिएकाले कुरा उठाइरहनु परेको हो । परिवार र समाजमा एउटा पक्षलाई मौका वा अवसर दिनका लागि विधि र व्यवहारबाटै पक्षपोषण गरिएका छन् । यसले कसैलाई माथि उठाएर हैसियतपूर्ण बनाइदिएको छ भने अर्को पक्षलाई यसबाट बञ्चित गराइएको छ र सधैँ अन्यायमा पारिएको छ । असमान व्यवहारबाट हैरानी खेपिरहेकाको आवाज अब सतहमा छताछुल्ल भएर आएका छन् । त्यही आवाजको एउटा अंश बनेर यो विचार यहाँ प्रवाहित भइरहेको छ ।
कोतपर्वमा नेपालबाट भागेर दार्जिलिङ हुँदै सिक्किममा पुगेर बसोबास गरेका पुर्खा, जसले प्रवासी जीवनका अप्ठ्यारा परिस्थितिलाई सामना गर्दै त्यहाँको उच्च अदालतका प्रधान न्यायधीशको पदसम्म पुगेर योगदान दिएका हरिप्रसाद प्रधानका परिवारमा जन्मेका अम्बिका दिदी । सिक्किमको सुविधा प्राप्त परिवारमा जन्मेका, विदेशी शिक्षा हासिल गरेका व्यक्तिको जीवनभोगाइको ग्राफले महिला सशक्तीकरणको मुद्धालाई सम्बोधन गरेको देखिन्छ । सिक्किमको मिश्रित सांस्कृतिक जीवनमा रमाएको एउटा चेली एकैपटक काठमाडौँका रैथाने रूढिवादी नेवार परिवारको बुहारी भित्रिँदा गर्नुपरेका कतिपय सम्झौता उजागर भएका छन् । बुहारी भएर घरपरिवार भित्रबाटै आफूमाथि गरिएका असमान व्यवहारलाई नियमन गर्दागर्दै पनि त्यसले सीमा नाघेको महसुस हुन थालेपछि त्यसबाट मुक्ति पाउनका लागि उनले घरको सङ्घार नाघ्न बाध्य हुनुपरेको स्थिति निकै कारुणिक देखिन्छ । जीवन भोग्दै जाँदा अवसर पाएर लगनशीलताले आफ्नो क्षमता प्रदर्शन गरेर समाजमा स्थापित व्यक्तित्व भइसक्दा पनि फेरि अर्को असमान व्यवहारको सिकार विदेशबाट । विकसित देशका शिक्षित जनता भएका देशमा उनलाई रोटरीको मीटिंगमा प्रवेश दिइएन । https://www.facebook.com/shakyaprabin/videos/528566192027042 यो देशभित्र र बाहिर नारीमाथि गरिएका असमान व्यवहारको एउटा सूक्ष्म केस स्टडी हो ।
जन्मेदेखि मृत्युसम्मको अवधिभित्र जीवनका भोगाइहरूबीच विभिन्न अनुभूति र आकारमा रङ्गिँदै प्रवाहशील बन्दै मानिस वर्तुल चक्रमा घुमिरहेको हुन्छ । प्रत्येक मानिसको आयामको चक्र फरकफरक र आ-आफ्नो हुन्छ । यही चक्रीय यात्रामा मानिसले बाल्यकाल, किशोर, युवा हुँदै बुढेसकालको जीवनमा थाहै नपाउने गरी प्रवेश गरिरहेको हुन्छ । शारीरिक र मानसिक परिवर्तन सहित ऊ आफ्नो चक्रीय यात्रामा क्रमशः टेक्न पुगेको हुन्छ र त्यही अनुसारको सोच र व्यवहार गर्दै बिहान, दिउँसो र बेलुकी अनि रातको समयमा प्रवेश गर्दै ३६५ दिन बिताउने गर्दछ । सबै मानिसको जीवन भोगाइको यो गतिमा