• २०८१ फागुन १ बिहीबार

कवि दीपा राई पुनको एकल–साँझ कवितावाचन एवम् कृति विमर्श कार्यक्रम सम्पन्न

चितवन ।

अक्षर समूह चितवनको आयोजनामा कवि दीपा राई पुनको एकल कवितावाचन एवम् कृति विमर्श कार्यक्रम नवलपुर गैँडाकोटको नारायणी रिसोर्टको सभाहलमा चितवन र नवलपुरका पुराना र नयाँ साहित्यकारहरूको उपस्थितिमा सम्पन्न भएको छ । कार्यक्रमको सञ्चालन अक्षर समूहका सचिव लेखराम सापकोटाले गरे भने एकल कवितावाचनको समीक्षात्मक टिप्पणी युवाकवि भूपिन खड्का र उदय अधिकारीले गरे ।

कार्यक्रममा कविका बारेमा आफ्नो दृष्टिकोण कवि रञ्जना लिम्बूले व्यक्त गरिन् । कार्यक्रममा साहित्यकार गोविन्दराज विनोदी, पूर्णप्रसाद अधिकारी रमेश प्रभात, सुरेन्द्र अस्तफल, ईश्वर कँडेल, सिर्जन अविरल, प्रभाकर पण्डित, प्रकाश चापागाईं, उपेन्द्रबाबु त्रिपाठी, युवासङ्गीतकार निर्दोष मन, युवागजलकार प्रेम कँडेललगायत व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा छुटेको बागदाता, दियोको अन्तिम लप्का र शरद्का पहेँला पातहरू लगायतका कवितासङ्ग्रहबाट कविले दुई चरणमा एक दर्जन कवितावाचन गरिन् । कार्यक्रमका सभापति अक्षर समूह चितवनक अध्यक्ष रमेश प्रभातले कार्यक्रम निकै शानदार एवम् भव्यताका साथ सम्पन्न भएकोमा उपस्थित सबैसबैमा हार्दिक आभारसहित कवि दीपा राई पुनलाई धन्यवाद दिँदै समापन गरिएको थियो ।