• २०८० जेठ २४ बुधबार

नारायणगोपालले रफीको एउटा गीत १७ पटक सुने र चाँदनी शाहको गीतमा २८ पटक धुन बदल्न लगाए

रमण घिमिरे

नारायणगोपालको २९ औँ स्मृतिदिवसका अवसरमा उनीबारेका केही रोचक प्रसङ्गहरू

पहिलोपल्ट नारायणगोपाललाई स्वर–सम्राटको उपाधि नारायणगोपालका अन्य मित्र एवम् उनका गीतकार नगेन्द्र थापाले दिएका थिए । नारायणगोपाल पेमाला गुरुवाचार्यसित लगनगाँठो कसेर २०२७ सालमा दार्जीलिङबाट पोखरा गएपछि थापाले ‘धूपी’ (भदौ, २०२७) को अङ्कमा पहिलोपल्ट ‘नेपालको स्वर–सम्राट’ भन्ने उपाधि दिएका थिए । कालान्तरमा उनी त्यही उपाधिले प्रसिद्ध भए ।

रेडियो नेपालमा पहिलोपल्टको स्वर परीक्षामा नारायणगोपाल अनुत्तीर्ण भएका थिए । त्यसपछि २०१६ सालमा प्रेम–माणिकको सङ्गीत र राममान तृषितको ‘पन्छीको पङ्खमा धर्तीको याद दियो’ बोलको गीत गाएर उनले रेडियो नेपालको स्वरपरीक्षा उत्तीर्ण गरेका हुन् ।

नारायणगोपाल पहिला प्रेमध्वज र माणिकरत्नले खोलेको ‘नवकला परिवार’ नामक संस्थाले आयोजना गर्ने कार्यक्रम र प्रेम–माणिकले गाउने कोठेगायनमा उनीहरूलाई तबला बजाएर साथ दिन्थे ।

नारायणगोपालले सार्वजनिक रूपमा पहिलोपल्ट सिंहदरवारको नाचघरमा गाएका थिए– आफ्नै सङ्गीतमा रत्नशमशेर थापाको गीत– ‘स्वर्गकी रानी मायाकी खानी’ । यस गीतमा एकोर्डिएन बजाइदिने कलाकार थिए, प्रसिद्ध सङ्गीतज्ञ नातिकाजी । तर त्योभन्दा अघि उनी ९ वर्षको हुँदै उनले आफ्ना दाजु नन्दगोपालले लेखेको ‘किसान’ नामक नाटकमा दृष्टिविहीन गायकको भूमिकामा अभिनय गर्दै पहिलोपटक डबलीमा गाएका थिए ।

नारायणगोपाल रेडियो नेपालले आयोजना गर्ने आधुनिक गीत प्रतियोगितामा २०२३ मा उत्कृष्ट सङ्गीतकार र २०२४ सालमा उत्कृष्ट गायक भएका थिए । उनी ‘जगदम्बश्री’ पाउने पहिलो व्यक्ति थिए ।

नारायणगोपालले गाउने प्रायः सबै गीत–सङ्गीतको पहिलो सल्लाहाकार हुन्थिन् उनकी श्रीमती पेमाला गुरुवाचार्य । र अधिकांश गीतमा पेमालाको सल्लाह–सुझाव नै सर्वस्वीकार्य हुन्थ्यो, नारायणगोपाललाई । तर निर्णायक घडीमा कहिलेकाहीँ उनी आफ्नो आत्माको निर्णय मात्र सुन्थे । कवि हरिभक्त कटुवालको ‘मलाई नसोध कहाँ दुख्छ घाउ’ मा पेमालाकै निर्णय माने । किनभने जुन लयमा आज यो गीत बज्छ, त्यो धुन उनका अन्य मित्र एवम् पेमालासँग विवाहपछिको पोखरा बसाइमा आश्रय दिने कवि भूपी शेरचनलाई मन परेको थिएन । तर पेमालालाई त्यही धुन मन परेको थियो । र, रेकर्ड गर्ने बेलामा भूपीको सल्लाह नमानी पेमालाले मन पराएकै लयमा गीत रेकर्ड गराए ।

उनले दीपक जङ्गमलाई २८ पटक धुन बदल्न लगाएर गाएको गीत थियो, चाँदनी शाहको ‘एउटा मान्छेको मायाले कति फरक पार्दछ जिन्दगीमा’ । यो गीत नारायणगोपालले दुईवटा लयमा रेकर्ड गराएका थिए ।

नारायणगोपालले चारवटा राष्ट्रिय गीत गाएका छन्– ‘म मरे पनि मलाई मेरो देशको माया छ’, ‘जाग चम्क लम्क हे नौजवान हो’ ‘आमा तिमीलाई जङ्गलभरि नै’ र ‘मुटुको हरेक नसानसामा’ । उनले भजन गाएनन् ।