कसैले सहजता प्राप्त गरेको हुन्छ भने धेरैजसो त असहजता वा पीडामा समय कटाइरहेका हुन्छन् । मानिसको त्यही असहज भोगाइको निरन्तरताले परिवार र समाजमा एक किसिमको दूरी सिर्जना गरिदिएको हुन्छ । यो दूरी अलिखित मान्यताका रूपमा क्रमशः व्यवहृत हुँदै जाँदा यसले परिवार र समाजभित्र मानमर्यादाको विधि बनाउँदै त्यसैलाई स्थापित गरेको देखिएको छ । मानमर्यादाको विधि सुन्नमा राम्रो भए पनि त्यसले कसैकसैलाई त अत्यन्त पीडाको सङ्घारमा ल्याइदिएको देखिएको छ । मानिसको एउटा वर्गले परिवारभित्र निरन्तर भोगेको पीडाप्रति असन्तुष्टि जनाउँदै कालान्तरमा निकासको बाटो खोज्ने सन्दर्भमा घरको सङ्घार नाघ्दै बाटो र सडकमा पुगेको छ । बाटोमा मिसिएका समानखालका पीडा र असन्तुष्टिहरू बिस्तारै समयको बहावसँगै समग्रतामा परिणत भई त्यो विरोधको आवाजमा रूपान्तरित हुन पुगेको घटना मानव सभ्यताको इतिहासमा लेखिइसकेको छ । यो पीडा धनीले गरिबलाई, ठूलाले सानालाई, पुरुषले महिलालाई, ठूला जातकाले साना जातकालाई, सेताले कालालाई अमेरिकाले एसियालीलाई- विभिन्न स्वरूपमा देखिएका छन् । ती विभिन्न खालका असमान व्यवहार प्रतिको असन्तुष्टि विभिन्न कारणले समयको केही कालखण्डमा अन्तर्धारका रूपमा लुक्न बाध्य भएका थिए । समाजका पीडक र पीडितको उपस्थिति स्पष्टरूपमा देखिएको पाइन्छ । मालिक्याइँको हैसियत लिएर बसेका पीडकले पीडितलाई सहज र मानवीय व्यवहार किन गर्थे र !! यसमा कहीँ- कतै सुधार आउन नसकेको अवस्थामा विरोधको आवाजले आन्दोलनको स्वरूप लिएको देखिएको छ । आजको २१ औँ शताब्दीसम्म आइपुग्दा पनि यस अवस्थाले झन् विभिन्न स्वरूपमा अनौठो खालको जीवन्तता बोकेर सतहमा आइरहेका छन् ।
समयले पीडितलाई तिमी भिन्न हौ तर असमान होइनौ भन्न सिकाएको छ । यो भिन्नता प्राकृतिक रूपमा तिमीले प्राप्त गरेको सम्पदा हो, शक्ति हो, अनि तिम्रो आफ्नै सामथ्र्य र विशेषता हो । तर आफूलाई अस्तित्ववान र क्षमतावान बनाउने त्यो भिन्नतामाथि असमान व्यवहार हुँदै आएको छ । यसले गर्दा तिमी, तिम्रो घरपरिवारदेखि समाज अनि विराट् विश्वको विभिन्न परिवेशमा अपहेलित र पीडित भएका छौ भन्ने चेतनाको विकास गराइदिएको छ । यही चेतनाबाट पीडितवर्गले आ-आफ्नो पीडालाई चिरफार गर्दै त्यसको कारक तत्त्व पत्ता लगाएर त्यहीँनै समस्याको समाधान खोज्नका लागि अगाडि बढिरहेको देखिन्छ । यही बिन्दुमा टेकेर घरपरिवारदेखि समाजका हरेक तप्कामा विचार विमर्श र बहसको वातावरण सिर्जना हुँदै आएको छ । यसबाट हिजोका आवाज विहीन पीडितहरू आज असन्तुष्टिका आवाज लिएर रूपान्तरित भइरहेका देखिन्छन् ।
