आनन्द - Aksharang
  • २०७८ असार ५ शनिवार

आनन्द

डा.रामेश्वर अधिकारी

डा.रामेश्वर अधिकारी

“यो निर्जन र शून्यताको गर्भमा अबस्थित एकान्त चौतारीमा एक्लै धुम्धुम्ती के गरेर बसिरहनु भएको बुढा बा ?”
“पर्खेर बसेको बाबु । आउन बरू तिमीपनि सुस्ताउ एकछिन ।”
“कसलाई पर्खनु भएको ?”
“आनन्दलाई ।”
“आनन्द ? को आनन्द ?”
“छोरो मेरो ।”
“कहाँ छ त ?“
“खै भित्र कता-कता लुकी बस्छ ? उसलाई खोजेर निकाल्नको लागि धेरै नै मेहनत गर्नुपर्छ। उसको देउता बुझेपछि मात्र उ बाहिर निस्किन्छ ।”
“अनि आएपछि त फर्कदैन होला नि ?”
“किनहुन्थ्यो ? त्यसो भए त भईहाल्थ्यो नि । ऊ त आउँछ-अनि तत्कालै गईहाल्छ। कहिले काँही त आफ्नो छायाँ मात्र देखाएर भाग्छ । स्थिर आसन त छँदै छैन त्यसको ।”
“बाँधेर पो राख्नु पर्ने त्यसलाई त । हैन र बा ?”
“त्यहि त चाहिएको बाबु । जसरी भएपनि उसलाई आफू सँगै राख्न खोज्छु । फकाएर राख्न पाए त बेसै हो । नसके चुर्मुर्याएर राख्न सके पनि ठिकै हुन्थ्यो । तर कसले सक्ने र ?”
“त्येस्तो जब्बर छ र ?”
“ओहो ! चिनेकै छैन तिमीले उसलाई । म जहिले पनि उसलाई पक्रिन खोजिरहेको छु । कहिले कहीँ त च्याप्प समात्छु पनि । तर नदीमा माछो चिप्लिएझैं सुलुत्त चिप्लिहाल्छ । फेरी गाएब ।”
“कुनै बलियो मानिसलाई लगाउनुहोस् न त समात्न ?”
“कसको पिताम् पुग्ने ? धेरैले कोशिस गरिसकेका छन्, तर क्षणिक नियन्त्रण बाहेक अरू उपलब्धि कसैले प्राप्त गर्न सकेका छैनन् । ऋषि-मुनिहरूलाई पनि गुहारें । उनीहरूले उसको खोजीमा बन-पाखा चाहारे । केहि नलागे पछि घुर्क्याएर अनशन पनि बसे । तर आजसम्म उसलाई पूर्ण रूपले कसैले पनि अठ्याउन सकेको छैन ।”
“बुढो भएको बाबुलाई एक्लै छोडेर जान्छ त त्यसरी ?
“हैन, उसको अनुपस्थितिमा म सँग बस्न आफ्नो साथी चिन्तालाई छोडेर जान्छ ।”
“कति दुःख गर्नुहुन्छ त ? माया मार्नोस उसलाई र ढुक्कसँग बस्नोस ।”
“उसको अनुपस्थितिमा कसरी बस्ने ढुक्कसँग । ऊ नै त हो मेरो जीवनको एकमात्र सहारा-जिउने बाटो ।”


डा.रामेश्वर अधिकारी (अमेरिका)
real_estate05@yahoo.com