नारायणगोपाल फुटबलका सोखिन थिए । दशरथ रङ्गशालामा हुने फुटबलको फाइनल म्याच सायदै उनले हेर्न छुटाए । उनले सन् १९८६ को विश्वकप फुटबल गीतकार साथी डा. विश्वम्भर प्याकु¥यालको क्वार्टर, कीर्तिपुरमा हेरेका थिए ।

नारायणगोपाल चेस र पप्लुका पारङ्गत खेलाडी मानिन्थे । खाना बनाउने पनि उनको मुख्य सोखमध्ये पथ्र्यो । उनी इतिहासका ज्ञाता मानिन्थे । उनी सङ्गीतका अध्येता र टेनिसका सोखी थिए । उनले अत्यधिक रुचाएको पत्रिका (म्यागजिन) थियो– ‘नेसलन जियोग्राफिक’ । नेपालमा त्यस बेला यो पत्रिका पाउनु दुर्लभ थियो तर उनी विदेशबाट झिकाएर पनि यो पढ्थे ।

नारायणगोपाल २०३६–०४० सम्म सांस्कृतिक संस्थानको महाप्रवन्धक भए । त्यहाँ जानसाथ करारसेवाका कर्मचारी–कलाकारको पजनी गरेको भनी उनी विवादित पनि भए । उनका आफ्नै गुरु गायक माणिकरत्न र गायिका तारादेवी पनि त्यस पजनीमा परेका थिए ।

वसन्त चौधरीको सक्रियतमामा नेपाल अर्वुद रोग निवारण संस्थाले आयोजना गरेको ‘नारायणगोपाल स्वर्णिम सन्ध्या– २०४५’ नारायणगोपालको गायनजीवनकै अविस्मरणीय र स्वर्णिम सावित हुनपुग्यो ।
वसन्त चौधरी नारायणगोपालका निःस्वार्थ प्रशंसक थिए र छन् । नारायणगोपाल वीर अस्पतालमा सिकिस्त हुँदा गीतकार नगेन्द्र थापा र वसन्त चौधरी पालैपालै चौबीसै घन्टा उनको कुरुवा बसेका थिए । त्यस बेला उनको उपचारका लागि यहाँ उपलव्ध नभएका सबै औषधि वसन्त चौधरीले नै विदेशबाट झिकाइदिएका थिए । उनले नारायणगोपालको इलाजका लागि एकपटक भारतबाट विशेषज्ञ डाक्टर झिकाएर पनि उनको स्वास्थ्य परीक्षण गराएका थिए ।
र, नारायणगोपालले अन्तिम सास लिँदा बसन्त चौधरी र हरिवंश आचार्य मात्र उनीसँग थिए ।

गीतिनाटक ‘मालती–मङ्गले’ को गीत रेकर्डिङ् गराउने बेला नारायणगोपाल र अम्बर गुरुङको बोलचाल थिएन । माधव घिमिरेको अथक प्रयत्नबाट उनीहरूबीच पुनः सम्बन्ध स्थापित भयो । नारायणगोपालले गाएको गीतको मर्मस्पर्शी गायकीका कारण पनि यो गीतिनाटक यति लोकप्रिय भएको भन्ने चर्चा त्यतिबेला उनको गीतजस्तै लोकप्रिय भएको थियो । तर नारायणगोपाल र तारादेवीको सम्बन्ध अम्बर गुरुङसँगको भन्दा चिसो थियो । उनीहरू एकअर्कालाई हेर्नसमेत चाहँदैनथे । त्यसैले प्रज्ञाभवनको रेकर्डिङ् कक्षको बीचमा अग्लो बेरा लगाएर दुईवटा बेग्लाबेग्लै बुथ बनाइयो र उनीहरूले एकअर्कालाई हेर्दैनहेरी ‘मालती–मङ्गले’ का सम्पूर्ण गीतहरू रेकर्ड गराए ।
सुरुमा उनी हिन्दी पाश्र्वगायक मोहम्मद रफीका अनुयायी थिए । एकपटक पिताजी आशागोपालले घिउ किन्न पठाउँदा उनले घिउ साहूको रेडियोमा बजेको रफीको गीत सुन्दासुन्दै घिउ किन्न बिर्सेर रित्तो हात फर्किँदा पिताजीको खप्की खानु परेको थियो । उनी रफीका यति ठूला फ्यान थिए कि ‘बैजू–बाबरा’ नामक हिन्दी फिल्ममा रफीले गाएको ‘तु गङ्गा की मौज, मैं जमुना की धारा’ बोलको गीत जयनेपाल हलबाहिर उभिएर १७ पटक सुनेका थिए । तर पछि उनी किशोर कुमारको फ्यान हुनपुगे ।