भिन्नता र असमानतामा फरक छ । भिन्नताबोधले सहिष्णुता र सद्भाव जन्माउँछ भने असमानताले असहिष्णु र वैरभाव जन्माउँछ । वास्तवमा सृष्टिको तरङ्गमा समान हैसियत र प्रक्रियामा जन्मेका छोरी वा नारी र छोरा वा पुरुष भिन्न हुन्, तर असमान होइनन् । अर्थात नारी र पुरुष भिन्न हुन्, असमान होइनन् । यही भाव र संवेदनाको जीवन्ततामा जीवनलाई हिँडाउन पाए जीवन कति श्रेष्ठ र सन्तुलित हुने थियो होला ! तर जति सम्झाउन खोजे पनि र जति मेहनत गरे पनि यस स्थितिलाई संवेदनशील भएर हेर्ने र व्यवहार गर्ने कुरामा खासै परिवर्तन भएको देखिँदैन । अर्थात घरपरिवारदेखि समाजका विभिन्न तप्कामा नारी र पुरुषको सम्बन्धमा भिन्नताको व्यवहार होइन, असमानताको व्यवहार निरन्तर हुँदै र गरिँदैआएको छ ।
नारी र नारीबीचको एकअर्काको व्यक्तित्व फरक हो भने पुरुष र पुरुषबीचको एकअर्काको व्यक्तित्व पनि फरक हो । यस्तै नारी र पुरुष पनि फरक हुन् । अर्थात् नारी र पुरुष भिन्न हुन्, तर असमान होइनन् । प्रकृतिले नारी र पुरुष ती दुवैलाई जन्मेदेखि मृत्युसम्म सबै कुरा कहीँ- कतै भेदभाव नगरीकन बडो सन्तुलनमा रहेर अवसर प्रदान गरिरहेको छ । त्यहाँ कतै पनि असमान व्यवहार देखिँदैन । तर मानिसले भिन्नताको महत्त्वलाई बुझ पचाएर सबभन्दा पहिले आफ्नै परिवारभित्र नारी र पुरुषबीच असमान व्यवहार गर्दै आइरहेको देखिन्छ । यसलाई पुष्टि गर्नका लागि नारीलाई शारीरिकरूपमा कमजोर देखाइएको छ, अथवा बनाइएको छ भने पुरुषलाई बहादुर र शक्तिशाली बनाएर प्रस्तुत गर्दै त्यसलाई प्रमाणित गर्ने परिवेश र अवसर निर्माण गरिदिएको छ । यो व्यवहार प्राग्ऐतिहासिक कालदेखि नै चलेर आएको र एउटा पुस्ताबाट अर्को पुस्तामा सर्दै आइरहेको छ । यसरी मानवीय सभ्यतामा यस्तो एउटा प्राक्- कल्पनालाई शक्तिशाली बनाएर यसको स्थापनाका लागि विभिन्न आचारसंहिता निर्माण गरेर यसको प्रयोग गरिँदै आएको छ । यसबाट परिवार वा समाजको एउटा पूरै वर्ग अन्यायमा पर्न गएको देखिन्छ ।
नारीलाई भारी र गरुङ्गो काम गर्न नसक्ने कमजोर भनेर व्याख्या गरिएको छ भने पुरुषलाई यो काम गर्न सक्ने बलियो भनेर व्याख्या गरिएको छ । शक्तिको मापदण्डमा यदि कसैलाई शक्तिशाली र कसैलाई कमजोर भनेर व्याख्या गरिने हो भने के नारी साँच्चीकै कमजोर हो त ? जिज्ञासा कठोर बनेर उठिदिन्छ । वास्तवमा शक्तिको आधारमा नारी र पुरुषबीच तुलना नै गर्ने हो भने पुरुषभन्दा नारी