प्यालेस्टाइनको कविता
काठमाडौँ
कवि गोपाल पराजुलीले ‘कविडाँडा सुवर्ण-तुलसी काव्य पुरस्कार- २०८१’ प्राप्त गरेका छन् । शनिबार काठमाडौंमा एक कार्यक्रमकाबीच ५० हजार १६० रुपैयाँ नगद राशि रहेको उक्त पुरस्कार कवि पराजुलीलाई प्रदान गरिएको हो । कविडाँडा साहित्य समाजले प्रदान गर्ने सो पुरस्कार हाल अमेरिका बस्ने गीतकार सरला श्रेष्ठले आफ्ना मातापिता तुलसीदेवी र सुवर्णजङ्ग श्रेष्ठको नाममा स्थापना गरेकी हुन् ।
कविडाँडा साहित्य समाज चितवनका अध्यक्ष एलबी क्षेत्री, अभिनेता मदनकृष्ण श्रेष्ठ र पुरस्कार दाता श्रेष्ठ परिवारले स्रस्टा पराजुलीलाई दोसल्ला, प्रमाणपत्र र नगदसहित सम्मान गरेका हुन् । सम्मानित स्रस्टाकाबारेमा बोल्दै त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक महेश पौड्यालले भने- ‘पाश्चात्य जगतले पहिले ईश्वरको र पछि लेखकको मृत्युको तर्क गरेर निस्सारताको वकालत गरिरहेका बेला कवि पराजुलीले अर्को ईश्वरको घोषणा लेखर आस्था र आशावादिताको शाश्वत प्रवाहको रक्षा गरेका थिए । त्यसै गरी सोभियत संघ र अमेरिकाबीचको शीत युद्ध सकिएसँगै इतिहासको अवसान भयो भन्ने पश्चिमा विद्वानहरूलाई पूर्वको महत्ता र ऐतिहासिक वैशिष्ट्य बुझाउन अर्को विश्वको प्रस्ताव लेखेका हुन् ।’
यस्ता सचेत, निर्भीक र प्रयोगधर्मी कवि पराजुली यो पुरस्कारका लागि योग्य भएको उनको टिप्पणी थियो । पराजुलीले २०६० सालमा प्रकाशित ‘नयाँ ईश्वरको घोषणा’ कवितासङ्ग्रहका लागि मदन पुरस्कार प्राप्त गरेका थिए ।२०७७ सालबाट दिन लागिएको यो पुरस्कार पहिलोपटक कवि श्रवण मुकारुङलाई दिइएको थियो भने त्यसपछि तीर्थ श्रेष्ठ, मनु मन्जिल र सरुभक्तले प्राप्त गरिसकेका छन् ।
