कविता-हिन्दी

काठमाडौँ- केशवराज ज्ञवालीको कथासंग्रह ‘अर्को भोर’ ले २०७८ को पद्मश्री पुरस्कार पाएको छ । राजधानीमा आइतबार आयोजित कार्यक्रममा खेमलाल हरिकला समाज कल्याण प्रतिष्ठानले पद्मश्री साधना सम्मान कथाकार माया ठकुरी र पद्श्री गौरव सम्मान नेत्र चिकित्सक सन्दुक रुइतलाई प्रदान गरेको छ । तीनै पुरस्कारको राशि जनही तीन लाख रुपैयाँ छ ।
पद्मश्री पुरस्कारका लागि प्रतिष्ठानलाई २०७८ मा प्रकाशित १ सय ४४ वटा पुस्तक प्राप्त भएका थिए । राम लोहनी संयोजक, नयनराज पाण्डे र कुमारी लामा सदस्य रहेको निर्णायक समितिले ‘अर्को भोर’ लाई पुरस्कारका लागि उत्कृष्ट कृति ठहर गरेको हो । प्रतिष्ठानले ‘अर्को भोर’ मा संगृहीत कथाहरूमा नवीनतम शैली, फरक कथानक र उत्कृष्ट संयोजन भएकाले पुरस्कृत गरिएको जनाएको छ । समिति संयोजक लोहनीले प्राप्त भएका सबै कृति पढेर र स्पष्ट मापदण्ड बनाएर एउटालाई पुरस्कारका लागि छनोट गरिएको बताए ।
प्रतिष्ठानले पद्मश्री साधना सम्मान तीसको दशकदेखि नेपाली आधुनिक कथाका क्षेत्रमा महत्त्वपूर्ण योगदानका लागि कथाकार माया ठकुरीलाई प्रदान गरेको छ । ठकुरीका कथाहरू समाजका सूक्ष्म संवेदना र मानवीय भावनाले ओतप्रोत भएको जनाउँदै प्रतिष्ठानले उक्त सम्मान प्रदान गरेको हो । ठकुरीका सात वटा कथासंग्रह, एउटा गीतिसंग्रह र एउटा बाल कथासंग्रह प्रकाशित छन् ।
प्रतिष्ठानले यसै वर्षबाट सुरु गरेको पद्मश्री गौरव पुरस्कार भने डा. सन्दुक रुइतलाई प्रदान गरेको छ । दुर्गम हिमाली गाउँमा जन्मिएर कठिन संघर्ष गर्दै नेत्र चिकित्सकीय क्षेत्रमार्फत धेरैलाई उज्यालो दिएकाले उनलाई मानवतावादी डाक्टरका रूपमा सम्मान स्वरूप पुरस्कार प्रदान गरिएको जनाइएको छ । तीनै जनालाई प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले सम्मानपत्र सहित नगद राशि हस्तान्तरण गरे ।
प्रतिष्ठानका अध्यक्ष लामिछानेले पुरस्कृत कृति ‘अर्को भोर’ कथासंग्रहले डायस्पोरिक लेखन मार्फत नेपाली साहित्यमा सुन्दर कथाहरू दिएको बताए । ‘डायस्पोरिक लेखन नयाँ नै भएपनि पछिल्लो समयमा नेपाली डायस्पोरिक लेखनमा एक किसिमको सिर्जनात्मक विस्फोट भएको छ,’ उनले भने, ‘डायस्पोरिक चेतना भनेको मूल देशका पुराना स्मृति र नयाँ ठाउँका तीतामीठा अनुभवको सँगालो रहेछ ।’ विभिन्न कारणले मुलुकभन्दा टाढा भएकाहरूसँग घरदेश र परदेशको स्मरण, दुवै देशको सामाजिक तथा मनोविज्ञान परिवेशको अनुभव हुने भएकाले डायस्पोरिक लेखन स्थापित भएर अग्रसर हुँदै गएको उनले उल्लेख गरे ।
अमेरिकामा बसेर साहित्य सिर्जनामा लागिरहेका पुरस्कृत कथाकार ज्ञवालीले आफ्नो साहित्यिक सिर्जना निजी व्यक्तित्वको यात्रा भएको बताउँदै देशबाहिर कर्मकै क्रममा देखे, भोगेका घटना, पात्रहरूलाई लेखनमा उतारेको सुनाए । कथाकार ठकुरीले साहित्य लेखनमा इमानदार भई विगतमा फर्किन सकियो भने त्यसलाई सिर्जनाका रूपमा ढाल्न सकिने बताइन् । उनले भनिन्, ‘आफ्नो कथालाई आफैं फर्केर हेर्नुहोला । कसैको कथा कसैको भन्दाकम छैन । लेख्नु मात्रै पर्छ ।’ डा. रुइतले आफूले पाएको सम्मानको हकदार बनाउन आफ्नो ठूलो समूहको परिश्रम रहेको बताउँदै भने, ‘मेरो पछाडि बहुतै राम्रो टिम छ । यस्तो टिमसँग काम गर्न पाउनु मेरो भाग्य हो ।’