धेरै शक्तिशाली देखिन्छिन् । हो, नारीले पुरुषले जस्तै बाहिरी वा शारीरिकरूपमा गरिने भारी काम गर्न त सक्दिनन् । तर उसले गर्ने गरेको काम र क्षमतालाई सूक्ष्म रूपमा विचार गर्ने हो भने त्यसको व्याख्या र विश्लेषण त्यत्ति सजिलै हल्का रूपमा कसरी गर्न सकिएला र जसरी आज गरिँदै आइरहेको छ । नारीले एउटा जीवलाई आफ्नो शरीरभित्र नौ महिनासम्म राखेर त्यसलाई सग्लो मानिसको रूपमा गर्भभित्र हुर्काएर आफ्नो शरीरका हजारौँ नसा छिनाल्दै स्वस्थ बच्चालाई पृथ्वीमा अवतरण गराउन सक्षम छिन् । गर्भावस्थाको पीडा ! अनि जन्माउनुको पीडा !! अनि हुर्काउनुको पीडा !!! यो कस्तो शक्ति होला !! अब यो मापदण्डमा मानिस बलियो वा कमजोर छ भन्ने कुरालाई नाप्ने हो भने कस्तो नतिजा निस्कन्छ होला । पुरातनवादी मान्यताले नारीको यही शक्तिलाई अवमूल्यन गर्दै ओझेलमा पारेर आफूले स्थापित गरेको कुरालाई मात्र व्यवहारमा प्रयोग गरिरहँदा लुकाइराखेको नारीशक्तिको यो तथ्य सलबलाउन थालेको हो ।
तुलना नै गर्ने हो भने उदाहरणका लागि यहाँ अर्को कुरा पनि देखाउनुपर्ने हुन्छ । त्यो के हो भने पुरुष आफ्नो शरीरमा एउटा सानो घाउ भएर निस्केको रगत हेर्न पनि सक्दैन । यो देखेर ऊ निकै नै आत्तिने गर्दछ । उसको त्यतिवेलाको ऐय्या र आत्थाको पीडाबोध बेहिसाब भइदिन्छ । उसको शरीरबाट एक थोपा पनि रगत बगेको ऊ हेर्न त के कल्पना पनि गर्न सक्दैन । कथम्कदाचित शरीरको कुनै पनि भागमा सानोभन्दा सानोघाउ भइहाल्यो भने पनि उसले शरीरलाई यति जतन गर्छ वा आफूलाई यति स्याहार गर्दै सुरक्षित बनाउँछ, मानौँ कि त्यहाँ ठूलै दुर्घटना भइरहेको छ । तर नारी आफ्नो बाल्यावस्थाबाट किशोरावस्थामा प्रवेश गर्नै लाग्दाको नौ वर्षतिरको कलिलो उमेरमा नै उनले आफ्नो शरीरबाट एक थोपा होइन, थोपाको असङ्ख्य- असङ्ख्य अंश बढी रगत निःसृत भएको अनुभव गर्ने गर्दछिन् । सुरुमा ती बालिका पनि नआत्तिने त कहाँ हो र ! तर वाध्यात्मक अवस्थामा अग्रजले सिकाएको भरमा जानेर- नजानेर त्यसको व्यवस्थापन गर्ने गर्दछिन् । भर्खर बाल्यावस्थाबाट किशोर अवस्थामा प्रवेश गरेकी बालिकाका लागि यो पक्कै पनि सहज विषय होइन । यो उनका लागि त्यस्तो बाध्यात्मक परिस्थिति हो, त्यसबाट उम्कनका लागि कसैले पनि केही गर्नै सक्दैन । धन, सम्पत्ति ज्ञान, सीप अहँ केही काम लाग्दैन, त्यस बालिकाको प्राकृतिक पीडा र त्यसबाट भोग्नुपरेको असहजता हटाउनका लागि । तर यस्तो बाध्यात्मक र असहज परिस्थितिलाई सहजता र असहजताका बीच उनले जसरी तसरी नियन्त्रणमा लिने गर्दछिन् र जीवनलाई नरोकीकन अगाडि बढाउँछिन् । यसलाई फेरि कहाँनिर तुलना गर्ने होला ।
