• २०८१ भाद्र २४ सोमबार

खतिवडाको नियात्रासङ्ग्रह सार्वजनिक

काठमाडौँ, ९ फागुन, २०७८

नियात्राकार भवानी खतिवडाको नियात्राकृति ‘घामभन्दा पहिले’ आइतबार विमोचन भयो । शिखा बुक्सका पुष्पराज पौडेलको अध्यक्षता एवम् वरिष्ठ साहित्यकार भुवनहरि सिग्देलको प्रमुख आतिथ्यमा सञ्चालित सो कार्यक्रममा वरिष्ठ साहित्यकारहरू निर्मोही व्यास, अशेष मल्ल, युवराज नयाँघरे, प्रा.डा. सावित्री मल्ल कक्षपति, नियात्रा समाजका अध्यक्ष प्रतीक ढकाल, साहित्यकार महेश पौड्याल, प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयका प्रमुख विष्णु भट्टराई, निजामति कर्मचारी ट्रेड युनियनका अध्यक्ष भोलानाथ पोखरेल, नेपाल सरकारका सहसचिवद्वय सावित्री बराल र वासुदेव काफ्ले अतिथिको रूपमा उपस्थित थिए ।

कार्यक्रममा प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयका प्रमुख भट्टराई, नेपाल सरकारका पूर्वसचिव खगराज बराल, वरिष्ठ नियात्राकार व्यास, वरिष्ठ साहित्यकार नयाँघरेले कृतिकारलाई बधाई तथा सफलताको शुभकामना व्यक्त गरेका थिए । वरिष्ठ साहित्यकार व्यासले भने- ‘छोटो समयको साधनाबाट नै यति गहकिलो नियात्रा जन्माउने अनुज साहित्यकार थप सफलताको शुभकामना !’

निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनका अध्यक्ष पोखरेलले- ‘निजामती क्षेत्र र ट्रेड युनियन आन्दोलनको अथक योद्धाको कलमबाट अत्यन्त कोमल, वैचारिक हिसाबले निखारिएको कृति जन्मिएको’ उल्लेख गरे ।
साहित्यकार पौड्यालले समिक्षात्मक मन्तव्यका क्रममा खतिवडाको नियात्रामा प्रकृति, भूगोल, पर्यावरणीय चेतना, स्थानीयप्रतिको सम्मान, माटोको सुवास मगमगाएको र कृतिकारको निर्भीक ऊर्जाशील व्यक्तित्व झल्किएको कुरा उल्लेख गर्दै भने- ‘छन्दकविताको बाटोमा हिँड्दै गरेकी स्रष्टाको नियात्रा पढ्दा सुललित काव्य पढेको आभास हुन्छ ।’

प्राध्यापक डा. सावित्री मल्ल कक्षपतीले नियात्राकारले यात्रामा भेटिएका स्थानीय पात्रहरूसित संवाद गरिहाल्ने, स्थानीय रीति, संस्कृति र जनश्रुति बटुलेर नियात्रामा सजाउने कलाको प्रशंसा गरिन् ।

अर्का वक्ता नियात्रा समाजका अध्यक्ष ढकालले भने- ‘खतिवडा यात्रासँग मन मिसाएर लेख्ने नियात्राकार हुन् । उनको नियात्राले देशभक्ति र वीरताको गीत गाएको छ । यसमा स्थानीय मिथक र जनश्रुतिको अनुगुञ्जन पनि छ ।’

कार्यक्रममा नियात्रा समाज नेपालको तर्फबाट अध्यक्ष ढकाल र वरिष्ठ सदस्य इल्या भट्टराईले स्रष्टा खतिवडालाई समाजको आजीवन सदस्यताको प्रमाणपत्रसहित सम्मान गरेका थिए ।

कुशल कवि महेश क्षितिजले कलात्मक र कवितात्मक शैलीमा कार्यक्रम सञ्चालन गरेका थिए ।