धन्यवाद प्रकृतिलाई !! जीवनको पूर्वसन्ध्यामा भोग्नुपरेको त्यस्तो बाध्यात्मक स्थितिले उनलाई पछि गएर आफ्नो शारीरिक अवस्थालाई व्यवस्थापन गर्न सिपालु बनाइदिने सकारात्मक ऊर्जा प्रवाह गरिरहेको हुन्छ । यसरी नारी र पुरुषले भोग्नुपरेको जीवनको परिस्थितिलाई सापेक्षिक रूपमा हेर्दा अप्ठ्यारो र पीडादायक प्राकृतिक स्थितिलाई सकारात्मक रूपमा लिने हो कि नकारात्मक भन्ने कुराले कालान्तरको जीवन भोगाइको रोडम्याप निर्माण गर्दै गएको हुन्छ । नारीलाई पटकपटक शारीरिकरूपमा पुरुषभन्दा कमजोर देखाइएर उनलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसरबाट वञ्चित गराइएको अवस्थामा पनि यही सीपले उनलाई मानसिकरूपमा पुरुषभन्दा बलियो बनाएर उभ्याइदिएको हुन्छ । फलस्वरूप आफूमाथि आइपरिरहेको जस्तोसुकै प्रतिकूल स्थितिमा पनि पुरुषको तुलनमा नारी सकेसम्म कमजोर नभईकन उनले पारिवारिक प्रेम, सद्भाव र शान्तिलाई यथावत् राख्ने कसरत आजीवन गरिरहेकी हुन्छिन् । यो समयले प्रस्टरूपमा देखाइरहेको छ ।
प्रत्येक महिनामा हुने झन्झटिलो रक्तस्राव, पीडा र त्यसको व्यवस्थापनले थाहै नपाईकन उनको प्रतिरोधक क्षमतामा बृद्धि भइरहेको हुन्छ । उनको पीडा चाहे त्यो शारीरिक होस् वा मानसिक त्यो स्थिति नै जीवनभोगाइका लागि प्रतिरोधात्मक क्षमता बन्दै आजीवन मनोबल बनेर उनको जीवनलाई सुरक्षा दिइरहेको हुन्छ । जीवनमा परिवार र समाजबाट आइपर्ने शारीरिक र मानसिक पीडालाई सकेसम्म सहेर बस्ने बानी उनमा परिसकेको हुन्छ । नारीको यस शक्तिलाई पुरुषसँग तुलना गर्दा कस्तो होला ? नारीमाथि भइरहेको असमान व्यवहारले यही प्रश्नलाई जीवन्तरूपमा उठाइदिएको छ । वास्तवमा यो उठाउन नमिल्ने प्रश्न हो । तर नचाहिने कुरामा टेकेर आफूमाथि भएको असमान व्यवहार र त्यसबाट हैरानी खेपेका नारीले पनि अब यस्तै नचाहिने कुरामा टेक्नुपर्ने स्थिति देखिएको छ । यसैले नारीको संवेदना पुरुषले बुझ्नै सक्दैन । पुरुषबाट नारी संवेदनामाथि न्याय हुन सक्दैन भन्ने खालका अभिव्यक्ति बाहिरिएको देखिएको छ । यसबाट वास्तविक समस्याको वास्तविक समाधान होला र ? कतै यसले समस्यालाई झन् फुकाउनै नसकिने जालोभित्र पठाइदिने पो हो कि ? कुरा सोचनीय अनि गम्भीर चिन्तनको विषय बनेको छ ।
नारीको महत्त्वलाई पैसासँग पनि गाँस्ने गरिएको छ । उसले पैसा कमाएर ल्याउँदैन । उनी त गृहिणी हो । आम नारीहरूलाई यसरी नै परिभाषित गरिएको छ । पुरुषले परिवारको पालनपोषणका लागि बाहिरबाट पैसा कमाएर ल्याउने गर्दछ । यसैले ऊ नारीभन्दा श्रेष्ठ र पुरुषार्थी मानिएको छ । यसरी परिवार र समाजले मानिसको विवेक र शक्तिलाई सधैँ सधैँ पैसाको आधारमा तौलिने गरेको छ । पैसाको यो गणितीय हिसाब किताबले जीवन व्यवहारलाई नै पैसाको गणितीय स्वरूप प्रदान गर्न प्रवृत्त रहेको देखिएको छ । नारी- पुरुषलाई तुलना गर्ने यो फेरि अर्को खतरनाक मापदण्ड बन्न पुगेको छ । वास्तवमा नोकरी गर्नु, अफिस चलाउनु, दोकान चलाउनु र त्यसको हिसाब किताब गर्नु जीवनको साधन खोज्नु मात्र हो । यो जीवनको साध्य हुँदै होइन । पैसाबाट सिमेन्ट, छड आदिले बनेको घर भन्ने गरिएको ठाउँलाई वास्तविक घर बनाउन प्रयोग भएका नारीका श्रम, सीप र चिन्तनको हिसाब किताब खोइ त ??? जहाँबाट समस्या उठेको हो, त्यहीँ नै टेकेर विचार गर्दा गणितीय विज्ञानले परिभाषित गर्न नसकेको यो सुन्दर व्यवहारलाई अत्यन्त असुन्दर परिभाषा भित्र बाँध्ने कुप्रयास गरिएको छ ।
साँच्चै भन्ने हो भने अफिस वा दोकानबाट कमाएर ल्याएको हिसाब किताबमा नारी बेहिसाब जीवन बाँचेकी हुन्छिन् । सिमेन्ट, छड आदिले बनेको घर भन्ने गरिएको ठाउँलाई उनले प्रेमपूर्ण वातावरण दिएर वास्तविक घर बनाएकी हुन्छिन् । नारीको हार्दिकतापूर्ण भावना र अनुभूतिपूर्ण संवेदनशील व्यवहारले गर्दा घरले घर भन्ने कुराको महत्त्व पाएको हुन्छ । तर यसको मूल्याङ्कन आज पर्यन्त पनि हुनसकेको अवस्था देखिँदैन । यस्तो अत्यन्त मूल्यवान् जिम्मेवारीलाई पैसामा तौलिएर नारीमाथि गर्ने गरिएको व्यवहार उचित होइन । यो उनीमाथि गरिएको दुव्र्यवहार हो, जो अब सही नसक्नुको पीडा बन्न पुगेको छ । पुरुषले कमाएर ल्याएको वस्तुलाई नारीले जतन गरेर फारो हुने गरी राखिदिएकी हुन्छिन् । बाहिरबाट कमाएर ल्याउनु पुरुषको क्षमता र विशेषता हो भने त्यसलाई जतन गरेर राख्नु अनि फारो हुने गरी व्यवहार गर्नु नारीको क्षमता र विशेषता हो । नारी र पुरुषका यी दुवै भिन्नभिन्न व्यक्तित्वलाई मानि दिएर सकारात्मक व्यवहार गरिदिएको भए समाज कति सभ्य र सुन्दर हुने थियो होला ! तर परिस्थिति झन्झन् यसको विपरीत भइदिएको छ । नारीमाथि गरिने भेदभावपूर्ण व्यवहारको निरन्तरता र यसमाथि भइरहेको चिन्तनले अमानवीयरूपमा गहिराइ लिँदै गइरहेको छ । नारीलाई हेर्ने र व्यवहार गरिने चिन्तनमा परिवर्तन हुनै नसकेको रूढिवादीपूर्ण यस स्थितिले पितृसत्तात्मक सोचलाई मलजल गरेको छ । त्यसैको अनुकूलतामा सम्पूर्ण परिवेश र परिस्थिति निर्माण हुनेगरेको देखिएको छ । आ-आफ्नो सक्षमता र सामथ्र्य लिएर अस्तित्वमा रहेका नारी र पुरुष एकअर्कालाई सापेक्षिक रूपमा उभ्याएर तुलना गर्नै मिल्दैन । यी दुवै अतुलनीय छन्, एकअर्काका परिपूरक । जतिसुकै यसको महत्त्व बुझाउन खोजिए पनि प्राग्ऐतिहासिक कालदेखि नै नारीलाई पुरुषको शक्तिशाली व्यक्तित्वको सापेक्षतामा सधैँ सधैँ तुलना मात्र गरेर जानीजानी योजनावद्धरूपमा उनलाई होच्याउने काम र व्यवहार विभिन्न स्वरूपहरूमा निरन्तर भइरहेका छन् ।
बिरालोलाई पनि कहीँ- कतै निकास नदिईकन थुनिरह्यो भने ऊ आक्रामक बनेर आफू स्वतन्त्र बन्नका लागि विभिन्न उपायको खोजी गर्ने गर्दछ । यस प्रयासमा असफल भएपछि वा भनौँ उसले निकास नभेटेपछि ऊ आफू त्यहाँबाट निस्कनका लागि आक्रामक बन्दछ र चिथोर्न जान्छ । त्यस्तै समाजको एउटा वर्ग सधैँ पीडित बनेर रहिरहनु परेको अवस्थामा त्यसको निकासका लागि विरोधका आवाज विभिन्न शैलीमा प्रवाहित भएर उठिरहेका छन् । यसरी समाजमा असमान व्यवहारबाट प्रभावित पीडितको पीडाको आवाजको निरन्तर प्रवाहलाई अब कसरी रोक्न सकिन्छ र ? परिवार र समाजबाट हुनेगरेको यस्तो विसङ्गत र अमानवीय व्यवहारलाई टुलुटुलु हेरेर बस्न सकिँदैन । समाजको हरेक तप्काको परिवेश र परिस्थितिसँग व्यक्ति निरपेक्ष रहन सक्दैन । यस स्थितिबाट निरपेक्ष नरही यसैको सापेक्षतामा ती व्यवहारमाथि विचार विमर्श वा बहस गर्दा र तत्कालीन भोगाइको सत्यतथ्यलाई दस्तावेजका रूपमा इमानदारी कहीँ- कतै अभिव्यक्त गर्दा कसरी होच्याइएर भन्ने गरिने नारीवादी भइन्छ ? ती त मानवतावादी हुन्, जसले असमान होइन समान व्यवहार गर्दै भिन्नता वा क्षमताका आधारमा नारीलाई व्यवहार गर्नुपर्छ भन्ने मुद्धा बोकेर उत्रन्छ । त्यस्ता अभियन्तालाई निडरताका साथ आवाज विहीनहरूको आवाज उठाउने र तिनको प्रतिनिधित्व गर्ने एउटा स्पष्ट वक्ता सिपाही भन्नुपर्छ । यदि यस कुरामा अझै पनि चित्त बुझ्न सकेन भने तपाईंकी र हाम्री सानी हिस्सी परेकी छुनुमुने, टुकुटुक हिँड्न सिकिरहेकी नातिनी, छोरी अनि बहिनीको जीवनको गतिशीलता र त्यसले ल्याउँदै गरेको परिवर्तित रोडम्यापलाई सूक्ष्मरूपमा हेर्ने थालनी गर्ने हो कि !!
महिलामाथि भइरहेको र हुने गरेका विभेद हुँदा प्रतिक्रिया जनाउने, घन्टौं चर्चमा रातभरि चिसोमा उभ्याउने सजाय दिइने सोच समूह फेसबुकबाट साभार) माथि यो त एउटा नमुना मात्र हो । (फेसबुक सोच समूह)
कक्षपति प्राध्यापक एवम् समालोचक हुन् ।
[email protected]